– सीतादेवी छेत्री, मणिपुर, भारत
दिनभरि मेहनत गर्दा पनि नपुुगेपछि राति १०÷११ बजेसम्म धनबहादुर बजारमा रिक्सा ठेलिरहेका हुन्थे । पिण्डदान दिने छोरोको आशा राख्दाराख्दै उनका घरमा पाँच कन्या जन्म भइसकेको थियो । तथापी धनबहादुरलाई अझै छोराको आशा बाँकी नै थियो । धनबहादुरको दुःख देखेर आफन्तहरूले तीन छोरी पढाई लेखाई गरी दिन्छौँ भन्दै वाचा गरी लगिसकेका थिए । काइँली छोरीलाई मुँहबोली मामा–माइजुले लगे । ठूलो घरमा बुढाबुढीले छोरीको रूपमा आफ्नै छोरी जतिकै ममता दिएका थिए रोमालाई ।
मामाको घरमा आएको अलिक दिन त आमाकोमा जान्छु भन्दै जिद्दी गर्ने गर्थिन् । माइजु ताराले अनेक मीठा–मीठा ब्यंजन बनाएर खिलाए पनि जहिल्यै मीठो छैन भन्थिन् रोमाले । कहिलेकाहीँ आमा–बाब भेट्न गए आउनै नमान्ने । एक प्रकारको मनमा दुःख लाग्ने र मनभित्र ईष्र्या गर्दै सोच्ने गर्थिन्, “किन हामीलाई आमा–बाबा नसम्झिएको ?” तर उनीहरूको प्रश्नको कुनै जवाब हुँदैन थियो ।
बीरू र ताराले घरसल्लाह गरी राम्रो प्राइबेट स्कूल छानेर रोमालाई दाखिला गराए, पाँच कक्षामा । दुवैलाई त्यो एक्लोपनमा रुपाको आगमले निक्कै रमाइलो पारेको थियो । रोमालाई स्कूल पुर्याउनु र ल्याउने, नाश्ता, खाना, बिहान–बेलुका पढाउने, टिउसन ल्याउने लाने गर्दा दुवै आँफैमा व्यस्त रहन थाले । आफ्नो बुढेसकाल बिर्सिएर नयाँ सिर्जनामा तत्पर भई रहन्थे । बुढेसकालको साहाराको एउटै लौरो सम्झी ।
पछि मोटरको बन्दबस्त भएपछि रोमा स्कूल मोटरमा जान थालिन् । रूपालाई घर ल्याएपछि बीरू र तारा बोटले पाउला फेरेको जस्तै नयाँ जोश र जाँगर बढेर स्फुर्ति अनुभव गरेका थिए । बिहान बेलुकी कामको रूटिङमा प्राथमिकता दिने । समयमा खाने, सुत्ने, उठ्ने नियम चालु गरेका थिए । इष्टमित्रसित भेट भए रोमाकै प्रशंसा गरेर कति नै न थाक्ने । महिना, साल गर्दै रोमा ठूली हुँदै थिइन् । अब पहिलाको जस्तै छुट्टी हुने बित्तिकै घर जाने जिद छोड्दै गइन् ।
बिहान बेलुकी टिउसन पढेकी रोमाले एस.एल.सी. पनि राम्रो नम्बर लिएर पास भइन । कति खुशी भएका थिए दुवै रुपा उत्तीर्ण भएको खबरले । रुपाले अगाडिको पढाई बैंगलोरमा पढ्ने इच्छा राखिन् मामामाइजुसित । दुवै दुविधामा परे के गर्नु ? एकातिर रोमाको जिन्दगी, अर्कातिर कहाली लाग्ने घरमा एकान्तबासले ।
घरमा दुवैको सल्लाह पछि मन मारेर भए पनि नानीकै भविष्य हेरि मामा बीरूले बैंगलोर साथमा लगेर एउटा सेन्ट्रल क्याम्पसमा दाखिला गराए । बस्ने घर बन्दबस्त गराई हातमा दुई÷तीन महिना पुग्ने खर्च दिनुभयो । फिर्ता हुनेदिन रोमालाई सम्झाउँदै भन्नुभयो, “हेर नानी यत्रो टाढा तिमीलाई एक्लै छोडेर तिमीमाथि विश्वास र भरोसा गरी म जाँदैछु । मलाई विश्वास छ, तिमीले कहिल्यै हाम्रो मानमर्यादामा दाग लगाई सिर झुकाउने काम गर्दैनौँ । छोरीको इज्जत कसरी सम्भाली राख्नुपर्छ, र छोरीको इज्जत सियोको टुप्पो जस्तो हुन्छ, त्यो भाँचियो भने परिवारकै ढाड भाँचिएको बराबर हुन्छ ।” आदि–आदि विस्तारमा सम्झाएर भारी मन गर्दै घर फिर्ता भए बीरू ।
दुवैलाई कहिलेकाँही सुनसान घरले अत्याउने गथ्र्यो । रोमाको गर्मीको छुट्टीका दिन गन्दै आउने दिन सम्झना गर्दै खुशी हुने शिवाय अरू केही उपाय थिएन पनि । मणिपुरबाट धेरै छात्र भएकाले रोमा छुट्टीमा साथीहरूसित आउने जाने गर्ने गर्थिन् ।
टी.डी.सी.को दोस्रो सेमिस्टरको जाँच सिद्धिएर रोमा पनि कांग्लातोङबी घर आइन् । बीरू र तारा घर आएकोले औधी नै खुशी थिए । तर पहिला आउँदाको जस्तो खुशी नदेखेर बीरूले सोधे, “छोरी ! किन तिमीलाई सञ्चो छैन कि ? या वहाँ क्याम्पसमा कसैसित झगडा भयो कि ? तिम्रो अनुहार अलिक अँध्यारो देख्छु नी ?”
“त्यस्तो केही भएको छैन मामा । वहाँ धेरै भिडभाडमा बसेकाले यहाँ अलिक सुनसान मात्र लागेको छ । सबै ठीकै छ मामा केही चिन्ता नगर्नुहोस् ।”
“मलाई तिमीलाई देख्दा खुशी नभएको जस्तो लागेर सोधेको नानी ।”
त्यसपछि रोमा केही बोलिनन् । कसरी पनि भन्नु मन त कसैलाई वहाँ राखेर शरीर मात्र बोकेर आएको छु भनी ।
यसपल्ट बीस÷बाइस दिन पछि मात्र आमा–बाबा भेट्न गइन । दुई दिन बसेर घर फर्की आइन । मामा माइजु छक्क पर्दै सोचे “अब त रोमालाई यहीँ आफ्नो घर लाग्न थालेको छ ।”
आमा–बाबाकोमा एउटै कोठा भएकोले विकाससित मोबाइलमा बात मार्न असुविधा परेको कसैले बुझेनन् । क्याम्पसमा परीक्षाफल घोषित भएको खबर आएपछि तेस्रो सेमिस्टरका लागि सबै साथीसँगै जाने टिकट मिलाए । रोमा, विकाससित भेट हुने सम्झेर धेरै खुशी थिइन । यसपल्ट पनि जानु अगाडि रुपालाई राम्रो सम्झाएर बिदा गरे ।
रोमालाई बाटैभरि कहिले विकासलाई गएर भेट्नु भई रहेको थियो । तीनदिन अगाडिबाट विकासको फोन बन्द भएकोले रुपाको मनमा धेरै सोचमा पारेको थियो । घरबाट फिर्ता भएको छैनन् होला कि ? कि मोबाइल हराउनु पनि सक्छ ! आदि–आदि सोच्दै बैंगलोर पुगिन् । त्यहाँपनि भेट्नु आएनन् विकास ।
भोलिपल्ट क्याम्पसमा भेट हुने कल्पना गर्दै कतिबेला आँखा लाग्यो पत्तै भएन ।
बिहानैबाट श्रृंगार–पट्टार गरेर क्याम्पसमा पुगेर आँखाले चारैतिर विकासलाई मात्र खोजी रहेको थियो । निकैबेरपछि विकासलाई एउटी केटीसित आएको देखेर खुशीसित हाय गर्दै हात हल्लाइन् । तर विकासले देखेर पनि नदेखेको जस्तो व्यवहार गर्दै हाय गर्दै केटीको हात समातेर भित्र लाग्यो । रुपा छाँगोबाट खसेको जस्तो भइन र चुपचाप क्लासतिर गइन् । त्यही केटीसित एउटै बेन्चमा बसेको देखेर आँफू पछाडिको बेन्चमा गएर बसिन् । दिनभरि नै एकान्तमा बात गर्ने मौका हेरि बसिन् । तर, दुवै साथमा भएकोले असफल रहिन् ।
क्लासको अन्तिम पिरेडमा जानेको जस्तो गरी एउटा सानो कागजमा “मलाई आइन्दा भेट्नु अथवा बात गर्न जरूरी छैन । मैले तिमीलाई भूलि सकेँ । तिमीपनि एउटा सपना सम्झी भुल । यही तिम्रो लागि राम्रो हुन्छ ।”
उक्त कागज पढेर रोमाको दुवै आँखाबाट मान्छे नै नदेखि अविरल आँसुका धारा बगे । कोठामा पुगेर एउटा सानो नानी जस्तै गरी मनखोलेर रोइन् । कोठामा बस्ने साथीले सम्झाउँदै भने, “तिमी यसरी रोएर केही फाइदा छैन । यो त राम्रो भयो । तिमीलाई धेरै माया देखाएर फसाएको भए के हुन्थ्यो सोच त ? उसले आफ्नो असली औकात देखायो । त्यो त तिउन चखुवा रहेछ । केटी पनि लुगा फेरेको जस्तै फेर्दो रैछ । आँफै पर सर्यो राम्रो भयो । अब तिमी पनि भूल त्यसलाई ।”
“कसरी भुल्नु मिनु पहिलो प्यार गरेकी थिए ।”
“त्यसले यत्रो भूले भनेर लेखेर दिसक्यो । के तिमी पहिलो प्यार भन्दै झुन्डी राख्छौ त ? जे भयो राम्रैको लागि भयो जस्तो लाग्छ मलाई त । पछि बदनाम हुनुभन्दा त भगवानले पहिलै तिमीलाई बचाए । अब बुझ्ने कोशिश गर ।”
“तिमीले भनेका कुरा ठीकै त छ ।”
“ठीकै त छ होइन । एक्दमै ठीक छ । हामीलाई आमा–बाबाले यत्रो टाढा हाम्रो विश्वास गरी, यत्रो खर्च गरेर पढ्न पठाउनु भएको छ । हामीले मन लगाएर पढ्नु पर्छ । आफ्नो राम्रो भविष्य बनाउने बेलामा प्यार–स्यार भूल्नुपर्छ ।”
“हो मिनु तिमीले भनेको कुरा एकदम सही हो । मैले पो कसरी भूलेकी होली । आउदै पछि मामामाइजुले कति अर्तीबुद्धि दिएर पठाउनु हुन्छ । म नै मति हराएर यसो गर्दैछु ।”
रुपाले बल्ल बीरू र ताराले गरेको माया र हेरचाहको महत्व बुझिन । “म कस्तो थिए, आज यति पर मलाई माया गरि, आमाबाले गर्ने जिम्मेवारी लिएर अनेक खर्च गरेर मेरो भविष्य हेरि पढ्न पठाउनु भएको छ, मेरो भरोसा गरी । यो मैले कहिल्यै भूल्नु हुँदैन । मेलै उनीहरूले गरेको भरोसा र मायालाई कायम राख्नुपर्छ । आजबाट म मामामाइजुको छोरा, छोरीको दायित्व लिन्छु ।” भन्दै मनभित्र निर्णय गरिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies