राजेन्द्र महतो/मध्यान्ह
सिरहा : सिरहा कल्याणपुर नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालयका उपसभापति, सचिव र कोषाध्यक्षको मिलेमतोमा अनियमितता भएको सभापतिले आरोप लगाएका छन् । नेपाल रेडक्रस सोसाइटी उप–शाखा कल्याणपुरका सभापति महेश्वर यादवले एक बिज्ञप्तिमार्फत उपसभापति, सचिव र कोषाध्यक्षको मिलेमतोमा ब्यापक अनियमितता भएको आरोप लगाएका हुन् ।
उपसभापति लगायतले आर्थिक कारोबार बैंकबाट नगरेर नगदै नगरेको र कोषाध्यक्षले आफ्नै नातेदार सत्य नारायण साहबाट लेखा परिक्षण गराई आर्थिक अनियमितता गरेको आरोप सभापति यादवको छ । अनियमिततालाई ढाकछोप गर्न अबैधानिक तरिकाबाट उप–शाखाको सभा समेत गरेको उनले बताएका छन् । उक्त साधारण सभामा कोषाध्यक्ष राम नारायण साहले कपोकल्पित रुपमा आफुमाथि ८२ लाखको अनियमितता गरेको भनि लगाएको आरोप झुठो रहेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
सभापति यादवका अनुसार आफुलाई अनियमितताको आरोप लगाइएको बराबर रकमको कारोबार नै अहिलेसम्म उपशाखाबाट भएको छैन्, जुन कुराको प्रमाणित लेखा परिक्षण प्रतिवेदनहरुबाट नै हुन्छ । उप शाखाको कोषाध्यक्ष राम नारायण साहले आर्थिक कारोबारसंग सम्बन्धित सम्पुर्ण कागजातहरु आफ्नै अधिनमा राखी अनियमित तरिकाबाट कारोबार गर्ने गरेको सभापति यादवको आरोप छ । उनले रकमको हिनामिना गर्ने कुरामा आफुले असहमति जनाउँदा कोशाध्यक्ष, उपसभापति र सहसचिवले ०७७/०७८ मा ८ लाख ४१ हजार बराबरको नगद कारोवार गरी अनियमितता गरेको आरोप लगाएका छन् । साथै कोषाध्यक्ष साहले ०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन अनुसार पनि ९४ हजार ४६ रुपैयाँ अनियमितता गरेको र त्यसको विषयमा जिल्ला शाखामा उजुरी दिएको कुरा उनको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य तथा पुर्व राज्यमन्त्री सुरेश कुमार मण्डलको संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्समा दाताको नाम लेखाइलाई राजनितिकरण गर्न खोज्दा सफल हुन नसकेपछि राजनैतिक पुर्वाग्रहका कारण आफुलाई बद्नाम गर्न खोजिएको सभापति यादवको तर्क रहेको छ । उनका अनुसार नेपाल रेडक्रस सोसाइटीको बिधान बिपरितका गतिबिधिहरुमा संलग्न रहेका तिनजना पदाधिकारीका कारण उप–शाखाको बदनाम भएको, समयमा बैधानिक रुपमा सभा हुन सकेको छैन् । पौष मसान्त भित्र सम्पन्न गर्नुपर्ने उप–शाखाको निर्वाचन कार्य पनि हुन सकेको छैन् । तर उपासभापति राम नारायण साहले भने बिधान बिपरित नभएर बिधान बमोजिम नै सभा गरेको बताए । उनका अनुसार जिल्ला शाखाका कारण उपशाखा बिबाद चुलिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies