रेडियोकर्मी हुँदै कलाकारितामा होमिएका अहिलेका ब्यस्त कलाकार अशोक धिताल २०५८ देखि निरन्तर यसै क्षेत्रमा सक्रिय छन् । लोकप्रिय हास्य टेलिचलचित्र ‘भद्रगोल’मा बाहुन डनको पात्रले परिचित धिताल हाल हप्ताको दुई पटक प्रसारण हुँदै आइरहेको पारिवारिक टेलि सिरियल ‘मेरो कथा’मा ब्यस्त छन् । दर्जनौं म्युजिक भिडियो र केही चलचित्रमा काम गरेका धिताल चलचित्र ‘मेरो कथा’ को पनि नायक हुन् । कलाकारितासँगै एपिवान टेलिभिनबाट प्रसारण हुने मौलिक रियालिटी शो ‘लोक स्टार’ का कार्यक्रम संचालक पनि हुन् उनी । चलचित्रमा हास्य अभिनयसँगै विविध विधामा धितालकोे दख्खल रहेपनि दर्शकहरुले उनलाई हास्य अभिनेताको रुपमा बढी रुचाएका छन् । प्रथम काँठे लोक दोहरी महोत्सव २०७६ सम्मान पत्र, नेपाल म्युजिक अवार्ड २०७५ सममान पत्र, अर्को आँखा साप्ताहिक २०६९ युवा सिर्जनशील सम्मान लगायतका सम्मानहरुबाट सम्मानित भैसकेका कलाकार अशोक धितालले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
टेलिभिजनमा कार्यक्रम चलाउँछु । अहिले प्रसारण भैरहेको सिरियल ‘मेरो कथा’मा पनि काम गरिरहेको छु । आफ्नै व्यवसाय पनि भएकोले यस्तै यस्तैमा ब्यस्त छु । नयाँ प्रोजेक्ट गर्ने भनेर तयारी हुँदै थियो फेरि लकडाउनको हल्लाले चिन्तित छु ।
पहिलो कोभिडको समय कसरी बिताउनु भयो ?
कोभिड १९ को विश्वव्यापी संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन, पहिलो चरणको संक्रमणबाट बिस्तारै पार हुँदै गएको अवस्थामा दोस्रो चरणको संक्रमण झन् ब्यापक बन्यो र राज्यले निषेधाज्ञा नै जारी गर्न बाध्य भयो । यस्तो अवस्थामा सुटिङ हुने कुरै भएन ।
कोभिडको कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नु भएन ?
म समाजसेवामा पनि पहिलेदेखि नै सक्रिय हुँदै आइरहेका कारण सहकर्मी साथीहरु, शुभेच्छुकहरु र प्रशंसकहरुसँग सहकार्य गरेर संक्रमणमा परेकालाई स्वास्थ्य समाग्री, अक्सिजनको व्यवस्थापन तथा न्यून आए भएका चलचित्र प्राविधिक मजदुर वर्ग र आवश्यक क्षेत्रमा आर्थिक, भौतिक र नैतिक समर्थन र सहयोग गर्ने काम भयो । फेरि संक्रमण बढ्दैछ यसपालि पनि समस्यामा परेकाहरुको मद्दतमा जुट्ने छु ।
तपाईं नायक हो कि खलनायक ?
‘जस्तोसुकै चरित्र र पात्र किन नहोस्, लेखकको कल्पना र निर्देशकको परिकल्पना अनुसार अभिनय क्षमता देखाउँदै आएको छु । कमेडी सिरियल ‘भद्रगोल’मा बाहुन डन भिलेन बनेर गरेको अभिनय सबैले रुचाउनु भएको छ । चलचित्रमा इमान्दार प्रहरीको भूमिकामा देखिँदा पनि दर्शकहरुले मन पराउनु भएको पाएको छु । नायक, खलनायक भन्दा पनि आफुलाई दिइएको भूमिकामा न्याय गर्न सक्नु नै बास्तविक कलाकार हो जस्तो लाग्छ । अभिनयको नवरसभित्र रहेर जस्तोसुकै चरित्रको अभिनय गर्न सक्छु भन्नेमा म विश्वस्त छु ।
तपाईं त हास्य कलाकार पनि हो, दर्शकको रुचीमा के भिन्नता पाउनु हुन्छ ?
सबैलाई थाहा भएकै कुरा हो पछिल्लो समयमा रोमान्टिक, लभस्टारी, एक्सन भन्दा हास्य चलचित्रको दबदबा रहेको अवस्थामा गैरहास्य कलाकारहरू समेत हास्य चलचित्रमा आकर्षित भएका छन् । हास्य कलाकारलाई नै मुख्य नायक बनाएर चलचित्रहरू सफल र सुपरडुपर हिट भएको उदाहरण छन् । नेपाली दर्शकहरुको आ–आफ्नै रुची भएता पनि हास्य खुराक अलि बढी नै रुचाएको पाएको छु ।
यो क्षेत्रमा प्रवेश कहिले भयो ?
२०५८ सालदेखि म अभिनय क्षेत्रमा सक्रिय भएर लागेको हुँ । चलचित्र क्षेत्रमा प्रवेशअघि म भित्रको अभिनय कुशलता निखार्ने काम विद्यालय तथा क्याम्पसका स्टेज शोहरुमा हुन्थे । तर व्यावसायिकरुपमै यस क्षेत्रमा लागेको ०५८ बाट नै हो । विभिन्न उतारचढाबका बावजुद पनि यो क्षेत्रमा अलग पहिचान बनाउन सकेकोमा खुशी लाग्छ ।
अहिले हामी कहाँ हास्य ब्यंग्य कलाकारहरुको अवस्था कस्तो छ ?
नेपालमा हास्य ब्यंग्य अत्यधिक रुचाइने विषय हो । हास्य ब्यंग्य हाम्रो सभ्यता पनि हो । कसैको ब्यांग्यात्मक कसैको सम्वेदनात्मक आफ्नो आफ्नो तरिकाको प्रस्तुति हुने समाज हो हाम्रो । गाउँमा हुने मेला, जात्रा पर्वहरुमा पनि विशेष गरी हास्य हाउभाउ प्रस्तुत गर्ने ब्यक्ति सबैको प्रिय हुन्थ्यो । अन्य अभिनेता भन्दा हास्य अभिनय गर्ने अभिनेताहरुको आम्दानी र सामाजिक सम्मान नेपालमा अत्याधिक रहेको पाइन्छ ।
भने पछि आर्थिकरुपले पनि सन्तुष्ट हुनुहुन्छ ?
आफुले मिहेनत गरे अनुसार आर्थिकरुपले पनि म सन्तुष्ट छु ।
स्टेज कार्यक्रमहरुमा तपाईंको माग ?
कोभिड संक्रमण हुनु पहिले देश, विदेशमा हुने स्टेज कार्यक्रममा भ्याईनभ्याई हुन्थ्यो, यो बीचमा कुनै पनि स्टेज कार्यक्रममा सहभागी हुन पाएको छैन । बिस्तारै वातावरण सहज हुने क्रममा छ । मेरो अभिनय रुचाउने दर्शकहरुको माग मेरो प्रस्तुति देश विदेशका स्टेजहरुमा पनि होस् भन्ने रहेको छ । आयोजकहरु पनि मेरो माग गर्नु हुन्छ । त्यसैले समय व्यवस्थापन गरेर स्टेज शोहरुमा पनि जान्छु ।
कला क्षेत्रको बिकासका लागि राज्यको तर्फबाट के हुनुपर्छ जस्तो लाग्छ ?
कला क्षेत्र वा चलचित्र क्षेत्रले हजारौं ब्यक्तिलाई उसको सीप र क्षमताअनुसारको रोजगारी दिँदै आइरहेको छ । साथै राज्यलाई कर पनि तिर्दै आएको छ । त्यसैले यसको विकासका लागि सरकारले दीर्घकालिन कार्यक्रमहरु ल्याउनु पर्छ । यसै क्षेत्रमा आफ्नो जीवन बिताएका कलाकार, प्राविधिकहरुको वृद्धावस्था निकै नाजुक हुने गरेको छ । जसका लागि आर्थिक सहयोग वा अनुदानको व्यवस्था हुन आवश्यक छ । पेशामा सम्बद्ध कलाकर्मीरुको प्रोत्साहनका लागि प्रशिक्षणलगायत अवसरको सिर्जना गर्नुपर्ने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies