सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट सदरमुकाम गौरमा एक नक्कली मोबिल बनाउने कम्पनीमा प्रहरीले छापा मारेको छ । लगभग २ वर्षदेखि जय शिव शक्ति अटोमोबाइल नामक पसलको आडमा गौर ५ बरहवा पुलस्थित गौर पिपरा सडक खण्डमा रहेको उक्त नक्कली मोबिल बनाउने कम्पनीमा जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले छापा मारेको हो ।
सो कम्पनीमा छापा मार्दा प्रहरीले ड्रम भरी नक्कली मोबिल, विभिन्न कम्पनीको स्टिकर, खाली मोबिलको डब्बा, सिल बिर्को तथा विभिन्न कम्पनीको प्याक गरिएको नक्कली मोबिल ठूलो मात्रामा बरामद गरेको छ । उक्त कम्पनीले नक्कली मोबिल बनाउने तथा बजारहरुमा कालोबजारी भइरहेको गोप्य सूचनाको आधारमा विक्रीवितरण गर्ने राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरीका २८ वर्षीय राना रौसन कुमार सिंह र ४२ वर्षीय हरेन्द्र सिंहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले मध्यान्हलाई जानकारी दिए ।
पक्राउ परेका सिंहले करिब २ वर्षदेखि नक्कली मोबिल बनाउने कार्य गरी रहेको र रौतहटसहित अन्य जिल्लाहरुमा पनि नक्कली मोबिलको बिक्रीवितरण गरेको शंका उपशंका उत्पन्न भएको प्रहरीले जनाएको छ । गौरको अधिकांश मोटरसाइकल पसलहरुमा कास्ट्रोल, बजाज, हिरो र सर्वोसहित अन्य कम्पनीको नक्कली मोबिल फालमफाल भएको प्रहरीले जनाएको छ ।
सिंहले गौरको बिपी चौक एचए क्याम्पसको छेउमा हेलमेट हाउस लेखेको मोटरसाइकलको स्पेयर्स पार्टको पसलको आडमा नक्कली मोबिल बनाउने कार्य गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
गौरको अधिकांश मोटरसाइकल मर्मत पसलेले मोटरसाइकल सर्विसिङ्ग गर्दा यही कम्पनीको नक्कली मोबिल प्रयोग गरी उपभोक्तालाई ठग्दै आइरहेका थिए । सिंहको दुईवटै गोदाम र नक्कली मोबिल बनाउने कम्पनीमा छापा मारी लगभग ५ पिकप मोबिल प्रहरीले बरामद गरेता पनि अहिले सो नक्कली मोबिल बरामद भएको भन्दा ३–४ गुणा बढी मोबिल बजारमा विभिन्न पसलहरुमा अहिले पनि फालाफाल रहेको छ ।
पक्राउ परेका सिंहको अर्को पसल भारत बिहार राज्यको सितामढी जिल्लाको बैरगनिया कस्टम नजिक रहेको छ भने प्रहरीले भरिएको मोविल डब्बा तीन हजार थान, खुल्ला मोविल भरी राखेको दुई सय लिटरका ड्रम दुई थान तथा खाली ड्रम नौ थान समेत बरामद गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies