काठमाडाैं : चन्द्रागिरिमा हतियार प्रयोग गरी एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैंचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो ।
घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन् । उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।
घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । पक्राउ दुवै जनालाई सोमबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies