सिन्धुपाल्चोक : हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
मेलम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुङ्गे पुल र ७ वटा पक्की पुल बगाएपछि एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुलसमेत साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए ।
रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रेहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको रु ९० लाख ५३ हजारको बजेट विनियोजन गरिएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गरेका छन् ।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies