– लक्ष्मीप्रसाद पौडेल
दिनभरी आक्कल झुक्कल घाम लागेकै थियो । त्यति सारो पानी दर्केको पनि होइन । सीताराम खेतमा धानसँगै बढिरहेको झार उखेलेर घर फर्किएका थिए । राती सिद्राको चखनासँग चार रोटी खाएर सुतेका थिए । चारजनाको परिवार, उनी सामान्य किसान थिए ।
“ए बाबु उठ्, बाढ आयो !” बिहान चार बजेतिर छोराले झल्झक्याएर उठाउँदा उनी झस्किए । “हल्ला नगरी सुत्, बहुलाह । पानी नै परेको छैन बाढी आयो भन्छ ?”, उनले छोरालाई हकारे ।
चुरेमा अविरल परेको पानी नदी बगेर तराई झर्यो । अव्यवस्थित सडक निर्माण, खोलामा तटबन्ध नहुँदा र सीमामा जबर्जस्ती बनाइएका बाँधले पानी थुनिदा सीतारामको घर खेत सबै डुब्यो । आँगनमा नदी बगिरहेको थियो । खेतमा धानको बोट हराएको थियो ।
स्थानीय संघ संस्था, सहयोगी हातहरूले क्षति संकलनको काम गरिरहेका थिए । ठूलो धनको क्षति भएको प्रारम्भिक नतिजा थियो । बाढी जसरी आएको थियो त्यसरी नै अर्को दिनभरीमा सुक्यो । सितारामले आफूले दिनभरी गोडेको धान खेत हेरे । त्यहाँ बालुवाको थुप्रो भरिएको थियो । तल तलसम्म पनि धानको नामोनिसान थिएन । आकाश अझै धुम्मिएको थियो । उनी निरास घर फर्किए । उनको घर अगाडि रेडक्रस, नगरपालिकाका, सहयोगी संस्थाहरू राहतको पोका लिएर राहत वितरणमा व्यस्त थिए । उनलाई त्यहाँ जान मन लागेन । उनी भन्दै थिए, “वर्षभरी खाने खेती लाग्यो, यो एक बोरा चामलले के गर्नु ?”
श्रीमतीले भनिन्, “नल्याएर के गर्छौ, साँझ खाने अन्न पनि सबै भिजेको छ । फेरि तिमी एकजनाले नलिएर उनीहरूको अभियान असफल हुँदैन क्यार । सबैले लिएकै छन्, फोटो खिचेकै छन् । पत्रकार साथमा छन् ।”
“नदीमा समयमै तटबन्ध बनाएको भए, सडक बनाउँदा प्रसस्त पानीको निकास राखेको भए आज यस्तो हुँदैनथ्यो । हरेक काममा कमिसनले जरा गाडेको छ । स्तरीय काम हुँदैन । हामी निम्न वर्गीय किसान यसरी पीडित हुनुपर्दछ । यी भष्ट्राचारीहरूको सहयोग म लिन्न । यसमा पनि कति हिनामिना गरेका होलान् ।”, उनले झोक्किँदै भने ।
“हेल्लो सीताराम जी, राहत नलिने ? अहिले नलिँदा पीडितहरूको नाम लिस्टमा तपाईंको नाम हुँदैन नि फेरि ?”, वडा अध्यक्षको चेतावनीपूर्ण आवाजले उनी झन् क्रुद्ध भए र भने, “गरीबलाई धम्क्याएर खान पल्केका स्यालहरू ! मौकापरस्त कमिशनखोर !”
सीताराम पत्नीले एक बोरा चामल र अरू के के एक दुई पोका आँगनमा फालिन् । सीतारामले आँखाभरी आँसु भरेर खेततिर हेरे । उनको मुखबाट फुत्त निस्क्यो, “एक विगाहा धानको मूल्य, एक बोरा चामलले असुल्यो ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies