लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं, ११ माघ
तिमी बिना बाच्न सक्ने मन्त्र चाहियो
मुटु सरी धडकीरहने यन्त्र चाहियो
यत्तिखेर नेपाली सांगीतिक बजारमा चर्चाको शिखरमा रहेको यस गीतका गीतकार हुन् डा. प्रकाश पौडेल । गीतलाई प्रसिद्ध गायक उदित नारायण झाले स्वर र संगीतकार राज सागरले संगीत दिएका छन् । गीतकार प्रकाश पौडेल नेपाली सांगीतिक क्षेत्रका लागि पक्कै पनि नयाँ नाम हो तर उनका सृजनाले त्यसो भन्दैन ।
जम्माजम्मी दुई चार वटा गीत रेकर्ड गरेका पौडेललाई तिनै दुई चार वटा गीतले राम्रैस“ग स्थापित गराई छ । यस अघि यादका लहरहरु, फुलकुमारी लगायतका केहि गीतहरु सार्वजनिक गरेका पौडेलले ती गीतहरुबाट राम्रै प्रशंसा बटुलेका थिए ।
गायक उदित नारायण झाको आवाजमा रहेको स्वन्तत्र मनले उनलाई यत्तिखेर अर्कै चर्चाको शिखरमा पुयाएको छ । स्वर संगीत र शब्दको राम्रो तालमेल रहेको उक्त गीतले गीतकार पौडेललाई पनि बेग्लै किसिमको आनन्द दिलाएको रहेछ ।
सानै देखि गायक उदित नारायण झाको ठूलो प्रशंसक रहेका पौडेल उनै प्रिय गायकको स्वरमा आफनो सृजना गुन्जिदा खुसी नहुने कुरै भएन भन्दछन् । गीतको अडियो र भिडियो पक्षलाई लिएर कहि कतैबाट नकारात्मक टिप्पणी नआए पछि उनलाई नेपाली सांगीतिक क्षेत्रमा केही गर्ने हौसला मिलेको बताउँछन् ।
छिट्टै केही गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेका गीतकार पौडेल यो गीत सृजना हुनुमा बेग्लै किसिमको अनुभव रहेको उनी बताउँछन् । उनी भन्छन्, 'यादका लहरहरु गीतको काम हुँदै गर्दा मलाई केहि शब्दहरुले जिस्काईरहेका थिए ति शब्दहरुलाई मैले डायरीमा टिपेको थिएँ । जब कोभिडको लहर विश्वभरी फैलियो मान्छेहरुमा एक किसिमको निराशा आंतक र भयले सबैलाई गाजेको थियो र मान्छेहरु आफुलाई कारागार भित्रको एक बन्दी कैदी जस्तै अनुभूति गरिरहेका थिए । कयौ कवि लेखकहरुले कवि माधव घिमिरेको कविता पिंजडाको सुँगा शैलीमा लेख कविता गीत प्रकाशित गरिरहेका थिए । मैले पनि त्यहि शैलीमा एउटा कविता लेखेको थिए पिँजडाको मान्छे । त्यो कविता लेखेको केहि दिन पछि मलाई अकै किसिमको अनुभव भयो । मान्छेहरु अहिले पो बरु यो समयमा स्वतन्त्र छन् । आफुले आफुलाई समय दिन पाएका छन् सबै जंजिरहरुबाट केही राहत पो पाएको छन् जस्तो लाग्यो । हिजोका दिनमा मान्छेहरु आफु आफुसंगै रमाउने आफैलाई समय दिने फुर्दै पाएको थिएनन । घर परिवार काम पैसा नाम आदिको तनाब र जंजिरबाट उम्किन सकिरहेको थिएन कमसेकम अहिले केही दिन भए पनि मान्छेहरु आफुसंग रमाउन पाएका छन् । सारा जंजिरहरुबाट केही समय मुक्तिको सास फेर्न पाएका छन् कसरी बन्दी भए भन्ने भावले मेरो मनलाई छायो । मैले मलाई मेरो मन स्वतन्त्र चाहियो भन्ने शब्द लेखे । त्यस पछि केही समय पहिला लेखेको शब्द सम्झिन पुगे मुटु सरी धडकीरहने यन्त्र चाहियो । त्यस पछि यिनै शब्दहरुसँग खेल्दै यो गीतलाई तयार पारे । गीत लेख्दै गर्दा गायक उदित नारायणको आवाजमा यो गीत रेकर्ड गर्ने सोच बनाए गीत त्यसै अनुरुप तयार पारे संगीतकार राज सागरले संगीत तयार पार्नु भयो उदित नारायण झाले गाउनु भयो गीत तयार भयो ।'
गीतकार प्रकाश पौडेल पेसाले चिकित्सक हुन् । उनका गीतहरुमा बेग्लै किसिमका भावहरु पाइन्छन् । थोरै काम गरेर धेरै चिनिएका गीतकारमा पर्दछन् उनी । उनी भन्छन्, 'कला साहित्य संगीत भनेको प्रयोग गर्ने थलो हो । जसले प्रयोग गर्न जान्दछ उसका सृजनाहरुलाई सबैले रुचाईदिन्छन् । सायद त्यही भएर होकी मेरा सृजनाहरुलाई सबैले रुचाई दिनु भएको । म मेरा सृजनाहरुमा प्रयोग गर्न रुचाउछु । त्यसो त गीतकार पौडेल गीत कविता सानै देखि लेख्ने गर्दथे । स्कूले जीवनमा उनका कविता गीत निबन्ध कथाहरुले कयौ पटक पुरस्कारहरु थापेका छन् । कुनै समय उनका कथा कविताहरुले नेपालका नाम चलेका पत्रपत्रिकामा राम्रै स्थान पाउदथे । त्यति खेरको साहित्यिक जोश बेग्लै थियो । नलेखी बस्नै नसक्ने केही न केही लेखी रहन पर्ने लेख्न मन लाग्ने ।'
त्यो बानी आज पनि उस्तै रहेको गीतकार पौडेल बताउँछन् । 'गीत कविता लेख्ने प्रेरणा उनलाई कसैको कथा कविता पढेर भन्दा पनि गीत संगीत सुनेर मिलेको रहेको रहेछ । गीत संगीतको म ठूलो शुभचिन्तक हुँ । त्यसबेला रेडियोमा बज्ने गीतहरु मेरा प्रेरणाका श्रोत हुन् । तिनै गीत संगीतले मलाई लेख्ने प्रेरणा दिएका हुन्,' उनी भन्दछन् ।
उनलाई मन पर्ने कवि साहित्यकारहरुमा कवि शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मी प्रसाद देवकोटा, राष्ट्रकवि माधव घिमिरे, भूपि शेरचन पारिजात,लगायतका कवि साहित्यकार हुन् । चिकित्सक पेसासंगै गीत संगीतमा निरन्तर लागिरहने उनको ईच्छा छ । थोरै काम गर्ने तर राम्रो सृजनाहरु सार्वजनिक गर्ने लक्ष्य राखेका गीतकार पौडेल हेर्ने भन्दा सुन्ने गीतहरु बजारमा ल्याउने उदेश्यमा अडिग छन् । अहिलेको सांगितिक अवस्थालाई नजिकबाट नियालिरहेका बताउने यी गीतकार अहिलेको सांगीतिक बजारलाई यसरी चित्रण गर्दछन् ।
अहिले पनि राम्रा सुन्न लायकका सृजनाहरु बजारमा आइरहेका छन् । दर्शक श्रोताहरुले रुचाइरहेका पनि छन् । तर केही व्यावसायिक ढंगले काम गर्नेहरुले केही सस्ता खालका गीतहरु ल्याइरहेका छन् । 'तर मेरो बुझाईमा राम्रो गीत संगीतको बजार जहिले पनि रहिरहन्छ । हामीले सस्ता भन्दा राम्रामा बढी ध्यान दियौ भने नेपाली गीत संगीतको अहिलेको यो अवस्था धेरै लामो समय टिक्दैन । मेरो उद्देश्य नेपाली गीत संगीतमा राम्रा सृजना मार्फत नेपाली सागितिक क्षेत्रको गरिमालाई माथि लैजानुमा केन्द्रित छ अहिले त्यसैमा लागिरहेको छु,' उनी भन्छन् ।
सबै प्रकारका गीतहरु लेख्न रुचाउने गीतकार पौडल सबै प्रकारका सृजनाहरु लेख्न रुचाउछन । भर्खरै सार्वजनिक भएको गीत स्वतन्त्र मनको प्रचार प्रसार व्यस्त रहेका यी गीतकार स्वतन्त्र मनबाट निकै उत्साहित छन् । छिट्टै उनका केही गीतहरु सावर्जनिकको क्रममा रहेको बताउने गीतकार पौडेलका केही कविता निवन्ध संग्रह प्रकाशनको क्रममा समेत रहेका छन् । आफुलाई प्रयोगवादी गीतकार भन्न रुचाउने गीतकार पौडेल नेपाली गीत संगीतबाट कुनै पनि अवस्थामा अलग नहुने बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies