राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनबाट प्रमुख विपक्षी दल नेकपा एमालेले क्षति बेहोर्नुपरेको छ भने सत्ता गठबन्धनले लाभ उठाएको छ । १९ सदस्यीय राष्ट्रियसभा सदस्यका निम्ति भएको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । प्रदेश–१ बाट गठबन्धनका उम्मेद्वार पराजित गर्दै एमालेका सोनाम गोल्जेन शेर्पा विजयी भए । तर एमालेले सात सिट गुमाएको छ । नेपाली काँग्रेसले तीन सिट थप गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एक÷एक सिट थप गरेको छ । चार वर्षे कार्यकाल पूरा भएका २० जना मध्ये १९ जनाका निम्ति चुनाव भएको थियो । रिक्त हुनेमा भने माओवादी केन्द्र र एकीकृत समाजवादीका चार÷चार जनाको कार्यकाल सकिएको थियो । काँग्रेसको तीन जनाको कार्यकाल सकिदा एमालेका आठ जनाको कार्यकाल सकिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत रामनारायण बिडारीको समेत कार्यकाल सकिएको छ । बिडारीसहित कार्यकाल सकिएकाहरु आगामी २० फागुनदेखि पदमुक्त हुनेछन् । बिडारीको स्थानमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । राष्ट्रपतिको सिफारिससँगै राष्ट्रियसभामा सत्ता साझेदार दलको सांसद संख्या राष्ट्रियसभामा दुई तिहाइ नजिक पुग्नेछ । एमाले छोडेका वामदेव गौतमको साथ पाएमा सत्ता गठबन्धनको दुई तिहाइ पुग्नेछ । यो भनेको राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष परिवर्तन गर्न सक्ने संख्या हो । कतिपयले सत्तारुढ गठबन्धनले त्यो कदम चाल्ने अनुमान समेत गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष आफैमा आकर्षक पद देखिन्न । तर राज्य शक्ति सन्तुलनको निम्ति भने महत्वपूर्ण छ । किनकि संवैधानिक परिषद्को सदस्य संख्यामा यो पदले अर्थ राख्नेछ । त्यसो हुँदा सरकारलाई स्वच्छाचारी बनाउन बल पुग्छ । जुन बाटो सत्ता साझेदार दल हिड्न हुन्न । अघिल्ला सरकारका प्रधानमन्त्री हुँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुन कदम चालेका थिए । त्यही बाटोमा राजनीति जानु सत्तागठबन्धन दलका नेताहरुको प्रतिबद्धता समेत होइन । केही हदसम्म प्रधानमन्त्री देउवा र सत्तागठबन्धनले गल्ती गरिसकेको छ । ओली सरकारले गरेको नियुक्ति भटाभट उल्ट्याउने र आफ्नो खल्तीका व्यक्ति नियुक्त गर्न सरकार पछि परेको छैन । त्यसो हुँदा वर्तमान सरकार र सत्ता गठबन्धनले राज्य शक्ति सन्तुलन बिगार्ने गल्ती दोहोर्याउनु हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies