–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हामी साताव्यापी शहीद सप्ताहमा व्यस्त छौँ अहिले, तर शहीदहरूका सपनालाई लत्याउँदै छौँ । हाँसेर तिनले जीवन उत्सर्ग गरे तर, हामी भने रोएर जिइरहेका छौँ । कतै स्वर्गका शहीदले देशको अवस्था थाहा पाए भने ती पनि त्यहीँ रून्छन् होला । केमा छैन विकृति यहाँ ? राजनीतिले बिगारेको पाटो समाजको स्वरूप कुरूप बन्दैछ । मौलिकता हराएको छ । विदेशीले परेड खेल्न थालेका छन् । सीमानामा अतिक्रमण भएको छ । नाफाखोरहरूको जगजगी छ, शिक्षा, स्वास्थ्य विचौलियाको हातमा छ । आज बजार अनियन्त्रित छ । दलहरूलाई देशको भन्दा निर्वाचनको हतारो छ र निर्वाचनको मिति नतोकिए कडा आन्दोलन गर्ने भन्दैछन् । निर्वाचन कसका लागि हो, निर्वाचित संस्था किन कोमामा छ ? पटक्कै ब्यूँझदैन त । हिजो अख्तियारको एउटा सानो भवन थियो बबरमहलमा, आज टंगालको आलिशान भवन अनि देशैभरि यसका संयन्त्रहरू छन् र यी यस्तै अन्य संयन्त्रहरूको ताँती नै छ र पनि भर्खरै प्रकाशित गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले के देखायो सबैलाई अवगतै छ । शहीदले लोकतन्त्र, गणतन्त्र, संघीयता ल्याए भनिन्छ तर, तिनका परिवारले के पाए वा अरू दर्शक बनेका आम सर्वसाधारणले के पाए ? एउटै भवनमा ५ वटा मन्त्रालयहरू अनि देशलाई चिराफारा गरेर भागबण्डामा छ, दलको निहित स्वार्थमा । ३ करोड जनता बस्ने दिल्ली कस्तो छ र ३ करोड नपुगेको यो देशको जनतालाई कति पीडा छ ? शहीदले त सोध्लान् नै अशहीदहरूले पनि सोध्नु पर्ने होइन ?
विद्धान्हरूले भनेका छन् मानिस स्वयंमा ईश्वरको अनुग्रह हुन्छ । तिमीहरू सबै दिव्यात्मा रूप हौ, तिमीहरू जान्न चाहन्छौं के तिमीहरूलाई पनि स्वामीको शक्ति प्राप्त हुन सक्छ ? अवश्य सक्छ, मेरो अनुकरण गर, तिमीलाई पनि सवै क्षमता सुलभ हुनेछ । यो शक्ति तिमीभित्र मौजुद छ, फरक यति छ कि तिमीलाई यो थाहा छैन सत्य साई बाबाको भनाइ हो यो । उनको यो स्वचिन्तन र स्वाध्यायबाट यो थाहा हुन सक्छ भने वैदिक चिन्तनको थलो नेपाली भूमिमा जन्म प्राप्ति मात्रै पनि गौरवको विषय हो, कारण यो देश जनकको हो, जानकीको हो, बुद्धको हो, पशुपतिको हो तर, अहिले पशुपतिकै ढोका बन्द छ र धर्मशालामा पनि व्यापारीकरण भएको छ ।
हाम्रो विज्ञान कति असफल रहेछ भन्ने कुरा हालै सामान्य भाइरल रूघाखोकीले समेत विश्वमा लाखौँको जीवन समाप्त पारेको छ, काठमाडौँ अहिले हट् स्पट बनेको छ, सिटामोलका लागि अदालतको आदेश आएको छ, खोप त २४ लाख हरायो रे, भन्न पनि लाजै छैन यहाँ, व्यक्तिको त अभिलेख राखिन्छ संस्था त्यो पनि सरकारी, स्टोर दाखिला नभई ढिम्किनै पाइँदैन, हरायो कसरी ?
हो रोग सबैतिर छ, तर एकपटक देशले देवकोटा जस्ता स्वास्थ्य मन्त्री पाएको थियो पहिले, महावीर पुन जस्ता विज्ञान मन्त्री बन्न, कुलमान जस्ता ऊर्जा मन्त्री बन्न दलले दिँदैन, विज्ञ, योग्य व्यक्तिलाई माथिल्लो सदनमा ल्याउन सकिने प्रावधान छ तर दलको भागबण्डा नै जरूरी छ त्यसमा पनि । हिजो आज मधुमेह रोग सबैकोे साझा विषय भइसकेको छ । रोगीहरूलाई निरपेक्ष वा सापेक्ष रूपमा इन्सुलिनको कमी हुन्छ । यसले गर्दा रगतमा ग्लुकोजको मात्रा आवश्यकभन्दा बढी हुन जान्छ । इन्सुलिनले कार्वोहाइड्रेड, फ्याट, प्रोटिन, पानी तथा लवणहरूको जैविक क्रियामा प्रभावित पार्छ । लामो समयसम्म इन्सुलिनको कमी हँुदा शरीरका कोषहरूको भौतिक स्वरूप तथा कार्यमा परिवर्तन आउँछन् । यसका असरहरू अपरिवर्तनीय हुन्छन् र मुख्यतया रक्तनली, स्नायु, आँखा मृगौला, मुटु मष्तिष्कमा यिनका लक्षण देखापर्छन् । यो रोगको खराव असरहरू देखापर्न साधारणतया आठ वर्षजति लाग्छ । यसमा सचेत कसले गराउने हिजोआजको खाना बजार कस्तो छ ? यी कार्यमा चेतना दिने काम दलको होइन । नयाँ गाडी चढ्ने सडकैभरि उफ्रने दलको काम हो, कोरोना नसर्ने रहेछ दलको भीडमा ।
नबुझ्दा मानव आफैं राक्षस हो, बुझ्दा ऊ देव पनि, मानवले मानव माथि हतियार उठाउँदा ऊ मूर्ख हो, जनावर हो, पापी हो । धर्म कर्म गर्दा धार्मिक हो धार्मिक भनेर जोगी नै हुनु पर्ने होइन, गेरू नै लाउनु पर्ने पनि होइन, मन्दिर धाउनु पर्र्ने होइन, जनरक्षा नै धर्म हो, एक युवतीलाई ९ जनाले सामूहिक बलात्कार गर्ने समाजमा जनरक्षा कहाँ छ ? शरीर त स्वयं मन्दिर हो, भोगी मात्र हुँदा मानिस पशु तुल्य हुन्छ, सचेत दलपात्रहरूले किन सिकाएनन् यी कुरा ? न्यास भनेको कर्मप्रतिको निष्ठा हो, सुकर्मको परिणाम राम्रो हुन्छ, शुभ कर्म प्रतिको निष्ठा हुनु नै सन्यासी हो, तपस्वी हो, ज्ञानी हो, ऋषि हो, अरूले आएर ऋषि मन भनेर गए, यहाँ किन सिसि लिएर युवती भेट्न गएको ? शहीदले यही भने कि ? संस्कार खोइ त पछिल्लो राजनैतिक परिवर्तनपछि भएको संस्कृति, संस्कार पनि सबै हरायो । समाज निर्दयी भयो, विदेशीको इशारामा धर्म नै हटाइयो । विज्ञानले असंतोषी हुनु भने पनि विनाश धेरै निम्त्याएको छ । विज्ञानको दुरूपयोग गर्दा मानिस हिंस्रक बन्छ । अहिंस्रक हुन त विवेकी हुनु पर्छ, विज्ञान र ज्ञानको सदुपयोेग गर्नु पर्छ । दुष्ट बुद्धिले उपकारी होइन्न, वलात्कारी, अत्याचारी, दुराचारी, भ्रष्ट र पतीतको ओषधि छैन । इमान्दार व्यक्तिलाई कानुन नै चाहिँदैन, कानुन एक डोको बनाउँने पालना नगर्ने कस्तो संस्कृति छ हाम्रो । असल समाजको निर्माण गर्न नैतिक कानुन जरूरी छ यो त सिलेबसबाटै हटाइसकेको अबस्था छ यहाँ । मनले शुभसंकल्प, सदाचार, सत्विचार, कल्याणकारी चिन्तन लिई ईष्र्या, क्रोध, आवेग, तनाव, वैमनस्यताबाट टाढा रहेमा मानिसले सर्वत्र विजय प्राप्त गर्न सक्छ, त्यसैले नेतृत्व लिँदा देश उँभो लाग्छ नत्र पर्ने खाल्डोमै हो, उत्रनै नसक्ने गरी ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन गीताको वचन हो यो अर्थात् कर्म गर फलाशी नहोेऊ आफ्नो देशलाई दुर्वल र रोगी बनाएर सधै गनगन गर्नु अनि दयाको भिक्षा माग्नु जस्तो ठूलो पाप अर्को छैन । तिमी मलाई आफ्नो संगत भन, म तिमीलाई तिमी के हो भनी बताउनेछु सत्य साइबाबाकै भनाइलाई कोट्याउदा यो स्पष्ट हुन्छ लोभले धर्म र प्रतिष्ठा दुवै नष्ट गर्दछ महाभारतको भनाइ हो यो । अनुभव विनाको कोरा शाव्दिक ज्ञान अन्धो हुन्छ, अनुभव नै सांचो गुरू हो विवेकानन्दको भनाइ हो यो, धर्मको काम नै जगत्को प्रतिष्ठा बढाउनु हो, ऋग्वेदले भनेकोे छ । जसले आफ्नो देशका जनताप्रति माया दर्शाउछ, त्यसका सन्तान बढ्छन् र धेरैले कल्याणको अनुभव पनि गर्दछन् विदुरनीतिले स्पस्ट्याएको छ । ठूला शहरहरूमा धूर्त, ठग र वेश्यालय वढ्नेछन्, गरीबहरू धनीमानीबाट लुटिनेछन् महात्मा गान्धीले भनेका छन् । भोजनको प्रभाव मष्तिष्कमा पर्छ त्यसैले सात्विक भोजन गर्नुपर्छ प्लेटोले उहिल्यै भनेका थिए । आहार शुद्ध भएपछि मन शुद्ध हुन्छ, मन शुद्ध भएपछि स्मृति शुद्ध हुन्छ छान्दग्योपनिषदले त्यो भन्दा पहिले भनेकोे थियो । परोपकार नै पुण्य हो, परपीडन पाप हो भन्ने वेदव्याव्यासको उक्तिदेखि मर्नु फेरि जन्मनु हो भन्ने शहीद शुक्रराज शास्त्रीको भनाइसम्म र आत्मा एउटा चेतनतत्व हो, जसले रहनका लागि आश्रय लिन्छ र एउटा शरीरबाट अर्को शरीरमा जान्छ । भौतिक शरीर आत्मालाई धारण गर्न विवश हुन्छ भन्ने गेटेको भनाइ, मायाले नछोएको चैतन्य नै ईश्वर हो भन्ने वेदान्त वाक्यले हामीलाई सदैव पूर्वीय चिन्तनमा प्रेरित गराउनु पर्ने हो ।
कुरा गरेको भरमा कोही मानिस ठूलो हुन सक्दैन । वाल्मीकि रामायणको उक्तिदेखि खराब मानिसलाई सुधार्ने मुख्य औषधि दया र प्रेम हो भन्ने गान्धीको विचारसम्म, ‘श्रद्धा, विश्वास र उत्साहको साथ काम गरे अवश्य सफल भइन्छ’ भन्ने साइबावाको भनाइसम्म हामीले आत्मसात् गर्न सके समाज निर्माणमा कठीनाइ देखिन्न । ‘पापीलाई घृणा नगर तर, पापलाई हटाउन प्रयत्नरत रहुँ’ भन्ने माहात्मा गान्धीको जीवन शैलीसम्मका विधि र व्यवहार हामी र हाम्रै परिवेशमा पाइए पनि भौतिकताको क्षणिक सुखमा लोभिएर जीवन र जगत्लाई बिर्सने उच्च र आफूलाई घरानिया भनाउने व्यक्तिहरू पनि हामी कहाँ कम छैनन् । इमान्दार र वौद्धिक व्यक्तित्वहरूलाई समेटेर देशव्यापि रूपमा सैद्धान्तिक र व्यवहारिक रूपमा चरित्र निर्माणको वहस जरूरी छ । अहिले सवैतिर धरापै धराप खडा भएको र मुलुकको विकास निर्माण, उन्नति र प्रगति पनि अल्मलिएको छ । लोभ र स्वार्थको फोहोरी खेलवाट बाहिर नआएसम्म नेपाल र नेपालीको प्रगति शून्य नै हुन्छ र भविष्य पनि अन्धकार नै । यस्ता विषयमा दिइने प्रशिक्षण अनुशिक्षणहरूले समाज सुधारको कार्य पनि गर्नेछ । शहीदको सम्झना त्यसैमा हुन्छ केबल फोटोमा माला लगाइदिएर के हुन्छ ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies