देबराज पाध्याय/मध्यान्ह
बाजुरा : निरन्तर पानी तथा हिमपातले बाजुराका हिमाली क्षेत्रमा हिउँपात भएको छ । हिमपात भएसँगै यहाँका क्षेत्रमा चिसो बढेको छ । जसले गर्दा जनजीवन समेत प्रभावित भएको छ । मंगलबार राति देखि नै एकाएक पानीसँगै हिउँ परेपछि यहाँ असाध्यै चिसो बढेर जनीवन प्रभावित भएको हो । जिल्ला सदरमुकाम मार्तडी नजिकै हिउँ परेपछि मार्तडी, आटीचौर, बुढीननन्दा, गौमुल, हिमालिका लगायत जिल्लाको विभिन्न क्षेत्रमा चिसो बढेर जनजीवन प्रभावित बनेको छ ।
यहाँका स्थानीयहरु एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा गर्न समेत चिसोका कारण समस्यामा परेका छन् भने जिल्लाको उत्तरपूर्वी भेगमाबाट मानिसहरु जिल्ला सदरमुकामसम्म आवतजावत गर्न समस्यामा परेका छन् ।
सदरमुकाम मार्तडीबाट आउन जानका लागि एकमात्र सडक मार्ग अवरुद्ध भएको छ । कुन्ना क्षेत्रका चार स्थानीय तह लगायत हुम्ला, मुगु र बाजुराको कोल्टी एर्पाेटसम्म जान समेत समस्या भएको छ ।
जिल्ला सदरमुकाममा समेत अत्याधिक चिसो बढेसँगै जिल्लाको दैनिक कार्य समेत प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
निरन्तर हिमपातका कारण बाजुराको मार्तडी कोल्टी सडकखण्ड समेत दुई दिनदेखि बन्द भएको बुढीनन्दा नगरपालिका वडा नं. ९ का गणेश बहादुर रोकायाले मध्यान्हलाई जानकारी दिए ।
बाजुराको उत्तरपूर्वी क्षेत्रका ४ वटा स्थानीय तह तथा हुम्ला, मुगुमा समेत सञ्चार सेवा विहिन बनेको छ । टावरमा रहेका सोलारका ब्याट्रीमा चार्ज नभएपछि सञ्चार विहिन बनेको टेलिकम बाजुराका निमित्त कार्यालय प्रमुख मान बहादुर रोकायाले बताए ।
बाजुराको उत्तरी भेगका ४ स्थानीय तहलगायत हुम्ला,मुगु र कालिकोटका केही टावरसँग लिंक जोडिएको पोरखे लेखमा रहेको टावरका ब्याट्रीमा पावर नहुँदा उत्तरी भेगमा सञ्चार विहिन भएको टेलिकम बाजुराले जनाएको छ ।
सो क्षेत्रको टेलिफोन तथा इन्टरनेट समेत नहँुदा त्यहाँका स्थानीय तहकोे कामकाज समेत प्रभावित भएको छ ।
उत्तरपूर्वी क्षेत्रमा लगातार चार दिनबाट पानी तथा हिमपात भएसँगै नेपाल टेलिकमका बडिमालिका नगरपालिकाको कालाजग्रा, बुढीनन्दा नगरपालिकाको कोल्टी, जगनाथ गाउँपालिकको लेखमा रहेको टावर हिउँले ढाकिएको छ ।
शिक्षक हस्त बहादुर धामीले भने, ‘चार दिन भो, कतै पनि फोन नलाग्दा समस्या भएको छ ।’ हिमपातका कारण लेक तिरका बस्तीहरु चिसो छल्न बेसीतिर झरेका छन् भने चिसोका कारण कोरोना भाईरसका बिरामी समेत बढेका छन् ।
चिसोले गर्दा जेष्ठ नागरिक तथा बालबालिकाहरु बढी प्रभावित भएका छन् । चिसोबाट निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी समेत बढेका चुथी स्वास्थ्य चौकीका इन्चार्ज काशिचन्द्र पाध्यायले बताए । चिसोमा अत्यावश्यक काम बाहेक कोही पनि घरबाहिर निस्कन सकेका छैनन् । स्वास्थ्य चौकीका इन्चार्ज पाध्यायले घरमा बसेर तातो झोलिलो खानेकुरा खान र स्वास्थ्यमा ध्यान दिन समेत आग्रह गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies