–केहर सिंह गुरुङ
पूर्ण संस्कारी, सत्यवादी, निष्ठावान, सनातनी तथा शुद्ध शाकाहारीमा नाम चलेको कोही थियो भने पण्डित रामकृष्ण अधिकारी नै एक्लो व्यक्तिको रुपमा चिनिन्थे, त्यस भेगमा । नत्र आजभोलि आफ्नो शुद्ध पैतृक संस्कृति जोगाइराख्न सक्ने जवान भेटिनु गाह्रो पथ्र्याे । घरमा समेत स्नान लिएर धोती फेरेर आफैले भोजन पकाई ग्रहण गर्ने । यो देखेर उनकी दुलहीसमेत विवाहपछि छक्क परिन् । ऊ गाउँबाहिर जान्नथ्यो । ललाटमा रातो लामो टीका, दौरा सुरुवाल र भादगाउँले टोपी तिनको चिनारी थियो ।
एकदिन उसकी छोरी भैरहवामा बिरामी परेकोले बाटोमा खान चार सुक्खा रोटी राति ठीक्क पार्यो र भोलिपल्ट वालिङ झरेर भैरहवा जाने बस समात्दा बसमा गाउँकै दुई भैरहवा कलेज पढ्ने केटाहरु फेला परेकोले ऊ ढुक्क भयो ।
बस गल्याङ्गमा रोक्दा एक केटाले भन्यो “पण्डित बा, हिँडनोस्, चिया–नास्ता खानु ।”
पण्डितले भने, “तिमी केटाहरु पनि मलाई जिस्क्याउँछौं । तिमीहरु खावो, मलाई चल्दैन ! कचर–पचर खाएर गुजारा चलाउँछु । साँझ छोरीकोमा पुगेर घरमै शुद्ध भोजन ग्रहण गर्छु नि !” भन्दै पण्डित बसमै बसेर आफूले ल्याएको सुक्खा रोटी खाए ।
बर्खाको बाटो बुटवल पुगेपछि झमक्क साँझ पर्नुलाग्दा गाडीको ड्राइभरले गाडी रोक्दै भन्यो “लौ, खान–पान यतै गर्नुस् । रातभरि भोकै परिएला फेरि । भलबारीमा माओवादीले चक्का–जाम गरेकोले कहिले खुल्ने थाहा छैन । टाढा नजानुहोला ।”
“ग्यारेन्टी भएन भैरहवा पुगिने । हामी त होटलतिर भान्सा गर्नु लाग्यौं । कि तपाइँ पनि !” एक केटोले भन्यो ।
“हुन्न, हुन्न ! कचर–पचर खाएरै गुजारा चलाउँछु । बाहिरको चल्दैन ! तिमीहरु जावो !” पण्डितले भने ।
केटाहरु बाहिर निस्किए होटलको खोजीमा ।
केटाहरुलाई जे भने पनि पण्डितलाई थाहा थियो उसको झोलामा भएका चार रोटी उसले गल्याङ्गमै खाएको । ऊसँग खाने कुरो केही थिएन, हरेसबाहेक ।
“बितलमा पार्ने भो आज यो बसले ! न घरको, न घाटको बनायो ।” ऊ गुनगुनायो ।
निकै बेर खाली पेट मुसार्दै बसेको पण्डित बजारमा केही कचर–पचर पाइन्छ कि भनेर लिन निस्कियो ।
अँध्यारो रातमा होटलहरु प्रायः बन्दै थिए । बल्ल एउटा होटल खुला पाएकोले “केही बिस्कुट पाइन्छ कि ?” भनेर ऊ छिर्यो ।
“होटलमा पनि बिस्कुट खोज्ने ? दिनभरि ऋषिमुनि रातभरि सिसीमुनी गर्छन् आजभोलि धेरैले, बाजे ! मासु–भात खाने भए बस्नुस् । अन्त सबै ठाउँ बन्द छ ।” होटलको केटाले भन्दा पण्डित केबिन भएको टेबलमा पस्यो र तुरुन्तै पर्दा लगायो । “पेटमा सल्किएको दह्रो दावानलले नैतिकताको हरियो स्याउला के गर्छ ? प्रतीक्षाको विषय नै थियो ।
यता गाउँले केटाहरु होटल चाहार्दा–चाहार्दा लखतरान भएर एक मात्र त्यसबेलासम्म खुलेको र भीडभाड भएको पण्डित पसेको होटलमै पुगे । कुर्सीहरू सबै फुल भएकाले होटलको केटाले “यता केबिनमा बस्नोस् ! ठाउँ खाली छ !” भनेर पण्डित बसेको बन्द पर्दा स्वार्र तान्यो ।
गाउँले केटाहरुले देखे पण्डित बाको टेबलमा आधा खाइसकेका होटलको खाना र खसीको मासुका हड्डीहरु !
(क्यानाडा)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies