काठमाडौं : नेपालले ११ वर्षपछि मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै ११ वर्षपछि मैत्रीपूर्ण खेलमा जित हात पारेको हो ।
सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको थिएन ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो । नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।
प्रतिबन्ध र चोटका कारण लामो समयपछि टिममा पुनरागमन गरेका विमलले खेलको ५५ औं मिनेटमा गोल गरेका हुन् ।
अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बल गोलमा परिणत भयो । नेपालको लागि यो उनको नवौं गोल हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको दोस्रो मिनेटमा नै सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिँदा नेपाल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि अन्जन विष्टको प्रहारलाई मरिससका गोलरक्षक केभिन जित लुइसले बचाए ।
त्यस्तै खेलको १६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङले रोके । ३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट पुन: चुकेको थियो ।
यस्तै मरिससका लागि ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिँदै गोल हुनबाट बचाए ।
४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो । डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो ।
मरिससका लागि ४६औं मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा नेपाल गोल खानबाट बच्यो ।
पहिलाे हाफकाे तुलनामा दाेस्राे हाफमा सुधारिएको प्रदर्शन गरेकाे नेपालले गाेलका केही राम्रा अवसर चुकाउन पुग्यो ।
७८ मिनेटमा अन्जन विष्टले डिबक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो । लगत्तै सुमन लामाको प्रहार बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई मरिसका गोलकिपरले विफल पारे ।
त्यसअघि ७५ मिनेटमा पनि जगजीत श्रेष्ठले गरेको फ्रिकिक प्रहारमा अन्जन विष्टकाे हेडर क्रसबारमा लागेर फर्किँदा नेपाल गोल गर्न चुकेको थियो ।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो । फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies