पवन जायसवाल/मध्यान्ह
नेपालगन्ज : मधेश मिडिया मिसन नेपाल बाँके शाखाले अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक अधिकारीले यस कार्यक्रमबाट आफुले अवधी भाषा र अवधी सँस्कृतिको बारेमा बुझ्ने मौका पाएको बताए । अवधी भाषा धेरै नै प्राचीन रहेको बताउँदै उनले यस भाषाको अझ विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अवधी साँस्कृतिक विकास परिषद्का अध्यक्ष तथा अवधी÷हिन्दी भाषाका साहित्यकार सच्चिदानन्द चौबेले अवधी भाषाको इतिहासको बारेमा चर्चा गर्दै यो भाषा ८ लाख वर्षभन्दा पुरानो रहेको बताए ।
कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा अवधी साहित्यकार बिष्णुलाल कुम्हारलेले २–४ अंक पत्रिका प्रकाशित गरेर कसैले आफ्नो नाम कमाउने प्रयास मात्र गरेको बताए ।
बैशाख ३ गते अवधी पत्रकारिता दिवससँगै अन्य केही कार्य हुनुपर्ने उनको भनाइ छ । उनले यस दिवसमा अवधी साहित्य, अवधी सँस्कृतिलाई समावेश गरी स्मारिका पनि प्रकाशित गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा अधिवक्ता विश्वजीत तिवारीले दाङमा थारु समुदायको संग्रहालय स्थापना गरिएको बताए । उनले भने, ‘अवधी सँस्कृति पनि धेरै प्राचीन छ । विभिन्न राजनीतिक दलका नेताहरुले भोट बटुल्नेतर्फ मात्र लाग्नुभएन । उनीहरुले यहाँ अवधी संग्रहालय स्थापना गर्नेतर्फ कार्य गर्नुपर्यो ।’
नेपाल टी.भी. कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजयकुमार वर्माले सरकारी उपेक्षाका कारण अवधी भाषाको विकास हुन नसकेको गुनासो राखे ।नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले अवधी भाषाको विकासको लागि आफू सँधै तत्पर रहेको बताए ।
नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले अवधी भाषी पत्रकारहरुमा अझ दक्षता ल्याउन विभिन्न प्रशिक्षणहरु आयोजना गर्नुपर्नेमा जोड दिए ।
मधेश मिडिया मिसन नेपाल बाँके शाखाका सल्लाहकार अजयकुमार गुप्ताले अहिले अवधी भाषा माथि चौतर्फि आक्रमण भइरहेको बताए । उनले भने, ‘भर्खरै भारतको उत्तरप्रदेशमा हुन गइरहेको विधान सभा निर्वाचनको समय विहारका एक लोक गायिकाले ‘दियौ का ब’ भनेर जुन प्रकार गीत प्रस्तुत गरेकी छिन्, यसबाट अवधी भाषा माथि ठाडै प्रहार भएको छ ।’
भोजपुरी भाषाको लोकगीतबाट अवधी क्षेत्र माथि आक्रमण गरिएको उनको भनाइ छ । अन्तरक्रियामा मानव अधिकार शान्ति समाजका पूर्व अध्यक्ष कृष्णादेवी पाण्डेय, नागरिक अधिकार मञ्चकी पदाधिकारी सोनाली गुप्तालगायतले आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा समाजसेवी माधवराम वर्माले अवधी भाषा उत्थानका लागि ५ हजार १ सय रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रमको समापन गर्दै मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीले आगामी महिना फेरि यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने बताए । उनले बैशाख ३ गते सबैको राय सल्लाह अनुसार भव्य रुपमा अवधी पत्रकारिता स्थापना दिवस मनाउने तयारी गरिएको जानकारी गराए । अन्तरक्रिया कार्यक्रमको सहजिकरण सचिव सन्ध्या शर्माले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies