
काठमाडौं : नेपालमा बाघको संख्या बर्सेनि बढिरहेको छ । विश्व बाघ दिवसका अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ ।
पछिल्ला दिनमा संरक्षण क्षेत्र र वासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायत आधारमा बाघको संख्या थपिएको बताइएको छ । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२को गणनाअनुसार बाघको संख्या ३५५ थियो । बितेका चार वर्षमा नेपालमा ७४ वटा बाघ थपिएका छन् । बर्दियाबाहेक बाघ पाइने सबै निकुञ्जमा संख्या वृद्धि भएको छ । बाघको संख्या बढेर नेपालले खुसी मनाइरहँदा बाघको संरक्षणका लागि निकुञ्जवरपरका बस्तीका बासिन्दाले ठुलो मानवीय मूल्य चुकाउनुपरेको छ । बितेका पाँच वर्षमा बाघको आक्रमणमा परेर ६० जनाको ज्यान गएको छ । यो तथ्यांकले मध्यवर्ती क्षेत्रका बासिन्दाले ज्यानसँग साटेर बाघ संरक्षण गरिररहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, गत आर्थिक वर्षमा १० जनाको बाघको आक्रमणमा ज्यान गएको छ । सबैभन्दा धेरै बाघ वृद्धि भएको बाँके निकुञ्जमा मात्र चारजना मारिएका छन् । २०८१/८२मा ७ जना, २०८०/८१मा १०, २०७९/८०मा १२ र २०७८/७९मा २१ जनाको बाघको आक्रमणमा मृत्यु भएको थियो । त्यसअघि २०७७/७८मा १३ र २०७६/७७मा आठजनाको मृत्यु भएको तथ्यांक छ । बितेका आठ वर्षमा बाघको आक्रमणमा परी ८५ जनाले ज्यान गुमाएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा देखापरेको छ । बाघलगायतका वन्यजन्तुको संख्या बढ्नु सकारात्मक भए पनि तिनको वासस्थान र जैविकमार्ग संरक्षणमा ध्यान नदिँदा मानव–वन्यजन्तु द्वन्द्व थप जटिल बन्दै गएको विज्ञहरू बताउँछन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव डा.चिरञ्जीवीप्रसाद पोखरेल बाघको संख्या वृद्धि संरक्षण प्रयासको ठुलो उपलब्धि भएको बताउँछन् । ‘अबको प्राथमिकता मानव–बाघ सहअस्तित्व कायम गर्नु हो,’ उनी भन्छन्, ‘बाघ आफ्नो प्राकृतिक व्यवहारअनुसार चल्ने भएकाले द्वन्द्व घटाउन मानिसको सुरक्षा, समुदायमा आधारित संरक्षण र वासस्थान व्यवस्थापनमा जोड दिनुपर्छ ।’ उनले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसको व्यवहार परिवर्तन आवश्यक रहेको बताएका छन् ।
‘बाघले आफ्नो आनीबानी परिवर्तन गर्दैन, त्यसैले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जाने, वन्यजन्तुको गतिविधि हुने क्षेत्रमा अपनाउने व्यवहारलगायत विषयमा सचेत हुनुपर्छ,’ उनले भने । डा.पोखरेलले पर्यापर्यटन प्रवर्धन तथा मानव–बाघ सहअस्तित्व कायम गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार बाघ संरक्षणको दीर्घकालीन सफलताका लागि स्थानीय समुदायलाई संरक्षणको साझेदार बनाउन आवश्यक छ ।
बाघ संरक्षणका लागि स्थानीय समुदायले ठुलो योगदान दिँदै आएका छन् । तर, कतिपय अवस्थामा वन्यजन्तुको संरक्षणको भार प्रत्यक्ष रूपमा प्रभावित समुदायले नै बोक्नुपरेको छ । बाघ जोगाउने अभियानसँगै मानिसको जीवन सुरक्षा, क्षतिपूर्ति, पूर्वसूचना प्रणाली र सुरक्षित वासस्थान व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज र पर्सा क्षेत्र विस्तार हुँदा आहारा प्रजातिको वृद्धिले पनि बाघ वृद्धिमा सघाएको वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य बताउँछन् । ‘बाघको संख्या वृद्धि हुँदा मानवसँग द्वन्द्व पनि बढेको छ,’ उनी भन्छन्, ‘हुर्केका बच्चा गाउँबस्ती र नयाँ वन क्षेत्र खोज्छन् । दुवैले प्रयोग गर्ने वन क्षेत्र एउटै भएपछि टकराव हुन्छ ।’
उनका अनुसार त्यसरी वनबाहिर आउने बाघ मुख्यतः तीनखाले हुन्छन् । उनी भन्छन्, ‘एउटा बुढो भएर सामान्य सिकार गर्न नसक्ने बाघ र दोस्रो, भर्खर हुर्कंदै गरेको बच्चा, तेस्रो भाले बाघहरू जुध्दा हारेको र घाइते बाघ निर्धो बनेर बाहिर जान सक्छ ।’ यस्ता बाघ बेलैमा पहिचान गरेर व्यवस्थापन गर्न सके मानवसँगको द्वन्द्व घटाउन सकिने उनको बुझाइ छ । ‘हुर्केका बच्चा नयाँ क्षेत्र खोज्दै गाउँबस्तीतर्फ पुग्छन् । मानिस र बाघले एउटै वन क्षेत्र प्रयोग गर्दा टकराव हुने गर्छ,’ आचार्यले भने ।
बाँके निकुञ्जमा दोब्बर, बर्दियामा घट्यो
नेपालका संरक्षित क्षेत्रमध्ये पछिल्लो चार वर्षमा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या सबैभन्दा धेरै बढेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार, बर्दियाबाहेक सबै संरक्षित क्षेत्रमा बाघको संख्या वृद्धि भएको छ ।
उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ बाट बढेर ७१ पुगेको छ । पछिल्लो चार वर्षमा ३० वटा बाघ थपिएका छन्, जसले पर्सालाई बाघको संख्यामा सबैभन्दा बढी वृद्धि भएको संरक्षित क्षेत्र बनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर भएको छ । चार वर्षअघि २५ बाघ रहेकोमा बढेर ५१ पुगेको छ । प्रतिवेदनअनुसार चार वर्षको अवधिमा यस क्षेत्रमा २६ वटा बाघ थपिएका छन् । नेपालले पृथ्वीलाई उपहारका रूपमा २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२को नतिजाअनुसार शुक्लाफाँटामा बाघको संख्या २६ बाट वृद्धि भएर ५० पुगेको हो । सन् २०१८मा गणना गर्दा शुक्लाफाँटामा बाघको संख्या १६ रहेको थियो । मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघको वासस्थानका रूपमा पनि शुक्लाफाँटा परिचित छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा हाल १४५ वटा बाघ अभिलेख गरिएको छ, जुन अघिल्लो गणनामा रहेको १२८को तुलनामा १७ वटा बढी हो । विगत दुई दशकमा चितवनमा बाघको संख्याले उतारचढाव देखाएको छ । सन् २००० तिर करिब ६० रहेको अनुमान गरिएको संख्या २०१३मा १२० पुगेको थियो भने २०१८मा घटेर ९३मा झरेको थियो । अहिले पुनः वृद्धि भएर १४५ पुगेको छ ।
सबै क्षेत्रमा बाघको संख्या वृद्धि हुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या घटेको छ । अघिल्लो गणनामा १२५ वटा बाघ रहेको बर्दियामा यसपटक ११२ वटा मात्रै रेकर्ड भएका छन् । यससँगै बर्दियामा चार वर्षको अवधिमा १३ वटाले कमी आएको देखिएको छ । मन्त्रालयले २०१० देखि हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् २०१०मा १२१, सन् २०१४मा १९८ र २०१८मा २३५ रहेको थियो ।
विश्वभर बाघको संख्या तीव्र रूपमा घट्दै गएपछि बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउन सन् २०१०मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘सेन्ट पिटर्सबर्ग टाइगर समिट’ले जुलाई २९ लाई विश्व बाघ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता प्रत्येक वर्ष मनाइँदै आएको छ ।
बाघ बढे, तर वृद्धिदर घट्यो
नेपालमा बाघको कुल संख्या निरन्तर बढिरहेको भए पनि वृद्धिदर भने अघिल्लो गणनाको तुलनामा सुस्त देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको राष्ट्रिय बाघ सर्वेक्षण प्रतिवेदनले पछिल्लो चार वर्षमा बाघको संख्या बढे पनि वृद्धिको गति घटेको जनाएको हो ।
प्रतिवेदनअनुसार सन् २०७४को गणनामा २३५ वटा बाघ रहेकोमा २०७९मा १२० वटा थपिँदा करिब ५१ प्रतिशत वृद्धि भएको थियो । चार वर्षमा ३५५ बाट ४२९ पुग्दा ७४ वटा बाघ थपिए पनि वृद्धिदर अघिल्लो गणनाको तुलनामा उल्लेख्य रूपमा घटेर २१ प्रतिशतमा सीमित देखिएको छ । यसपटकको सर्वेक्षणमा अत्याधुनिक क्यामरा ट्र्यापिङ प्रविधिको प्रयोग गरी ३७३ वटा फरक–फरक बाघको पहिचान गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले बाघको संख्या बढ्नु संरक्षण प्रयासको सकारात्मक उपलब्धि भएको बताए । ‘बाघको संख्या वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थानको गुणस्तर सुधार तथा बाघका आहारा प्रजातिको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने ‘मानवको क्षतिलाई शून्यमा झार्ने अवधारणालाई कार्यान्वयन गर्दै बाघको आनीबानीको अध्ययन र प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिने योजना बनाउनुपर्छ ।’
विश्वभर बाघको संख्या पछिल्लो दशकमा बढ्दै गएको छ । नेपालसहित एसियाका १३ देशमा मात्र पाइने बाघको संख्या सन् २०१०मा करिब तीन हजार २०० रहेकामा सन् २०२५को तथ्यांकअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ । बाघ पाइने मुलुकमध्ये सबैभन्दा धेरै संख्या भारतमा रहेको छ । भारतमा तीन हजार १६७ वटा बाघ रहेका छन् । त्यसपछि रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ४२९, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बंगलादेशमा १४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् ।
मानव–बाघ द्वन्द्व न्यूनीकरणमा पहल
बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरे पनि मानव–बाघ द्वन्द्व पछिल्लो समय चुनौतीका रूपमा देखिएको छ । बाघको आक्रमणबाट हुने मानवीय क्षति, पशुधनको नोक्सानी र स्थानीय समुदायमा बढ्दो त्रास कम गर्न सरकारले व्यवस्थापनका नयाँ उपाय अघि बढाउन थालेको छ ।
बाघको संख्या वृद्धि, वन क्षेत्रसँग जोडिएका मानव बस्ती विस्तार, बाघको प्राकृतिक वासस्थानमा दबाब र आहारा खोज्दै बस्तीनजिक पुग्ने अवस्थाले द्वन्द्वका घटना हुने गरेका छन् । विशेषगरी निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दा यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।
मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा निगरानी प्रणाली सुदृढ गर्ने, बाघको आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्ने, स्थानीय समुदायलाई सचेत बनाउने र जोखिम क्षेत्रमा सुरक्षा उपाय विस्तार गर्ने पहल भइरहेका छन् ।
विज्ञहरूका अनुसार बाघको व्यवहार, वासस्थान र मानव गतिविधिबीचको सम्बन्ध अध्ययन गरेर दीर्घकालीन योजना बनाउन आवश्यक छ । बाघको विचरण क्षेत्र पहिचान, जैविक मार्ग संरक्षण र समुदायमा आधारित संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सके द्वन्द्व घटाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।
डा.पोखरेलका अनुसार बाघ संरक्षणसँगै समुदायको सहभागिता र जीविकोपार्जन सुधारका कार्यक्रमलाई पनि सँगसँगै अघि बढाउन आवश्यक छ । उनी भन्छन्, ‘मन्त्रालयसँगको सहकार्यमा बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना अभिवृद्धि गर्ने, आयआर्जन तथा सीपमूलक तालिम र कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’
बाघलाई मार्न र बेचबिखन गर्न कानुनी प्रतिबन्ध रहेकाले समस्याग्रस्त बाघ व्यवस्थापन चुनौती बनेको छ । यस्ता बाघका लागि ‘टाइगर जु’ स्थापना, वन्यजन्तु कूटनीतिमार्फत अन्य देशलाई हस्तान्तरण, प्राणी उद्यानमा व्यवस्थापनलगायत विकल्पमाथि बहस भइरहेको छ । जोखिमयुक्त बाघको व्यवस्थापन वैज्ञानिक अध्ययन र कानुनी प्रक्रियाका आधारमा गर्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।