
काठमाडौं : अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालले असार २० गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए । मादकपदार्थ सेवन गरेका कुमाललाई सर्पले डसे पनि दुखाइ महसुस गरेनन् । परिवारलाई पनि केही भनेनन् ।
सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ ८ बजेतिर अचानक उनलाई टोकेको थियो । सर्पको टोकाइपछिका लक्षण देखिएपछि शनिबार बिहान ८ बजे मात्र उपचारका लागि अस्पताल ल्याइएको थियो । वडाध्यक्ष काजीबाबु ज्ञवालीका अनुसार, अर्घाखाँचीबाट कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइपु¥याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो । गोरुसिंगे सर्पदंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरे पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो ।
कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर साउन ११ गते २९ वर्षीय हेमन्त चौधरीको मृत्यु भयो । राति सवा ९ बजेतिर जबदहवास्थित आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले डसेको थियो । सर्प दंशपछि उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा मृत्यु भयो ।
गर्मी तथा वर्षा याम सुरु भएसँगै सर्पको जोखिम पनि बढ्दै गएको छ । विषेषगरी तराई क्षेत्रमा जेठ महिनादेखि असोजसम्म सर्पको जोखिम हुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बितेका साढे तीन महिनाको अवधिमा सर्पको टोकाइबाट ५३ जनाको मृत्यु भएको छ भने ६०१ जना घाइते भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, देशभर ९१ वटा सर्पदंश उपचार केन्द्र छन् । जसमा एन्टी स्नेक भेनममार्फत उपचार भइरहेको छ । महाशाखाका जुनोटिक तथा अन्य सरुवारोग विभागका शाखा प्रमुख डा.अमृत पोखरेल अव्यवस्थित सहरीकरण, सरसफाइ नभएका कारण सर्पको डसाइ पनि बढ्दै गएको बताउँछन् । ‘सर्पभन्दा पनि सर्पको डसाइको लक्षणबाट विषालु र अविषालु पत्ता लाग्छ,’ उनले भने, ‘लक्षण देखिएको रहेछ भने विषालु सर्पको टोकाइ हो भन्ने थाहा हुन्छन्, तर जुनसुकै सर्पले डसेमा अस्पतालमा जानुपर्छ ।’ सर्पले डसिहालेमा डसेको ठाँउमा नकस्ने, चिरफार नगर्ने, झारफुक नगरेर तुरुन्त सर्पदंश उपचार केन्द्रमा जान उनी सल्लाह दिन्छन् ।
औषधिको अभाव छैन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.अनुज भट्टचनका अनुसार, देशभर सर्पदंशको औषधिको व्यवस्थापन गरिएको छ । ‘विशेषगरी तराई क्षेत्रमा सर्पदंशको प्रभावित क्षेत्र रहेकाले विशेष रूपमा लिएका छौं,’ उनले भने, ‘यसको औषधि सर्वसुलभ र निःशुल्क रूपमा प्रदान गर्दै आइरहेका छौं ।’ सर्पदंशको औषधि एन्टी स्नेक भेनममार्फत उपचार गरिन्छ ।
नेपालमा पाइने ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु हुन्छन् । अनुसन्धानकर्ताका अनुसार, विषालु सर्पअन्तर्गत गोमन, करेत र भाइपर गरी तीन किसिमका हुन्छन् । विषालु सर्प सामान्य सर्पभन्दा हिंस्रक स्वभावका हुन्छन् । सर्पको स्वभाव प्रजातिअनुसार भिन्न हुन्छ । विषालु करेत सर्पले न्यानो र तातो ठाउँ मन पराउने भएकाले यो सर्प प्रायः मानिसको नजिक आउन खोज्छ । यो सर्प दिउँसोभन्दा रातिको समयमा बढी सक्रिय हुन्छ ।
यसको मुख्य खाना मुसा हो भने यसले राति सिकार गर्ने गर्छ । शरीर कालो, सेतो, पहेंलो, टाटेपाङग्रे हुन्छ । गोमन प्रजातिमा राज गोमन जातको सर्प जंगलमा बस्छ भने गोमन सर्पको पछाडि चस्मा आकारको चिह्न हुन्छ । भाइपर जातिको सर्प मानिसको सम्पर्कमा त्यति आउँदैन । यसको वासस्थान जंगल हो । यसको ज्यान बुट्टेदार हुन्छ । यो विभिन्न रंगको हुन्छ ।
सर्पले डसेमा के गर्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा.शेरबहादुर पुन सर्पले डसेमा आत्तिन नहुने बताउँछन् । किनभने टोक्ने सबै सर्प विषालु हुँदैन । सर्पलाई खोज्ने, समात्ने वा मार्ने प्रयास नगर्ने, टोकेको ठाउँमा धागो वा कसेर नबाँध्ने, विष निकाल्ने भनेर टोकेको ठाउँमा काट्ने र मुखले चुस्ने नगर्न सल्लाह दिन्छन् । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधिको प्रयोग नगर्न र टोकेको भागलाई नचलाउन आग्रह गर्दै उनी भन्छन्, ‘सर्पले टोकेपछि समयमै अस्पताल पु¥याउन नसक्दा बिरामीको मृत्यु हुन्छ । त्यसैले छिटोभन्दा छिटो उपचारमा लैजानुपर्छ ।’
सर्प उद्धारकर्मी शिवु
दाङका शिवु खनाल दिनमा २० वटासम्म सर्पको उद्धार गर्छन् । वर्षाको समयमा सफा ठाउँ खोज्दै सर्प मान्छेको घर–आँगन पुग्छ । खनाल ती सर्प उद्धार गर्न पुग्छन् र नजिकैको जंगलमा लगेर छाड्छन् ।
पछिल्लो तीन वर्ष खनालको दिनचर्या यसरी नै बित्ने गरेको छ । पेसाले पत्रकार रहेका उनको परिचय पछिल्लो समय सर्प उद्धारकर्मीको रूपमा पनि चिनिन्छ । समाचारका लागि सम्पर्क गर्दा मंगलबार खनाल सर्प उद्धारकै क्रममा थिए । उनी राजपुर गाउँपालिका वडा नम्बर ३ भैरहवास्थित जनकल्याण आधारभूत विद्यालयमा सर्प उद्धारमा व्यस्त थिए ।
उक्त विद्यालयको कक्षा ४मा विद्यार्थीहरू पठनपाठनमा व्यस्त रहेका बेला कक्षा कोठामा देखापरेको मध्यम विषालु (बिरालु) सर्पलाई सकुशल उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको बताए । उनले तीन वर्षअघि सर्प उद्धारसम्बन्धी तालिम लिएका थिए । दाङको देउखुरी क्षेत्रमा पनि सर्प तथा अजिंगरको जोखिम क्षेत्र हो । उनले गाउँघरमा सर्प देखिन थालेपछि मार्नुको सट्टा जंगलमा लगेर छाडछन् ।
उनको काम देखेर सब डिभिजन वन कार्यालय देउखुरीले पनि सर्प उद्धारको समयमा आवश्यक पर्ने उद्धार सामग्री प्रदान गर्दै आएको छ । उनी भन्छन्, ‘सर्प कसैको घर, कार्यालय वा खुला ठाँउमा देखियो भने मलाई बोलाउनुहुन्छ । म गएर सर्पको उद्धार गर्ने गर्छु ।’
उनले सर्पको उद्धार गरेबापतको शुल्क लिँदैनन् । निःशुल्क सेवा दिँदै आइरहेका छन् । तीन वर्षअघि दाङमा महोत्सव लागेको थियो । उनको मनमा सोच आयो– यही मेलामार्फत सर्पसम्बन्धी सचेतना गर्नुपर्छ । उनले मेलाको स्टेजमार्फत नै उनले सर्पलाई पक्डेर र उद्धार गर्ने शैली देखाए ।
त्यसपछि सबैले उनलाई सर्प उद्धार गर्न बोलाउँछन् । त्यसअघि मान्छेहरूले सर्प देखिहाल्यो कि मार्ने गर्थे, पछिल्लो समय उद्धारका लागि खनाललाई बोलाउँछन् । सर्प उद्धारको समयमा कतिपटक त उनलाई विषालु सर्पले डसेको पनि छ । ‘हातमा ग्लोभ्स लगाएको हुन्छ, विष जान पाउँदैन, उद्धार गर्ने समयमा त टोक्छन्,’ उनले भने, ‘तर सर्पको उद्धार गर्न पाँउदा खुसी लाग्छ ।’
वर्षामा सर्प बाहिर देखिने हुँदा उनलाई सर्पको उद्धार गर्न भ्याइनभ्याई हुन्छ । सिजनको समयमा दैनिक २० वटासम्मको उद्धार गरेका छन् । त्यसबाहेक अन्य दिन तीन–चारवटासम्म सर्पको उद्धार गर्ने गरेका छन् ।
सूचना पाएको अवस्थामा घरमै पुगेर सर्पको उद्धार गर्ने गरेको उनले बताए । ‘सर्प सफा ठाउँ खोज्दै मान्छे बस्ने स्थानसम्म आइपुग्छन्,’ उनले भने, ‘सर्पलाई मार्नुहुँदैन, उद्धार गरेर उनीहरूको वासस्थानसम्म पुर्याउनुपर्छ ।’
सर्पलाई नचलाए हानि नगर्ने उनको भनाइ छ । बाटो बिराएर मान्छे भएको ठाउँमा सर्प आउने हुँदा त्यसलाई जिस्क्याउन नहुने उनले बताए ।