२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

हिमालमा हलचल, किनारामा जोखिम

११ वर्षअघि भूकम्पले लाङटाङ हल्लायो, अहिले हिमचट्टान खस्दा भोटेकोशी उर्लियो । घटनाको प्रकृति फरक भए पनि दुवैले हिमाली क्षेत्रमा बढ्दो जोखिम देखाएका छन् । अब हिमताल मात्र होइन, हिमचट्टान, हिमनदी, पर्माफ्रस्ट र नदी थुनिने सम्भावनालाई पनि विपद्को जोखिममा जोड्नुपर्ने भएको छ । समयमै निगरानी, सावधानी र पूर्वसूचना नअपनाए बदलिँदो हिमाली विपद्ले बस्ती र संरचनालाई निरन्तर सताइरहने छ । विपद् व्यवस्थापनका लागि राज्य सधैं तयारी अवस्थामा बस्नुपर्ने देखिएको छ ।

Nada
जनक नेपाल
२०८३ भदौ २६ गते ०६:३०
Shares
हिमालमा हलचल, किनारामा जोखिम

काठमाडौं : १० भदौ बिहान रसुवाको भोटेकोशी नदी एकाएक उर्लियो । केही समय अघिसम्म सामान्य रूपमा बगिरहेको नदीमा पानीसँगै हिउँ, चट्टान, माटो र गेग्रानको ठुलो भेल आयो । रसुवागढी, टिमुरे, स्याफ्रुबेसी हुँदै त्रिशूली नदीसम्म पुगेको त्यो भेलले बस्ती, सडक, पुल र जलविद्युत् संरचनामा ठुलो क्षति पुर्‍यायो । 

ncell

स्थानीयलाई नदीछेउमा बसेपछि बाढी आइरहन्छ भन्ने लागेको थियो । तर, यो सामान्य बाढी थिएन । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्रारम्भिक आकलनअनुसार, ठुलो परिमाणमा बरफ र चट्टानी गेग्रान भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलामा खसेको थियो । त्यसले खोलाको साँघुरो भाग थुनेर अस्थायी ताल बनाएको हुन सक्ने र त्यसपछि पानीको बहाव एकाएक तलतिर आएको अनुमान छ । घटनाको वास्तविक कारणबारे विस्तृत अध्ययन भने भइसकेको छैन । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बिहान करिब ८ः४० बजे नेपाल–चीन सीमाक्षेत्रनजिकै माथिल्लो जलाधारमा हिमचट्टानको पहिरो गएको भनेको छ । सोही कारण ल्हेन्दे खोलामा ठुलो बाढी तथा गेग्रानको बहाव सिर्जना गरी भोटेकोशीमा प्रवेश गराएको प्रारम्भिक विवरण दिएको छ । यी दुई निकायका विश्लेषणले भन्छ,– हिम–चट्टान खस्यो, खोला थुनियो, पानी र गेग्रान जम्मा भयो र अवरोध फुटेपछि आकस्मिक बाढी आयो । 

यो घटनाले ११ वर्षअघिको लाङटाङलाई सम्झाउँछ । २०७२ वैशाख १२ को भूकम्पपछि लाङटाङ हिमालको दक्षिणी मोहडाबाट ठुलो हिमपहिरो खस्यो । बरफ, हिउँ र चट्टानसहितको त्यो पहिरोले लाङटाङ गाउँलाई ठुलो क्षति पु¥यायो । त्यो हिमपहिरोको मुख्य कारण भूकम्पलाई मानियो ।  

यसपटक भने अवस्था भिन्न देखिन्छ । लाङटाङ लिरुङकै उत्तरी भेगबाट हिमचट्टान खसेको र त्यसको प्रभाव ल्हेन्दे खोलामा परेको प्रारम्भिक अध्ययनहरूले देखाएका छन् । २०७२ को घटनामा भूकम्पले हिमपहिरो निम्त्याएको थियो भने अहिले हिमचट्टान खसेर खोला थुनिएर आकस्मिक बाढी आएको देखिन्छ । तर दुवै घटनाले लाङटाङ क्षेत्रको हिमाली भूभाग अस्थिर रहेको पुष्टि गरेको छ । 

‘उच्च हिमाली भागबाट ठुलो परिमाणमा चट्टान र बरफ खसेर तीव्र गतिमा तल आएको देखिन्छ । त्यसले खोलालाई अस्थायी रूपमा थुनेपछि पानी र भग्नावशेष जम्मा भएको हुन सक्छ,’ इसिमोडकी हिम तथा जलवायु अनुसन्धानकर्ता सुन्वी मास्के भन्छिन्, ‘अवरोध भत्किँदा वा पानीले नाघ्दा भग्नावशेषसहित आकस्मिक ठुलो बाढी आएको देखिन्छ ।’

यसलाई हिम–चट्टान पहिरोबाट सुरु भएको एउटा घटनाले अर्को घटना निम्त्याउने जोखिमको शृंखलाका रूपमा बुझ्नुपर्ने बताउँछिन् । 

हिमतालको भय

इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको अध्ययनले नेपाल, तिब्बत र भारतमा तीन हजार ६२४ हिमताल पहिचान गरेको छ । तीमध्ये २,०७० नेपालमा, १,५०९ तिब्बतमा र ४५ भारतमा छन् । सबै हिमताल जोखिमयुक्त भने होइनन् । अध्ययनले ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको छ । तीमध्ये नेपालमा २१, तिब्बतमा २५ र भारतमा एउटा छन् । जोखिमयुक्त हिमतालमध्ये ४२ वटा कोशी बेसिनमै छन् । 

अध्ययनले यीमध्ये ३१ वटालाई सबैभन्दा उच्च जोखिमको श्रेणीमा राखेको छ । जोखिम घटाउन नियमित निगरानी, जोखिम मूल्यांकन र पूर्वसूचना प्रणाली आवश्यक रहेको अध्ययनको निष्कर्ष छ । नेपालका लागि जोखिम नेपालभित्र मात्र छैन । कोशी बेसिनका सम्भावित खतरनाक हिमतालमध्ये २२ वटा तिब्बतमा र १८ वटा नेपालमा छन् । तिब्बततर्फको घटनाले नेपालको नदी प्रणालीमा सीधा असर पार्न सक्ने कारण यही हो । 

अध्ययनले हिमताल मात्र गनेर जोखिम तोकेको होइन । तालको अवस्था, त्यसलाई थामेको बाँध, सम्बन्धित हिमनदी र वरपरको भूस्वरूपका आधारमा सम्भावित खतरनाक ताल छुट्याइएको थियो । यसको अर्थ नेपालभित्र बनेका हिमतालबाट मात्र खतरा आउँदैन । सीमापार उच्च हिमाली क्षेत्रमा बनेका वा अस्थिर भएका ताल र हिमाली भूभागबाट आएको बहाव पनि नेपाली नदीमा पस्न सक्छ । जसरी भर्खरै तिब्बतबाट पश्चिम भोटेकोशीमा आकस्मिक बाढी आयो । कतिसम्म भने रसुवा, नुवाकोट र धादिङका नदीतटीय क्षेत्रका बासिन्दा पानी नपरेको भन्दै बाढी आउने पूर्वसूचना पत्याएका थिएनन् । 

भोटेकोशी बाढीले केही पुराना बुझाइ भत्काइदिएको छ । यसअघि हिमताल फुट्दा मात्र यस्ता आकस्मिक बाढी आउँछ भन्ने बुझाइ थियो । तर, यसपटक हिमताल नभए पनि हिमपहिरो आफैं बाढीको स्रोत बन्न सक्छ भन्ने पुष्टि गरेको छ । हिउँ र चट्टानको ठुलो भाग नदी वा खोलामा खस्दा त्यसले पानीको बहाव रोक्न सक्छ । त्यसरी बनेको तालबाट एकैपटक पानी र गेग्रान तल आउन सक्छ । यही प्रक्रिया भोटेकोशीमा भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

नेपालमा यस्ता घटना नयाँ भने होइनन् । विज्ञहरूको अध्ययनले सन् २००३ को मादी र २०१२ को सेती बाढीको प्रकृति यसपटक दोहोरिएको हो । त्यहाँ पनि हिमपहिरो वा हिउँ जमेको क्षेत्रमा पहिरो गएर त्यससँगै पानी तथा गेग्रान तल आएको थियो । त्यसैले अब हिमतालसँगै हिमनदी, हिमपहिरो, चट्टानी ढलान र पर्माफ्रस्ट पनि जोखिमको कारण मान्नुपर्ने देखिन्छ । 

बढ्दो तापक्रमले हिमनदी पछाडि हट्ने, जमेको भूभाग तात्ने वा पग्लिने तथा हिउँ र बरफको स्थिरता कमजोर हुने अवस्था सिर्जना गरिरहेको मास्के बताउँछिन् । ‘चट्टानका चिराभित्र पानी पस्दा पनि उच्च हिमाली भिर पहिलेको तुलनामा अस्थिर बन्न सक्छ,’ उनी भन्छिन्, ‘तर भोटेकोशीको यो विशेष घटना जलवायु परिवर्तनकै कारण मात्र भएको हो भनेर अहिले नै ठोकुवा गर्न मिल्दैन । यसका लागि तापक्रम, वर्षा, हिमपग्लाइ, चट्टान, जमेको भूभाग र हिमनदीको अवस्थासहित थप अध्ययन आवश्यक छ ।’

हिमालयमा अस्थिरता 

हिमाली जोखिममा प्राकृतिक भूगर्भिक प्रक्रिया पहिलेदेखि थियो । हिमालय आफैं निर्माण भइरहेको भूभाग हो । नदीले पहाड काटिरहेको हुन्छ । पहाड र ढलानमा निरन्तर परिवर्तन आइरहेको हुन्छ । त्यसमा जलवायु परिवर्तनले दबाब बढाएको छ ।

इसिमोडको अध्ययनले हिमनदीहरू बिसौं शताब्दीदेखि निरन्तर पग्लिँदै र खुम्चिँदै गएको र त्यसबाट नयाँ हिमताल बन्ने तथा पुराना हिमताल विस्तार हुने जोखिम बढेको बताएको छ । यही कारण हिमताल विस्फोटजन्य बाढीको खतरा बढिरहेको अध्ययनको निष्कर्ष छ ।

तापक्रम बढ्दै जाँदा पहिले हिउँले ढाकिएका उच्च हिमाली भागमा अहिले पानी पर्ने अवस्था देखिन थालेको छ । तातो मनसुनी पानी चट्टानका दरारभित्र पस्दा जमेको भूभाग अर्थात् पर्माफ्रस्ट कमजोर हुन सक्छ । यसले हिमपहिरो र चट्टान खस्ने जोखिम बढाउन सक्छ । भूगर्भविद् श्रीकमल द्विवेदी हिमरेखा माथिमाथि सर्दै जाँदा हिउँ पग्लिने र हिमाली चट्टानभित्र पानी छिर्ने क्रम बढेको बताउँछन् । ‘जलवायुको देखिने असर नै यही हो । हिमरेखा माथि सर्दै जाँदा हिमालमा धेरै फेरबदल आइरहेको छ,’ उनी भन्छन्, ‘हिमालमा हलचल स्वाभाविक भए पनि जलवायु परिवर्तनले त्यसको गति बढाएको छ । चट्टान मक्किने र हिम–चट्टान पहिरो जाने क्रम बढाएको छ ।’ 

जलवायु परिवर्तनले पृथ्वीको तापक्रम मात्र बढाउने छैन, हिमाली भूभागको स्थिरता नै बदलिरहेको छ । यसले हिमालय क्षेत्रमा हलचल आइरहेको देखाउँछ । तर, एउटै घटनाबाट सम्पूर्ण हिमालय अस्थिर भइसकेको निष्कर्ष निकाल्नु उचित नहुने बताउँछिन्, अनुसन्धानकर्मी मास्के । ‘हिमताल मात्र होइन, हिम–चट्टान पहिरो, जमेको भूभाग पग्लिनु, नदी थुनिनु र त्यसपछि आउने आकस्मिक बाढीजस्ता जोखिमलाई पनि गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनी भन्छिन्, ‘तापक्रम बढ्दा चट्टानका चिराभित्रको बरफ कमजोर वा पग्लिन सक्छ र पानी चिराभित्र गहिरोसम्म पुग्न सक्छ ।’ हिमनदी पछाडि हट्दा पहिले बरफले दिएको चट्टानी भिरको आड घट्न सक्ने भएकाले केही स्थानमा दीर्घकालीन ढलान अस्थिरता बढ्न सक्ने उनको बुझाइ छ । 

बर्सेनि हिमाली क्षेत्रमा जोखिम बढ्दै जान थालेपछि यसमा विशेष निगरानीको खाँचो छ । हिमताल मात्र होइन, अस्थिर हिमनदी, हिम–चट्टान पहिरो सम्भावित भिर, जमेको भूभाग र नदी थुनिन सक्ने साँघुरा उपत्यकालाई एउटै बहुजोखिम मूल्यांकनमा समेट्नुपर्ने देखिन्छ । ‘उच्च प्राथमिकताका स्थानमा उपग्रह, क्यामेरा, मौसम केन्द्र, जमिनको चाल, भूकम्पीय संकेत र नदीको जलसतह मापनलाई सम्भव भएसम्म एकीकृत गर्नुपर्छ’, अनुसन्धानकर्मी मास्के भन्छिन्, ‘खतरा पत्ता लागेपछि सूचना स्थानीय सरकार, सुरक्षा निकाय, जलविद्युत् आयोजना र समुदायसम्म केही मिनेटभित्र पुग्ने व्यवस्था चाहिन्छ ।’

धेरै हिमाली नदी सीमापारबाट आउने भएकाले नेपाल–चीनलगायत आवश्यक क्षेत्रीय संयन्त्रमार्फत सूचना शीघ्र आदानप्रदान गर्नुपर्ने विज्ञहरू बताउँछन् । 

जोखिम पहिचान गरेर निरन्तर निगरानी गरे विपद्बाट जोगिन सकिन्छ भन्ने उदाहरण नेपालकै छो–रोल्पा हिमताललाई लिन सकिन्छ । जहाँ नेपालले डेढ दशकअघि नै हिमतालजन्य विपद् जोखिम न्यूनीकरणको सफल उदाहरण पेस गरेको पनि छ । हिउँ पग्लिएर हिमताल फुट्ने अवस्थामा पुगिसकेको थियो । सन् २००९ मा तालको पानीको सतह घटाएर जोखिम कम गरियो । ताल फुटेर तल्लो तटीय बस्तीमा ठुलो बाढी आउन सक्ने जोखिम पहिचान भएपछि कृत्रिम निकासमार्फत तालको पानीको सतह करिब ३ मिटर घटाइएको थियो । यसले ताल फुट्ने सम्भावित जोखिम घटाउनुका साथै तल्लो क्षेत्रमा रहेका बस्ती, सडक र जलविद्युत् संरचनाको जोखिम पनि कम ग¥यो । भूगर्भविद् द्विवेदी पनि विपद् व्यवस्थापनमा ध्यान नदिए नेपाल यसैको दुश्चक्रमा फस्ने बताउँछन् । ‘हिमाली विपद् अझै सकिएको छैन । विपद् व्यवस्थापन गर्न नसके हामी माथि उठ्न सक्दैनौं,’ उनी भन्छन्, ‘हामीले जापानबाट सिक्नुपर्छ । विपद् व्यवस्थापन गरेर उसले आफ्नो समृद्धि सम्हालेको छ ।’

वातावरण वैज्ञानिक डा. रोहिणी देवकोटा जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा विपत्तिको स्वरूप बदलिँदै गएकाले विपत्तिको पूर्वानुमान सधैं घण्टौंअघि सम्भव नहुन सक्ने बताउँछन् । ‘नेपालले पाँच मिनेटभित्र सूचना, निर्णय र प्रतिकार्य सुरु गर्न सक्ने बहुजोखिम पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ’, उनी भन्छन् ।

सम्बन्धित खबर