
८५ वर्षको उमेरमा पनि गौरी क्षेत्री सरको सक्रियता जारी छ । नेपालभन्दा निकै टाढा अस्ट्रेलियाको बसाइ छ । आफूले लामो समय अँगालेको शिक्षण पेसा र आफ्ना विद्यार्थी भने गौरी सरबाट ओझेल परेका छैनन् । बढ्दो उमेर भएपछि जीवनमा अनेक जटिलता हुन्छन्, धेरैले धेरै कुरा भुल्दै जान्छन् । गौरी सर भने अपवाद हुनुहुन्छ । सर आफ्ना विद्यार्थीको सम्बन्धमा कति धेरै रुचि राख्नुहुन्छ ! संसारमा ऋतु फेरिन्छ, समय फेरिन्छ, मानिसहरू पनि बदलिन्छन् । तर गौरी सर उस्तै देखिनुभो, जो मैले ३८ वर्षपछि अनुभव गरेँ ।
काठमाडौंको मुख्य सहरको एउटा छेउमा रहेको कन्या स्कुल, ३८ वर्षअघि गौरी सर त्यस विज्ञान र गणितका शिक्षक हुनुहुन्थ्यो । विद्यालय र आफ्नो बाल्यकालका कुरा हुँदा गौरी सरको कुरा धेरैसँग गरिराख्थेँ । तर विद्यालयको पढाइ सकिएपछि यो साता पहिलोपटक भेट भयो गौरी सरसँग । यति लामो समयपछि सरसँग भेट्दा मन फुरुंग थियो ।
सरसँग भेट भएको यो क्षण मेरो जीवनकै अमूल्य क्षण थियो । म त्यस दिनको प्रतीक्षा व्यग्रताका साथ गरिरहेकी थिएँ । दिन नजिक आउँदै जाँदा म अझ बढी भावनामा डुबेँ । हम्मेसी कविता नलेख्ने म अघिल्लो दिन एक्कासि कवि बन्न पुगेँ । सरसँग भेट हुँदा त्यही कविता सुनाएँ ।
त्यसका केही पंक्ति यस्ता थिए–
ज्ञानको ज्योति छरेर,
हामीलाई उज्यालो बनाउनुभयो,
जन्म त सबैले पाए पनि,
जीवन जिउने बाटो देखाउनुभयो ।
सिंगो जीवन बाँच्नका लागि,
जीवनको हिसाब देखाउनुभो,
त्यतिबेला सिकाउनुभएको पाठले,
जीवनभरको विश्वास दिलाउनुभो ।
आफ्नो जीवनमा बुढ्यौली भए पनि उत्साह र उमंग गौरी सरसँग पटक्कै कमी थिएन । आफ्नो परिवारका कारण धेरै समय अस्ट्रेलिया बसे पनि नेपालप्रति उहाँको विशेष माया छ । सायद आवतजावत गर्न कठिन छ । तर उहाँको नेपालप्रतिको माया र प्रभावलाई जीवित र सक्रिय राख्न उहाँका परिवारका सदस्यहरूले निकै ख्याल गर्नुभएको रहेछ ।
शिक्षक र विद्यार्थीको सम्बन्धको धागो बेग्लै हुन्छ । आजको समयमा यो सम्बन्ध कति मात्रामा जीवित छ, त्यो थाहा छैन तर हाम्रो पुस्ता शिक्षकको सम्बन्धमा नै हुर्कियो । आफ्नो विद्यालयका २५० भन्दा बढी विद्यार्थीलाई सरले यही वर्ष मात्र पनि भेट गर्नुभएछ । मसँग भेट हुँदा आफ्ना विद्यार्थीसँगको यो भेट आफ्नो जीवनका लागि अत्यन्त महत्त्वपूर्ण भएको पनि सरले बताउनुभयो ।
विद्यालयकै पूर्वविद्यार्थी बहिनी ऋतु जोशीको संयोजनले यसपटक गौरी सरसँगको भेट सम्भव भयो । तर यो भेट मात्र भेट थिएन । शिक्षक र विद्यार्थीबीचको सम्बन्धको सेतु थियो । आजकल हराउन लागेको शिक्षक र विद्यार्थीको सम्बन्धको एउटा अध्याय थियो । हामी पढेको कन्या स्कुल, सरले बाटो देखाएका सबै चेलीहरू आज विभिन्न ठाउँमा रहेर विभिन्न कामहरूमा व्यस्त छन् । तर गौरी सर धेरै विद्यार्थीका लागि उदाहरणीय पात्रका रूपमा हुनुहुन्छ ।
खासमा गौरी सर हिसाब पढाउनुहुन्थ्यो, तर खेलकुदका लागि पनि उहाँ छात्राहरूलाई अघि सार्नुहुन्थ्यो । कन्या स्कुल भएकाले पहिले खेलकुदमा खासै क्रियाकलाप हुँदैनथे । स्कुलमा ब्याडमिन्टन, भलिबल जस्ता खेलहरू सरले नै सुरु गराउनुभएको थियो । सरकै कारणले हाम्रो स्कुलले विभिन्न प्रतियोगितामा भाग लिने अवसर पाएको थियो । विद्यार्थीको सर्वांगीण विकासका लागि आफू जहिले पनि तत्पर हुनुहुन्थ्यो । यो संसारमा तीनवटा मात्र यस्ता नाता हुन्छन् जसले आफ्नो बच्चा आफूभन्दा अगाडि बढेको र नाम चलेको देखेर आफू जितेको अनुभव गर्दछन्– आमा, बुवा र शिक्षक । गौरी सर आज पनि आफ्ना विद्यार्थीहरूको बारेमा सोचिरहनुभएको छ ।
५–६ वर्ष अगाडिको कुरा हो, म पारिवारिक साथीहरूसँग कालिञ्चोक भ्रमणमा गएकी थिएँ । साँझ पर्दा कुरीमा बास बस्ने योजनाअनुसार हामी सबै गाडीबाट ओर्लियौं । त्यति नै बेला अर्को गाडीबाट उत्रिरहेकी एक महिलाले मलाई चिनिन् र बोलाइन् । उनी मेरो स्कुलकी साथी रहिछिन्, करिब ३५ वर्ष भइसकेको थियो होला । त्यसै क्रममा उनले मेरो नाम सोधिन् । उनले त मलाई नामले होइन, ‘गौरी सरको फेभरेट विद्यार्थी’ भनेर चिनेकी रहिछिन् । त्यसपछि त सरको कुरा धेरै भयो । मेरो मनभरि स्कुलको सम्झना भयो ।
३८ वर्षदेखि नभेटिएका मेरा गौरी सरलाई फेरि एकपटक भेट्न पाएँ । त्यसअघि बहिनी ऋतुको सहयोगले फोनमा कुराकानी भएको थियो । स्वर सुन्दा नै मनमा कति धेरै खुसी मिलेको थियो । उहाँमार्फत मैले अन्ततः सरको फोन नम्बर पाएँ । केही समयपछि सरले मलाई फोन गर्नुभयो र भेट्न बोलाउनुभयो । ३८ वर्षपछि आफ्ना गुरुबाट आएको त्यो निम्तो मेरा लागि साधारण निम्तो थिएन । त्यो मेरो जीवनकै एउटा अमूल्य क्षण थियो । सरले बोलाउनुभएको दिनको प्रतीक्षा म व्यग्रताका साथ गरिरहेकी थिएँ । दिन नजिकिँदै जाँदा मेरो उत्साह झन् बढ्दै गयो ।
यसरी ३८ वर्षपछि भएको यो भेटलाई शब्दमा लेख्न सजिलो छैन । गुरु र शिष्य आमने–सामने हुँदा हामी दुवै भावुक भयौं । आँखाले धेरै कुरा भनिरहेका थिए, जुन शब्दले भन्न सकिरहेका थिएनन् । आफ्नो उमेर र व्यस्तताका बाबजुद ३८ वर्षपछि आफ्नो एउटा विद्यार्थीलाई भेट्न सरले जुराएको अवसर मेरा लागि मूल्यवान् थियो । त्यस भेटमा नै मैले सरका बारेमा अर्को सुन्दर कुरा थाहा पाएँ । सर हरेक वर्ष नेपाल आउनुहुँदो रहेछ । नेपाल आएको बेला आफूले पढाएका विद्यार्थीलाई भेट्न समय छुट्याउनुहुँदो रहेछ । ऋतु जोशीलाई संयोजन गर्न लगाएर हरेक वर्ष आफ्ना विद्यार्थीहरूसँग भेटघाट गर्नु उहाँको नियमितजस्तै परम्परा रहेछ ।
सायद यही हो गुरुको महानता । हाम्रो समयका गुरुहरू, हाम्रो समयमा गुरु–शिष्यको सम्बन्ध केवल कक्षाकोठामा सीमित हुँदैनथ्यो । त्यसमा आत्मीयता थियो, अनुशासन थियो, माया थियो र जिम्मेवारीको गहिरो भावना थियो । गौरी सरले हामीलाई हिसाब पढाउनुहुन्थ्यो । तर उहाँको भूमिका एउटा विषय शिक्षकमा मात्र सीमित थिएन । उहाँले हाम्रो किताब मात्र हेर्नुभएन, हामीभित्रको सम्भावना पनि हेर्नुभयो । उहाँले हामीलाई कक्षाकोठाभित्र मात्र होइन, जीवनको मैदानमा पनि अगाडि बढ्न सिकाउनुभयो ।
हाम्रो समयका शिक्षकहरू विद्यार्थीलाई केवल विद्यालयका विद्यार्थी ठान्दैनथे । आफ्नै सन्तान जस्तै माया गर्दथे । विद्यार्थी विद्यालय परिसरभित्र होस् वा बाहिर, उसको भविष्यप्रति आफ्नो जिम्मेवारी सम्झन्थे । पछाडि परेका बालबालिकालाई कसरी अगाडि ल्याउने ? बाटो बिराउन थालेकालाई कसरी सही बाटो देखाउने ? उनीहरूको क्षमता कसरी चिन्ने र विकास गर्ने ? यी कुरा शिक्षकको कर्तव्य मानिन्थ्यो । त्यो केवल जागिर थिएन, बरु त्यो सेवा थियो र समर्पण थियो ।
बालबालिकाको जीवनको ठुलो हिस्सा विद्यालयमा बित्छ । विद्यालयमा उनीहरूले पुस्तकका अक्षर मात्र पढ्दैनन्, त्यहाँ उनीहरूले जीवन पनि सिकिरहेका हुन्छन् । शिक्षकको व्यवहार, अनुशासन, प्रोत्साहन, माया र विश्वासले उनीहरूको व्यक्तित्व निर्माण गरिरहेको हुन्छ । अभिभावकले जीवन दिनुहुन्छ, हुर्काउनुहुन्छ र माया गर्नुहुन्छ । तर जीवनको बाटो कसरी हिँड्ने, सही र गलत कसरी छुट्याउने, आफूभित्रको क्षमता कसरी चिन्ने र समाजमा कसरी उभिने भन्ने सिकाउने महत्त्वपूर्ण व्यक्तिमध्ये शिक्षक पनि हुन् ।
त्यसैले शिक्षकको प्रभाव विद्यालय सकिएपछि पनि सकिँदैन । कहिलेकाहीँ शिक्षकले कक्षामा बोलेको एउटा वाक्यले विद्यार्थीको जीवनको दिशा बदलिदिन्छ । कहिलेकाहीँ शिक्षकले दिएको एउटा अवसरले विद्यार्थीलाई आफ्नो क्षमता चिनाउँछ र कहिलेकाहीँ शिक्षकले गरेको एउटा विश्वासले विद्यार्थीलाई जीवनभर आफूमा विश्वास गर्न सिकाउँछ । गौरी सर हाम्रा लागि त्यस्तै शिक्षक हुनुहुन्थ्यो– जीवनको बाटो देखाउने । उहाँले हामीलाई केवल हिसाब सिकाउनुभएन, जीवनको हिसाब पनि सिकाउनुभयो । उहाँले केवल खेल खेल्न सिकाउनुभएन, जीवनको मैदानमा अगाडि बढ्न सिकाउनुभयो । उहाँले केवल पाठ्यपुस्तकका पाठ पढाउनुभएन, जीवनका पाठ पढाउनुभयो ।