
साँझको ६ बज्नै लाग्दा कला ऐनाअगाडि उभिन्छे । अनुहारमा मेकअप गर्छे, कपाल मिलाउँछे, अत्तर छर्किन्छे र मास्क लगाउँछे । कोठामा केहीबेर उसको सुगन्ध बसिरहन्छ । त्यसपछि ऊ ढोका लगाएर निस्किन्छे ।
सुम्निमा ढोकासम्म पुगेर उसलाई हेर्छे ।
‘आज पनि त्यहीँ ?’
‘अँ ।’
‘कति बजे फर्किनुहुन्छ ?’
कला मुस्कुराउँछे ।
‘घडी हेरेर फर्किने भए त सजिलो हुन्थ्यो नि ।’
त्यति भनेर ऊ तल झर्छे ।
सुम्निमा झ्यालबाट केहीबेर उसलाई हेरिरहन्छे ।
कला उसकी फुपूकी छोरी हो । चार वर्षदेखि काठमाडौंमा छे । पढ्दै छे, काम पनि गर्छे । अनामनगरको एउटा सानो कोठामा बस्छे । अहिले सुम्निमा पनि त्यहीँ छे ।
सुम्निमा इलामको सुदूरपूर्वी गाउँबाट काठमाडौं आएकी हो, उन्नाइस वर्षकी । प्लस टु पास गरेपछि बिबिएस पढ्ने सपना बोकेर सहर पसेकी । शंकरदेव र मीनभवन क्याम्पसमा प्रवेश परीक्षा दिएकी छे । रिजल्ट अर्को साता आउने कुरा छ ।
काठमाडौंमा उसको पहिलो आवश्यकता पढाइभन्दा पनि खुट्टा टेक्ने ठाउँ हो । त्यसका लागि जागिर चाहिएको छ । तर, विरानो सहरमा जागिर खोज्नु सजिलो कहाँ छ र !
सुम्निमाले चिनेका मान्छे धेरै छैनन् । त्यसैले कलाको डेरामा आएर बसेकी छे । कला पनि उसलाई माया गर्छे । धेरै बसेको भनेर कहिल्यै गुनासो गरेकी छैन ।
कला साँझ ६ बजे काममा जान्छे । फर्किंदा रातको १ बज्छ । कहिलेकाहीँ २ । कुनै दिन ३ पनि बज्छ । कहिलेकाहीँ फोन गर्छे,– ‘आज यतै बसेँ है ।’
सुम्निमालाई कलाको काम के हो भन्ने अझै राम्ररी थाहा छैन । ठमेलको विदेशी रेस्टुरेन्टमा काम गर्छु भनेकी छे । झट्ट हेर्दा कलाको जीवन सुम्निमालाई रमाइलो लाग्छ । चिटिक्क परेर गयो । रमाउँदै फर्कियो । कहिलेकाहीँ साथी स्कुटरमा लिन आउँछिन् । राति रेस्टुरेन्टकै भ्यानले कोठामा छाड्छ ।
तर कहिलेकाहीँ ढोका खोल्दा वाइनको गन्ध ह्वास्सै आउँछ ।
‘दिदी, मातेर आएको हो कि क्या हो ?’
कला हाँस्छे ।
‘खासै हैन । एक गिलास मात्र ।’
राति जति ढिलो आए पनि कला कलेज छुटाउँदिन । बिहान कलेज जान्छे, फर्केर केहीबेर आराम गर्छे र फेरि साँझ काममा निस्किन्छे ।
सुम्निमा उसलाई हेरेर कहिलेकाहीँ सोच्छे, काठमाडौंमा बाँच्न सजिलो छैन रहेछ । सधै कुदाकुद ।
सुम्निमा रमाइली छे । गीत गाउन आउँछ । नृत्यमा त गाउँमै कहलिएकी हो । कहिलेकाहीँ कोठामा मोबाइलमा गीत बजाएर नाच्छे ।
‘जिन्दगीमा अरू केही गर्न सकिएन भने पनि नाचेर ज्यान पालिन्छ,’ ऊ भन्छे ।
कला हाँस्छे ।
‘पहिले बिबिएस पढेर बैंकमा जागिर खा ।’
‘त्यो त ठुलो सपना हो नि ।’
‘ठुलो सपना देख्न पैसा लाग्दैन ।’
सुम्निमा चुपचाप मुस्कुराउँछे ।
गाउँमा उसको बाको खुद्रा पसल छ । उनी सानो पसल चलाएर घर धानिरहेका छन् । बाको दुःख सुम्निमाले नजिकबाट देखेकी छे । त्यसैले काठमाडौं आएपछि उसलाई बाबुको पैसा खर्च गरेर बस्न मन छैन ।
ऊ जागिर खोज्न थाल्छे । तर जहाँ गए पनि अनुभव चाहिन्छ । कतै तलब कम हुन्छ । कतै काम मन पर्दैन ।
एक दिन दिक्क भएर उसले कलासँग सोध्छे, ‘दिदी, तपाईंको रेस्टुरेन्टमा जागिर छैन ?’
कला एक्कासि गम्भीर हुन्छे ।
‘तिमी सक्दैनौ ।’
‘तपाईंले सक्ने, मैले नसक्ने कस्तो जागिर हो र ?’
‘सजिलो छैन नानी, रेस्टुरेन्टमा काम गर्न ।’
‘किन ?’
कला केहीबेर मौन रहन्छे ।
‘अनेकथरी मान्छे आउँछन् । कोही हात तान्छन् । कोही सुम्सुम्याउन खोज्छन् ।’
सुम्निमाको आँखा ठुलो हुन्छ ।
‘आबुइ नि ! गाली गर्नुहुन्न ?’
कला हाँस्न खोज्छे, तर हाँसो आउँदैन ।
‘जागिर नै त्यस्तै खाएपछि धेरै कराउन पनि भएन ।’
त्यति भन्दै कला काममा जाने तयारी गर्छे ।
सुम्निमा फेरि सोध्छे, ‘तपाईंलाई डर लाग्दैन ?’
कला केहीबेर उसलाई हेर्छे ।
‘डर त लाग्छ ।’
‘अनि ?’
‘काठमाडौंमा टिक्नुपर्छ ।’ त्यो साँझ कला फेरि अत्तरको गन्ध छोड्दै कोठाबाट निस्किन्छे ।
ठमेलको उसको बार एन्ड डान्स रेस्टुरेन्ट चलेका ठाउँमध्ये पर्छ । झिलमिल बत्ती, ठुलो आवाजमा बज्ने संगीत, मदिराका गिलास र विभिन्न अनुहार । रात परेपछि त्यहाँ अर्कै संसार सुरु हुन्छ । त्यहाँ धेरै कुरा चल्छन् । कलाले भने आफ्ना लागि केही सीमा बाँधेकी छे । ऊ वेटरहरूको लिडर हो । नयाँ केटीहरूलाई सधैं सम्झाउँछे, ‘ग्राहकलाई खुसी बनाउनु भनेको जे गरे पनि सहनु होइन ।’
रेस्टुरेन्ट मालिकले सुरुमै भनेका थिए, ‘नाइनास्ती र झगडा गर्न पाइन्न । यो रात्रिकालीन मनोरञ्जन हो । जाँडले मातेका ग्राहक आउँछन् । संयमतापूर्वक सम्हाल्नुपर्छ ।’ कलाले त्यो कुरा बुझेकी थिई ।
‘मलाई छोयो भने त पड्काइदिने हो,’ उसले एकपटक भनेकी थिई ।
मालिकले हाँस्दै भनेका थिए, ‘त्यसो ग¥यौ भने अर्को दिन नआए पनि हुन्छ । बार एन्ड डान्स भनेकै यस्तै त हो ।’ कलाले त्यो वाक्य बिर्सिन सकेकी छैन ।
ग्राहकसँगै रात बिताउन जानु वा नजानु आफ्नो खुसी हो । तर ग्राहकलाई सहज बनाउनु उसको काम हो । अगाडि हाँसिमजाक गर्ने, सहज ढंगले प्रस्तुत हुने । आफ्नो मर्यादा आफैं जोगाउने ।
‘वाइन खान सिकेको छ कि छैन ?’ मालिकले सोधेका थिए ।
‘छैन नि । चाडबाडमा घरकै बनाएको खाएको छु ।’
‘त्यसो भए वाइन खान सिक्ने । मगाउने, खान मन लागेको खाने, अरू छाड्ने ।’
‘हुक्का तान्न ?’
‘नाइँ ।’
‘त्यो पनि रहर गर्ने । बिल ग्राहकले तिर्छ ।’
‘डान्स गर्न त आउँछ होला ?’
‘अँ, आउँछ ।’
‘पालैपालो सेक्सी डान्स गर्ने । यहाँ आएपछि रमाइलो गर्न जान्नुपर्छ । आफ्नो मर्यादा आफैं म्यानेज गर्ने,’ मालिकले प्रस्टै भनेका थिए ।
कला आफैंले पनि त्यही गरिरहेकी छे ।
नयाँ डान्स बारमा काम सुरु गरेको चार महिना भयो । त्यसअघि अर्को बारमा झन्डै डेढ वर्ष काम गरेकी थिई । त्यहाँका साहुजी निकै किचकिचे थिए । डान्सर र वेटरलाई होटल लैजान आफूखुसी बुकिङ गरिदिँदा रहेछन् । कला हक्की भएकाले आँट गरेका थिएनन् ।
एकदिन करिस्माले नमानेपछि कलाले यो कुरा थाहा पाइन् । यही निहुँमा उनको साहुसँग बाझाबाझ भयो । दुवैले भन्नुनभन्नु भने । झोकैझोकमा उनी चौध महिनाको जागिर छाडेर हिँडिन् । र, नयाँ ठाउँमा आइन् । तर रातहरू बदलिएका थिएनन् ।
एक रात साढे ११ बजेतिर पाँचजनाको एउटा समूह डान्सबार छि¥यो । सबैले वेटरलाई छेउमा राखेर डान्स हेर्न थाले । अर्डर लिन कला पनि पुगिन् । करिब ४० वर्षको एकजनाले उनलाई काखैमा राखौंला जसरी तान्यो । केहीबेरपछि उसको व्यवहार असहज हुन थाल्यो । कलाको स्कटतिर उसको हात बढ्यो । उसको आँखाले पनि छाति ताकिरहेको थियो । कला बुझिहाली ।
‘मेरो डान्सको पालो आयो,’ भन्दै ऊ त्यहाँबाट उठी । १० मिनेटजति काँटा लगा... गीतमा डान्स गरेर फर्किएपछि अर्को टेबलमा गई । त्यहाँ एकजना व्यक्ति लठ्ठिएका थिए । कला बियरको बोतल लिएर गइन् । गिलासमा भरेर टेबलमा राख्ने क्रममा उसले च्याप्प उनको हात समात्यो ।
कला फर्केर हेरिन् ।
हर्क सर ।
‘तँ यहाँ ?’ उनले सोधे । कला पनि झसंग भइन् ।
‘ओहो... हाम्रो अंग्रेजी सर ।’
विद्यालयमा अंग्रेजी पढाउने शिक्षक । गाउँमा हुँदा आदर गर्ने मान्छे । आज उनी ग्राहक भएर त्यहीँ बसेका थिए । कलालाई एकैपटक दुई कुरा नमिठो लाग्यो । एउटा आफ्नो काम । र, अर्को हर्क सरको हर्कत ।
ऊ केही नबोली अर्को डान्सतिर गई । हर्कको पनि आधा नसा उत्रियो सायद । केहीबेर स्टेजतिर अल्मलिएर कला फर्किंदा हर्क र उनका साथीहरू गायब भइसकेका थिए ।
कलाले साथीलाई सोधी, ‘उनीहरू कहाँ गए ?’
साथीले भनिन्, ‘खै के भो रे । खासखुस गर्दै थिए । तिमीसँग बसेको बड्डोले सबैलाई लिएर गयो ।’
त्यो रात कलाको मन निकै भारी भयो । घर फर्किंदा सुम्निमा निदाइसकेकी थिई । उसको छेउमा बिबिएसका किताब थिए । कला किताबतिर हेरिरही । त्यही क्षण उसले निर्णय गरिन्, सुम्निमालाई रेस्टुरेन्टमा जागिर खोजिदिनु हुँदैन ।
करिस्माले छाडेको वेटरको ठाउँ खाली नै छ । त्यो जागिर पाए सुम्निमाको खर्च टर्न सक्छ । डान्स क्लासका लागि पनि केही पैसा बचाउन सकिन्छ । तर कला चाहन्ने । किनभने, सुम्निमा उसकी बहिनी हो । आफूमा जति सहने शक्ति छ, सुम्निमामा त्यति नहुन सक्छ भन्ने कलालाई लाग्छ । त्यसैले ऊ साना नानीहरूलाई ट्युसन पढाउने काम खोजिरहेकी छे । भाटभटेनीमा सेल्स गर्लको काम पनि खोज्दै छे ।
‘पैसा कम भए पनि हुन्छ,’ कला भन्छे, ‘पहिले तिमी सुरक्षित ठाउँमा काम गर ।’
सुम्निमा कहिलेकाहीँ रिसाउँछे । ‘तपाईंले त मलाई बच्चै सम्झनुहुन्छ ।’
कला हाँस्छे ।
‘दिदीका लागि बहिनी सधैं बच्चै हुन्छे ।’
सुम्निमा चुप लाग्छे । उसलाई के थाहा, कलाले हरेक रात के–केसँग लडेर घर फर्किन्छे । कला आफूलाई भाग्यमानी ठान्छे । झन्डै डेढ वर्ष डान्स बारमा काम गर्दा पनि उसले आफ्नो सीमा जोगाएकी छे । आफ्नो इच्छाबिना कसैले मनपरी गर्न सकेको छैन ।
तर त्यसको अर्थ उसको रात सजिला छन् भन्ने होइन । हरेक रात पुरुषका नियतले भरिएका आँखाहरूले उसको शरीर नाप्छन् । कहिलेकाहीँ हातहरू उसको सीमासम्म आइपुग्छन् । हरेकपटक चर्को प्रतिवाद गर्न सम्भव हुँदैन । किनभने कला काठमाडौंमा बाँचिरहेकी छे । बेरोजगारीको डसाइ कहिलेकाहीँ त्यसभन्दा चर्को हुन्छ ।
उसले सुम्निमालाई त्यो डसाइबाट जोगाउन चाहन्छे । एक बिहान सुम्निमा उठ्दा कला चिया बनाइरहेकी थिई । ‘दिदी, राति कति बजे आउनुभयो ?’
‘थाहा छैन ।’
‘तपाईंलाई समय नै थाहा हुँदैन ।’
कला मुस्कुराई ।
‘समय थाहा भएर पनि के गर्नु ?’
‘किन ?’
‘सबैको समय एउटै हुँदैन नि ।’ सुम्निमा उसको कुरा बुझ्न खोज्दै हेरिरही । कला चियाको कप उसको अगाडि राख्दै भनी, ‘तिम्रो रिजल्ट आउँदै छ । पढाइ नछोड्नू । जागिर म खोजिदिन्छु ।’
‘तर दिदी...’
‘केही हुँदैन ।’
‘अनि तपाईं ?’
कला झ्यालतिर फर्किइन् ।
‘म त वेटर कला हुँ ।’
‘त्यो के हो ?’
कला केहीबेर चुप रहिन् ।
‘रातसँग सम्झौता गरेर बिहान जोगाउने मान्छे ।’
सुम्निमा हाँस्न सकिन । कला पनि हाँसिन । बाहिर काठमाडौं उज्यालिँदै थियो । रातभरि थाकेको सहर बिस्तारै उठ्दै थियो । सडकमा गाडी गुड्न थालेका थिए । पसलका सटरहरू खुल्दै थिए । कला भने फेरि साँझको तयारी सोचिरहेकी थिई । अत्तर लगाउने । मास्क लगाउने । झिलमिल बत्तीमुनि उभिने । हाँस्ने । आफ्नो सीमा जोगाउन संघर्ष गर्ने । रात कटाउने । तर अब उसको रात आफ्नो लागि मात्र थिएन । कोठाको अर्को कुनामा बिबिएसका किताब बोकेर बसेकी सुम्निमाको भविष्य पनि उसैसँग जोडिएको थियो । किनभने, कला दिदी थिई ।
त्यसैले उसको सबैभन्दा ठुलो कमाइ २० हजारको तलब थिएन । बहिनीको सपना सुरक्षित राख्न सकेको एउटा रात थियो । र त्यो सपना, कुनै दिन बैंकको काउन्टरमा उभिने सुम्निमा कलाका लागि हरेक रातको झिलमिल बत्तीभन्दा उज्यालो थियो ।
(हाल : भैरहवा)