
काठमाडौं : गत १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुर्यायो । बाढीको मूल कारण उच्च हिमाली क्षेत्रमा खसेको हिम–चट्टान पहिरो रहेको पुष्टि भएको छ । बाढीपछि नेपाल–चीन सीमाभन्दा माथिल्लो जलाधारमा दुईवटा नयाँ अस्थायी हिमतालसमेत बनेका छन् ।
जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आइतबार भोटेकोशी बाढीबारे मूल्याकंन प्रतिवेदन–२ सार्वजनिक गर्दै नयाँ हिमतालको खुलासा गरेको हो । अध्ययनअनुसार ल्हेन्दे खोला–भोटेकोशीमा आएको बाढी आकस्मिक र अत्यन्त तीव्र गतिको थियो । यसको मुख्य स्रोत नेपाल–चीन सीमाभन्दा करिब २२ किलोमिटर माथि उपल्लो ल्हेन्दे खोला जलाधारमा रहेको पाइएको छ ।
लाङटाङ लिरुङ हिमालको उत्तरी ढलानीमा करिब ५ हजार २ सय मिटर उचाइमा रहेको करिब २ वर्गकिलोमिटर क्षेत्रको झुन्डिएको हिमनदी र चट्टान फुटेर खसेको थियो । त्यसबाट हिउँ, चट्टान र गेग्रान ठुलो परिमाणमा तल झरेपछि बाढी आएको अध्ययनले देखाएको छ ।
बाढी सुरु हुँदा बिहान ८ः३७ बजे ५.२ म्याग्निच्युडबराबरको भूकम्प संकेत रेकर्ड भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त संकेत भूकम्प नभई हिम–पहिरो र गेग्रानको तीव्र बहावले उत्पन्न गरेको कम्पन भएको पुष्टि गरेको प्रतिवेदनमा उल्लेख छ ।
बाढीपछि उपल्लो जलाधारमा दुई नयाँ अस्थायी प्राकृतिक बाँध तथा हिमताल बनेका छन् । ल्यान्डस्याट–९, प्लानेट ल्याब्स र कार्टोसाट–३ का भूउपग्रह तस्बिर विश्लेषणबाट यी ताल पहिचान गरिएको हो ।
पहिलो ताल ल्हेन्दे र लिरुङ खोलाको दोभाननजिक बनेको छ । रसुवागढी सीमाभन्दा करिब १५ किलोमिटरमाथि रहेको यो तालको क्षेत्रफल १ लाख ६० हजार वर्गमिटर छ । यसको माथिल्लो भागबाट पानी प्राकृतिक रूपमा बग्न थालेकाले जोखिम क्रमशः घटिरहेको प्रतिवेदनले जनाएको छ । ‘बाढीपछि बनेका नयाँ हिमतालबाट पानी बगिरहेकाले तुलनात्मक रूपमा धेरै खतरा छैन,’ केन्द्रका सूचना अधिकारीसमेत रहेका जलविद् दिनकर कायस्थले मध्यान्हसँग भने, ‘जोखिम छँदै छैन भन्न सकिन्न । तर, पूरै नथुनिएकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’
उनका अनुसार, चीनको सीमावर्ती क्षेत्रको निगरानीमा नेपालको पहुँच छैन । प्राविधिक टोली खटाएरै दुई साता निरन्तर निगरानीपछि चिनियाँ पक्षले जोखिम घटेको सन्देश नेपाललाई पठाएको छ ।
दोस्रो ताल हिमनदी फुटेको मूल क्षेत्रनजिक बनेको छ । सीमाभन्दा करिब २१ किलोमिटर माथि बनेको यो तालको क्षेत्रफल १ लाख ८० हजार वर्गमिटर छ । १३ भदौमा ताल भरिएर ओभर फ्लो हुँदा तल्लो भोटेकोशी र त्रिशूली क्षेत्रमा दोस्रोपटक जलसतह बढेको थियो । यही कारण यस तालबाट मध्यम बाढीको जोखिम रहेको प्रतिवेदनले औंल्याएको छ ।
तालको अवस्था निरन्तर निगरानीमा राख्न र पूर्वसूचना प्रणाली बलियो बनाउन केन्द्रले सुझाव दिएको छ । तापक्रम वृद्धि, पर्माफ्रोस्ट पग्लिनु र भिरालो भूभागको अस्थिरताका कारण जोखिम बढ्न सक्ने भएकाले हिमताल तथा हिमनदीको निगरानी, रियल–टाइम टेलिमेट्री र प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक रहेको अध्ययनले देखाएको छ ।
२० किलोमिटर सात मिनेटमै
बाढीको वेग अत्यन्त तीव्र थियो । उद्गमस्थलबाट रसुवागढी सीमासम्मको करिब २० किलोमिटर दूरी बाढीले ७ देखि ८ मिनेटमै पार गरेको थियो । उपल्लो क्षेत्रमा बाढीको गति करिब ८८ किलोमिटर प्रतिघण्टा पुगेको अध्ययनले देखाएको छ ।
बाढीले रसुवागढी, स्याफ्रुबेसी, बेत्रावती र मलेखुका स्वचालित जलमापन केन्द्र ध्वस्त बनायो । बाढी दिउँसो ४ बजे देवघाट जल मापन केन्द्र पुग्दा जल सतह ६.५७ मिटर पुगेको थियो । त्यहाँ सामान्य अवस्थाभन्दा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको अध्ययनले देखाएको छ ।
सिसिटिभीबाट २४ घण्टा निगरानी
यस्ता बाढीको जोखिम वर्षामा आधारित परम्परागत प्रणालीबाट मात्र पहिचान गर्न कठिन हुने अध्ययनको निष्कर्ष छ । त्यसैले नदीको अवस्था प्रत्यक्ष हेर्न नेपालमै पहिलोपटक सिसिटिभी प्रविधि प्रयोगमा ल्याइएको छ ।
चीन सीमानजिकैको टिमुरेमा नदीको सतहबाट ७० मिटर उचाइमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । त्यसबाट नदीको अवस्था २४सै घण्टा प्रत्यक्ष अनुगमन भइरहेको छ । ‘रातिको दृश्यमा भिजिबिलिटी कम छ । तर, दिउँसो प्रस्टैसँग पानीको बहाव देखिन्छ,’ जलविद् कायस्थ भन्छन्, ‘त्यसैले ठुला बाढीका लागि उपयोगी हुने विश्वास छ ।’
विपत्तिपछि टेलिकम सेवा प्रदायकमार्फत तटीय क्षेत्रका ६ लाख ७८ हजारभन्दा बढी नागरिकलाई मोबाइल एसएमएसमार्फत सतर्क गराइएको प्रतिवेदनमा उल्लेख छ ।
चार हिमतालको सतह घटाइँदै
सरकारले नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ । झन्डै ५० मिलियन अमेरिकी डलर लाग्ने यो कामका लागि ‘जिएलओएफ सञ्जीवनी परियोजना’अन्तर्गत हरित जलवायु कोष (जिसिएफ)ले ३६.१६ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । परियोजनामा थप १३.७८ मिलियन अमेरिकी डलर सहलगानी जुटाइनेछ ।
सातवर्षे परियोजना पाँच महिनाअघि २८ फागुनबाट काम सुरु भएको हो । कोशी र गण्डकी बेसिनका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाइनेछ । संखुुवासभाको तल्लो वरुण र सोलुखुम्बुको लुम्दिङ–च्छो हिमतालको पानीको सतह तीन–तीन मिटर तथा सोलुखुम्बुको होङ्गुु–२ को एक मिटर सतह घटाउने योजना छ । मनाङको दोना ठुलागी हिमतालको पानीको सतह पनि तीन मिटर घटाउने योजना रहेको छ ।
परियोजनाअन्तर्गत हिमताल तथा जलाधार क्षेत्रमा जोखिम न्यूनीकरणका संरचना निर्माण, वृक्षरोपण र जैविक इन्जिनियरिङका कामसमेत गरिनेछ । स्वचालित मौसम केन्द्र, पानीको सतह मापन गर्ने सेन्सर, रडार तथा साइरन टावर स्थापना गरी पूर्वसूचना प्रणाली विस्तार गर्ने लक्ष्य छ । नेपाल, चीन र भारतमा ४७ सम्भावित खतरनाक हिमताल पहिचान गरिएका छन् । तीमध्ये चीनमा २५, नेपालमा २१ र भारतमा एउटा छन् । तत्काल उच्च जोखिममा रहेका चार हिमताललाई परियोजनाले प्राथमिकतामा राखेको छ ।
च्छो–रोल्पाले दिएको सन्देश
दोलखाको रोल्वालिङ उपत्यकामा करिब ४,५५० मिटर उचाइमा रहेको च्छो–रोल्पा हिमताल लामो समयदेखि जोखिमयुक्त मानिँदै आएको थियो । सन् १९९९/२००० तिर तालमा करिब ९–१० करोड घनमिटर पानी जम्मा भएको अनुमान थियो । करिब १५० मिटर अग्लो प्राकृतिक मोरेन बाँधले ताल थामेको थियो । यसले तल्लो क्षेत्रका बस्तीहरू उच्च जोखिममा परे ।
जोखिम घटाउन सन् २००० मा तालको पानीको सतह करिब तीन मिटर घटाउने गरी निकास मार्ग बनाइयो । सम्भावित बाढीको सूचना तल्लो क्षेत्रसम्म पुर्याउन पूर्वसूचना प्रणाली पनि स्थापना गरियो । तर जोखिम पूर्ण रूपमा हटेको छैन । ताल अझै विस्तार भइरहेको छ । वरपर चट्टान खस्ने र पहिरो जाने क्रम पनि जारी छ । सन् २०१९ सम्म तालको क्षेत्रफल करिब १.६ वर्ग किलोमिटर पुगेको अध्ययनले देखाएको छ ।
च्छो–रोल्पाले दिएको मुख्य पाठ हो, हिमतालको जोखिम न्यूनीकरण एकपटक गरेर सकिँदैन । हिमनदी, ताल र आसपासको भूभाग निरन्तर बदलिरहने भएकाले अनुगमन र पूर्वतयारी पनि निरन्तर हुनुपर्छ ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन थालेपछि जोखिम न्यूनीकरणका उपायबारे बहस सुरु भएको छ । अस्ट्रेलियामा कार्यरत वातावरण वैज्ञानिक डा.रोहिणी देवकोटाले तीन प्राथमिकता औंल्याएका छन् । पहिलो, हिमताल, हिमनदी, हिमपहिरो, चट्टान खस्ने क्षेत्र, स्थायी रूपमा जमेको जमिन र सम्भावित खोला थुनिने स्थान समेटिएको राष्ट्रिय हिमाली जोखिम नक्सा तयार गर्नुपर्छ ।
दोस्रो, हिमाली क्षेत्रमा चौबीसै घण्टा सञ्चालन हुने तत्कालीन निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ । भू–उपग्रह, वर्षा, नदीको जलस्तर, हिमनदीको गति, जमिनको चाल र तापक्रमसम्बन्धी सूचना एउटै प्रणालीमा जोडिनुपर्छ ।
तेस्रो, नेपाल–चीन सीमापार नदी प्रणालीमा तत्काल सूचना आदानप्रदानको भरपर्दो संयन्त्र आवश्यक छ । माथिल्लो तिब्बतमा हुने हिमनदी, हिमताल वा पहाडी भूभागसम्बन्धी ठुलो परिवर्तनको सूचना नेपालमा समयमै पुग्न सके मात्र तल्लो तटीय क्षेत्रमा पूर्वतयारी सम्भव हुन्छ । ‘भोटेकोशीको सन्देश स्पष्ट छ । हिमाली बाढीको जोखिम अब हिमतालमा मात्र सीमित छैन’ उनले मध्यान्हसँग भने, ‘बरफ, चट्टान, स्थायी रूपमा जमेको जमिन र पानीबीचको अन्तरक्रियाले केही मिनेटमै विनाशकारी अवस्था सिर्जना गर्न सक्छ ।’
आठ घण्टाको बाढी यात्रा
- बिहान ८ः३७ बजे उद्गम क्षेत्रमा हिम–पहिरोसँग सम्बन्धित ५.२ म्याग्निच्युडबराबरको कम्पन रेकर्ड भयो ।
- ८ः४० बजे बाढी रसुवागढी सीमामा आइपुग्यो । त्यहाँको जलमापन केन्द्र बगायो । अन्तिम जलसतह ३.८ मिटर मापन भएको थियो ।
- ८ः५० बजे स्याफ्रुबेसी पुग्दा जलमापन केन्द्र ध्वस्त भयो । अन्तिम जलसतह १.६२ मिटर थियो ।
- बिहान ९ः०५ बजे जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान शाखाले संकटकालीन चेतावनी जारी गरे । त्यसपछि ६ जिल्लामा एसएमएस अलर्ट पठाइयो ।
- ९ः२० बजे बेत्रावतीको जलमापन केन्द्र पनि ध्वस्त भयो ।
- बिहान ११ः४३ बजे मलेखुको फुर्केमा बाढी खतराको विन्दु नाघ्यो । त्यसक्रममा जलमापन केन्द्र र पुल बगायो ।
- बेलुका ४ बजे देवघाटमा जलसतह ६.५७ मिटर पुग्यो । त्यहाँ सामान्य अवस्थाभन्दा करिब २ करोड घनमिटर अतिरिक्त पानी पुगेको थियो ।