काठमाडौं : ईस्लाम धर्मावलम्वीहरुको महान चाड ईद अल अधाका कारण आगामी केही दिन नेपाली कामदार जाने खाडीका विभिन्न देशहरुमा करिब एक हप्ता लामो बिदा हुने भएको छ । कतार सरकारले ईदका अवसरमा सरकारी कार्यालयमा ५ तथा निजी क्षेत्रमा तीन दिनको बिदाको घोषणा गरेको हो । आगामी अगस्ट ११ तारेख आइतबारदेखि शुरु हुने ईद अल अधा अगस्ट १५ तारेख बिहीबारसम्म मनाइँदै छ ।
विदेशी कामदारहरुले पनि कम्तीमा तीन दिन तलब सहितको बिदा पाउने छन् । अनिवार्य सेवाका भएपनि ईदको पहिलो दिन विदेशी कामदारहरुले अनिवार्य बिदा पाउने छन् भने बाँकी दुईदिन काम गर्नुपर्ने भएमा ओभरटाईम पाउने छन् । कतारमा ईदको दोस्रो दिन अगस्ट १३ तारेख सोमबार नेपथ्य समुहले वृहत साँस्कृतिक कार्यक्रम राखेको छ । कतारस्थित नेपाली दूतावासले अगस्ट ११ र १२ तारेख कार्यालय बन्द रहने बताएको छ ।
उता अर्को मुस्लिम बाहुल्य खाडी मुलुक साउदी अरेबीयास्थीत नेपाली दूतावासले ईदको समयमा सतर्क रहन नेपाली कामदारसहित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै ईदमा लामो छुट्टी हुने भएकाले मद्यपान गरी झगडा नगर्न तथा उक्त समयलाई खेलकुद, भेटघाट तथा रमाइलो गरी तनाबबाट मुक्त रहन आग्रह गरेको छ ।
दूतावासले सो समयमा एकठाउँमा भेला भई घरेलु मदिरा सेवन गर्ने, अत्यधिक धुम्रपान तथा लागूपदार्थ र वर्जित खाद्यपदार्थ खाने गरेको अभियोगमा विगतमा ठूलो संख्यामा कामदार कारबाहीमा परेको भन्दै यसमा सचेत गराएको हो । यसरी कानूनी झन्झटमा फसेकाहरुको मुद्दा किनारा लगाउन दूतावासको ठूलो धनराशी खर्च हुने तथा लामो समय लाग्ने तर्फ पनि दूतावासले सचेत गराएको छ ।
धेरै खानेकुरा खाँदा खाद्यपदार्थ तथा खाद्य शैली नमिलाउँदा फुड पोईजन भएर ज्यानै जानेसम्मका घटना हुने गरेको र माछामासु र दुधदही जस्ता प्रोटिन र मोटोपन ल्याउने खानेकुरा एकैपटक नखान पनि दूतावासले आग्रह गरेको छ । ‘अकामा’ नभएका व्यक्तिलाई सँगै गाडीमा नराख्न, खुला ठाउँमा भेला हुँदा साउदी अरवका कानूनले वर्जित गरेका काम नगर्न र सुरक्षा सम्बन्धी विषयमा जानकार रहन पनि आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies