काठमाडौं : दक्षिण कोरिया सरकारले सन् २०२० बाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि जाने विदेशी कामदारका हकमा अनिवार्य सीप परीक्षण गरेर मात्र लैजाने भएको छ । भाषामात्र पास भएर आएका विदेशी श्रमिकमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम अनपेक्षित रुपमा बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लैजाने लक्ष्य लिएको हो ।
हाल नेपालबाट सामान्यदेखि स्नातक र स्नातकोत्तर पास गरेका युवाहरु ईपीएस मार्फत धेरै जाने गरेका छन् । तर प्राविधिक सीप नहुँदा कोरिया गएपछि उनीहरु डिप्रेसनको सिकार हुने गरेका छन् ।
कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नयाँ नीतिले भने डिप्रेशन र अत्माहत्याको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । कोरियाको यस नयाँ नियमले कोरियन भाषा पास गरेर त्यहाँ रोजगारीका लागि जान प्रतिक्षारत ५० प्रतिशत श्रमिक प्रभावित हुने अनुमान गरिएको छ । नेपालबाहेक अन्य ३ देशबाट कोरिया सरकारले भाषा मात्र पास गरेका कामदार लिँदै आएको कोरियाले १४ वटा देशबाट रोजगारका लागि श्रमिक आपूर्ति गदै आएको छ ।
कोरीयाले नेपालसहित इन्डोनेशिया, कम्बोडिया र चीनबाट भाषाका आधारमा कामदार लिँदै आएको छ । सन् २०२० को कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए । जसमा १२ हजार ९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । तीमध्ये ६ हजार ७ सय जनासम्म छनोट गरिने भएको छ । उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना एचआरडीको रहेको छ ।
ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् ।
हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तथ्यांकमा छ । भाषा परीक्षामार्फत करिब ६० हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान शुरु गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies