कुनै बेला विद्युत प्राधिकरण नोक्सानमा मात्रै थिएन, लोडसेडिङको मारले देशकै बद्नाम भएको थियो भने ठूलो आर्थिक क्षति समेत पुगेको थियो । विजुलीजस्तो आधारभूत आवश्यकताको अभावमा देशको आर्थिक र सामाजिक सूचक समेत धकेलिएको थियो । तर, केही वर्षयता देश लोडसेडिङमुक्त मात्रै बनेको छैन । विद्युत प्राधिकरण नाफामा जाने र भारततर्फ विजुली बैंकमा पठाउने समेत अवस्था बनिसकेको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०७५-७६ मा ७ अर्ब २० करोड खुद नाफा आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएको हो । विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल भएको हो । आव ०७२-७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकर तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा बढ्दै गएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । उनले विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा प्राधिकरणको राम्रो प्रगति भएको बताए ।
‘सरोकारवालासँगको व्यापक छलफलपछि नयाँ ऐनमार्फत प्राधिकरणलाई अझै प्रतिश्पर्धी संस्थाको रुपमा अगाडि बढाउने छौं’मन्त्री पुनले भने । ‘एक वर्षभित्र प्रणालीमा थपिने एक हजार मेगावाट विद्युत खपत गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ, ऊर्जाका पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता अन्य स्रोतलाई विस्थापित गर्ने लगायतका योजनाका साथ त्यो एक हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्ने वातावरण बनाउँदैछौं ।’
यसका लागि मुलुकभर विद्युतीय गाडी संचालनका लागि चार्जिङ स्टेसनको स्थापना गर्न मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको, घरघरमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका नीति सरकारको रहेको मन्त्री पुनले बताए । उनले थपे, ‘नेपालगंज, भैरहवाजस्ता औद्योगिक नगरमा तत्काल २ सय मेगावाटभन्दा बढी विद्युत्को माग छ तर वितरण प्रणालीको संरचनागत समस्याका कारण दिन सकिरहेका छैनौ, खपत बढाउने र उत्पादन बचत भयो भने भारतीय तथा क्षेत्रीय विद्युत बजारमा सजिलै पढाउन सक्छौं र पढाइरहेका पनि छौं ।’ यसको अर्थ र सन्देश हो, घाटामा गइरहेको अन्य संस्थानहरुले पनि विद्युत प्राधिकरण अनुशरण आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies