स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा भइसकेको छ । निर्वाचनअघि दलहरुले अब सिंहदरवारको अधिकार गाउँ गाउँमा पुग्ने भन्दै भाषण पनि गरेका थिए । तर एक वर्ष बितिसक्दा पनि दलहरुको त्यो बोली व्यहारमा लागू भएको देखिँदैन ।
जनप्रतिनिधि आएपछि पहिलो वर्ष अनुभव नभएपनि दोस्रो वर्ष लाग्दा पनि समयमै बजेट ल्याउन नसकेर स्थानीय सरकार कानुनका अगाडि निरीह बनेका छन् । असार १० मा बजेट पेस गर्नुपर्ने कानुनी प्रावधानलाई एक सय ३४ निकाय र तहले उल्लंघन गरे । मेयर र उपमेयरको राजनीतिक विवाद र नगरसभा तथा गाउँसभामा बहुमत नपुग्दा बजेट पेस गर्न सकस पर्यो । जम्मा ६ सय १९ स्थानीय तहले मात्रै समयमै बजेट ल्याए । समयमा बजेट ल्याउन नसक्नुको मुख्य कारण भने वडासम्म भागबन्डा नमिल्नु र कतिपय तहमा कर्मचारीसमेत नहुनु हो ।
समयमा बजेट नल्याएपछि खर्च गर्ने अधिकार स्थानीय निकायलाई पनि हुँदैन । पेस्की बजेट ल्याएर तीन महिना चलाउने अधिकार हुन्छ, तर विकास कार्य अगाडि बढ्न सक्दैन । समयमै बजेट पेस नगर्दा विकास निर्माण ठप्प छ । राजस्व पनि गुमेको छ । तहले सानातिना काममा खर्च गरे पनि बेरुजु बढ्ने खतरा बढेको छ । गाउँसभा र नगरसभा छलेर काम गर्ने प्रवृत्ति बेथितिको कारक बन्दै गएको छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफामा प्रत्येक वर्ष असार १० मा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने स्पष्ट व्यवस्था छ । सोही ऐनको दफा २७ मा सरकार, प्रदेश र स्थानीय तहले सञ्चित कोषमा व्ययभार हुने बाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरी सम्बन्धित व्यवस्थापिकाबाट बजेट पास भएपछि मात्र खर्च गर्नुपर्ने कानुनी प्रावधान छ । तहलाई केन्द्र सरकारले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट दिन्छ । प्रत्येक वर्ष तहमा जाने अनुदानवापतको रकम वृद्धि भइरहेको छ ।
विकास र सेवा प्रवाह जनताको अपेक्षा हो, त्यो छायामा छ । नियम पालना नगर्ने प्रवृत्तिले उनीहरू आफैंले प्राप्त गरेका पैसासमेत खर्च कानुनी बन्धन हुन्छ । केन्द्र सरकारले बजेट नल्याउने तहको अनुदान नै रोक्का गर्ने भनिसकेको छ ।
तहले एक त समयमा बजेट ल्याउन नसक्दा विकास निर्माणका कार्यले गति लिन सकेको छैन । यस्तो हेपाहा र मिचाहा प्रवृत्ति कायम रहेमा संघीयता संकटमा पर्न सक्छ । समयमा बजेट ल्याउने र आर्थिक अनुशासन पालना गर्नु जनप्रतिनिधिको दायित्व हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies