काठमाडौं : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाले व्यवसायी हरि भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिबार सम्पन्न संघको छैटौं अधिवेशनले निर्विरोध रुपमा व्यवसायी भट्टराईको अध्यक्षतामा कार्यसमितिको चयन गरेको हो । व्यवसायी भट्टराई करिब दुई दशक देखि मलेसियामा व्यवसाय गरिरहेका छन् । धेरैले उनलाई मलेसियामा नेपालीका अभिभावकका रुपमा समेत मान्ने गर्दछन् ।
संघको बरिष्ठ उपाध्यक्षमा सुन्दर आले, उपाध्यक्षमा ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिङ्गदेन, महासचिवमा हेमराज सापकोटा, सचिवमा रञ्जित छेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा रबिलाल अधिकारी चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरुमा गोविन्द साउद, दिलकुमार केरुङ, मछिन्द्र नाथ चापागाई, ईन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, पासाङ लामा, अनिल कुमार चौधरी, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, विनोदबहादुर थापा, सन्तोष प्रकाश रिजाल, इन्द्र बहादुर कुंवर, सन्तोष कार्की, केशवकान्त झा, अरुण गिरी, विनोद पाण्डे, माधवप्रसाद भुसाल, बिमलकुमार राना र योगेन्द्र कोइराला सर्वसम्मतिले चयन भएका छन् । अधिवेशनले महेन्द्र जंग शाह र टेक बहादुर टमोटालाई आईसीसी सदस्यमा चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले आफुसहितको सींगो कार्यसमितिलाई सर्वसम्मत चयन गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै अग्रजहरुको सल्लाह र मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुको भावना अनुरुप आफु अघि बढने बताए । निवर्तमान अध्यक्ष खगेन्द्र भट्राईलगायतले कार्यसमितिको निर्वाचन निर्विरोध गर्न भूमिका खेलेका थिए ।
मलेसियामा रहेका नेपाली कामदारहरुको हक, अधिकार र पहिचान स्थापित गरी समस्यामा परेकाहरुको समस्या समाधानमा आफु सदैव प्रतिबद्ध भएर लाग्ने भट्राईको भनाइ छ । मलेसियामा कार्यरत श्रमिकलाई समस्यामा परे वा नेपाल फर्किनुपर्ने अवस्था आए उनीहरुलाई आर्थिक सहायता प्रदान गर्न श्रमिक कल्याणकारी कोष स्थापना गर्ने बताउदै भट्टराइले उक्त कोषमा व्यक्तिगत रुपमा ५० हजार रिंगेट करीव १४ लाख रुपैयाँ हालेर कोषको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचित हुनु अघि क्वालालाम्पुरमा पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका भट्टराईले एनआरएनए एनसीसी मलेसियालाई अझ मजबुद बनाउदै आफ्नै कार्यालय स्थापनादेखि संगठन विस्तार गर्दै आईसीसीसँगको समन्वयलाई अझै प्रभावकारी बनाएर लैजाने बताए । पाँच लाख बढी नेपाली कामदार रहेको मलेसियाको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा ३ हजार सदस्य छन् । गैरआवासीय नेपाली संघको आगामी सम्मेलनमा मलेसियाबाट १ सय ४० प्रतिनिधिले भाग लिने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies