प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सभामुख कृष्णबहादुर महराले शून्य समयको शेसन शुरु गरे । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले विभिन्न समस्या राखे । सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले राजनीतिकदेखि स्थानीय जनताका आवात समस्या समेत पेश गरे । सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयका क्रममा सभामुख महराले ओखलढुंगाका सांसद यज्ञराज सुनुवारलाई समय दिए । सांसद सुनुवारले पाएको एक मिनेटमा दुई वटा प्रशंग उठाए । दोस्रो प्रशंग थियो, पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दोष उम्कन नपाउनेगरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । अनुसन्धान प्रक्रिया प्रभावित पार्नेगरी भइरहेको गतिविधि रोक्न सांसद सुनुवारले जोडदार माग गरे । तर, सांसद सुनुवारको पहिलो विषयमा भने धेरैले मनमनै हाँसे । केहीले त उडाए नै । हुन पनि सांसद सुनुवारले देशको प्रमुख समस्या बाँदर भएको संसदमा बताएका थिए ।
सांसद सुनुवारले भनेका थिए– “सभामुख महोदय, नेपालीहरु कहिले द्वन्द्व पीडित, कहिले भूकम्प पीडित र कहिले बाढीपहिरो पीडित भइरहेका छन् । यति देशभरका किसानहरु बाँदर पीडित भइरहेका छन् ।” उनले बाँदर समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । संसद बैठकपछि सांसद सुनुवारले सञ्चारकर्मीहरुका साथ भने, “मान्छेहरूले बाँदरले समृद्धि रोक्छ भन्यो भने हाँस्छन् । तर, किसानहरुको मूख्य समस्या बाँदर बनेको छ ।” बारीका अन्नबाली मात्रै होइन, घरभित्रै बाँदर छिर्न थालेकाले संसदमा बोल्न बाध्य भएको सांसद सुनुवारले बताए । अगाडि बढेर उनले समृद्ध नेपाल निर्माण गर्न कृषि क्षेत्र महत्वपूर्ण छ, बाँदरको बिगबिगी रहेसम्म कृषि क्षेत्र तहसनहस नै बनाएका थिए ।
०७१ को प्रशंग सुनाउँदै सुनुवारले सम्झाए– “वामदेव गौतम गृहमन्त्री हुँदा ओखलढुंगा जानुभएको थियो । तीन सय बढी किसानले गृहमन्त्रीलाई घेरेर आफ्नो मर्का सुनाएका थिए ।” तत्कालीन गृहमन्त्रीलाई एक महिलाले त ज्वाइँलाई राखिदिएको कुरौनी नै घरभित्र बाँदर छिरेर खाइदिएको पीडा सुनाएकी थिइन् ।
झट्ट सुन्दा सांसद सुनुवारले उठाएका समस्या हाँसो उठ्दो लाग्न सक्छ । तर, पहाडी भूभागका जनताको प्रमुख समस्या बाँदर नै बनेको छ । बाँदरले खेतबारी नै बाँझो बन्दै गएको तथ्य ठूलो छ । यसर्थ, जनताको आवाज सुनिनुपर्ने ठाउँमा ढिलै भएपनि आवाज उठेको छ । सरकारले यसबारे यथोचित र आवश्यक महत्व दिन ढिलाइ गर्नुहुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies