सौरभ यादव/मध्यान्ह
राजविराज : बाढीमा भत्किएको विसनपुर–बोदे बरसाईन सडक खण्ड मर्मत नहँुदा यात्रुहरु सास्ती झेल्न बाध्य भएका छन् । असारको अन्तिम साता आएको भिषण वर्षा र बाढीले खडक नगरपालिका–८ विसनपुरस्थित सडक कटान गरेपछि यातायात समेत अवरुद्घ भएको हो ।
बाढीले करिब २० मिटर सडक बगाएपछि मानराजा–बोदे बरसाईन–विसनपुर सडकमा सीधा सवारी यातायात अबरुद्ध भएको बोदे बरसाईन नगरपालिका–३ का सारस्वरका इनरदेव यादवले बताए ।
उनका अनुसार वर्षाैपछि सडकमा कालोपत्रेको काम सकिएर आफुहरुलाई सदरमुकामसम्म आउजाउ गर्न सहज भएको थियो । तर ‘एक महिना नहुँदै बाढीले सडक कटान गरेपछि हामीहरुलाई आवागमनमा समस्या भएको छ ।’
उनले सडक अवरुद्ध हुँदा अहिले सदरमुकाम पुग्न दुईवटा सवारी प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । सोही ठाउँका यदुनन्दन रामले कटान भएको सडकको पुनः निर्माण कार्यलाई तिव्रता दिनुपर्ने माग गरे ।
भर्खरै निर्माण सकिएको सडक कटान भएपछि एक दर्जनभन्दा बढी गाउँका सर्वसाधारणलाई सास्ती भईरहेको छ । उनले भने ‘सर्वसाधारणलाई भईरहेको समस्याप्रति सम्वन्धित निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरुरी छ ।’
भारतीय सीमा क्षेत्र स्वर्णपट्टिदेखि १७ दशमलव २८ किलोमिटरको उक्त सडक पूर्वपश्चिम राजमार्गसम्म जोडिएको छ । राजमार्गदेखि करिब एक सय मिटरकै दुरीमा सडक कटान हुँदा दुईपांग्रे बाहेकका सवारी साधन चल्न सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies