काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । मेलम्चीमा बाँकी रहेको हेडबक्स र सुरुङ फिनिसिङको दुईवटा काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाइहिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । मेलम्ची विकास समितिले दुवै कामको जिम्मा सिनो हाइड्रोलाई दिएको हो ।
सिनो हाइड्रोलाई सम्झौताका लागि २८ दिनभित्र आउन समितिले पत्र लेख्ने तयारी पनि गरेको छ । सिनो हाइड्रोलाई हेडबक्स र सुरुङ फिनिसिङ दुवै कामको जिम्मा दिइने भएको हो । हेडबक्सका लागि एक अर्ब २४ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसका लागि सिनो हाइड्रोले करिब २८ प्रतिशत घटेर प्रस्ताव हालेको थियो ।
यस्तै, सुरुङ फिनिसिङका लागि ९५ करोड रुपैयाँको टेन्डर आह्वान गरेकोमा कम्पनीले करिब १५ प्रतिशत घटेर प्रस्ताव हालेको थियो । हेडबक्सको काम १५ महिना र सुरुङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी टेन्डर आह्वान छ । इटालियन कम्पनी सिएमसी दी राभेनाले काम छोडेर गएपछि गत जेठमा मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो ।
एक महिनाभित्र सबै प्रक्रिया पूरा गरेर काम अघि बढाइने मेलम्ची विकास समितिको भनाइ छ । बाँकी काम सक्ने म्याद १५ महिना राखेर ठेक्का लगाइएको छ । यो ठेक्काअनुसार चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारको घोषणा पूरा नहुने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies