काठमाडौं : नक्कली भिसा छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विगतमा मेजुकी जापानिज ल्यांग्वेज ईन्सिच्युटका संचालक काठमाडौं नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय बिनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने काठमाडौं महानगरपालिका–१५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामा रहेका छन् ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नाम सहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको नामको रबर छापहरू ३९ थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्र समेत बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies