भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी समेत विषयले प्रतिनिधिसभा मंगलबारको बैठकमा प्रवेश पायो । यति धेरै विषयहरु संसदमा प्रवेश गरे कि समाचारको शीर्षक नै धेरै वटा बन्न पुगे । शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन् । सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधान विपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नुस् भनेर चिच्याइरहेको जस्तो देखिने बताए ।
सांसद सानु सिवाले नेपाल भ्रमण वर्ष नजिक आइसक्दा समेत नेपालको ठूलो पर्यटनको सम्भावना बोकेको इलाममा विमानस्थल किन सञ्चालन गरिएन भन्ने प्रश्न उठाइन् । सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको उपहास गर्ने ढङ्गबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । अर्का सांसद हीरा गुरुङले लोकसेवा आयोगको विज्ञापनसँग जोडेर संविधानले आरक्षण गरेको विषयलाई संवैधानिक अङ्गबाटै किन बेवास्ता गरिएकोप्रति आपत्ति जनाइन् ।
यी त प्रतिनिधिमुलक अभिव्यक्ति मात्रै हुन् । मंगलबार दिउँसो १ बजेबाट शुरु भएको बैठकमा झण्डै दुई घण्टासम्म त सांसदहरुले आफ्नो धारणा राखिरहे । त्यसमाथि विधेयक प्रस्तुत, छलफल, मन्त्रीको जवाफ अनि फेरि प्रश्न । झट्ट सुन्दा लाग्छ, संसदमा सांसदहरुको सक्रियता गज्जब छ । तर, जब संसद भवनको दृष्य देखिन्छ त्यसपछि भने जोकी झस्कन्छन् । किनभने, संघीय संसद बैठकका अधिकांश कुर्सी खाली हुन्छन् । यतिसम्म कि विधेयक पारित भएर कानून बन्ने पक्रियामा समेत विधायिकाहरु संसद भवनभित्र हुँदैनन् ।
बस्, सांसद संसद भवन दुई उद्देश्यका लागि मात्रै छिरेका हुन्छन् । पहिलो भत्ताका लागि अनि दोस्रो आफ्नो कुरा राख्नका लागि मात्रै । आफ्नो बोल्ने कुरा छैन भने सांसदहरुलाई अरुको कुरा सुन्ने कुनै मन छैन । त्यसैले बैठकस्थल पुरापर खाली हुन्छन् । त्यसैले फेरि पनि प्रश्न उठ्छ– आखिर कहाँ जान्छन्, माननीयहरु । अनि प्रश्न उठ्छ विधायिकाहरु विधेयकप्रति समेत उत्तरदायी नुहने ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies