-भगवती न्यौपाने
दुई कम्युनिष्ट पार्टीको एकीकरण भएपछि विचार केन्द्रीत बहस हुन सकिरहेको छैन । अहिले वैचारिक वहस र छलफल शून्यप्राय देखिन्छ । वैचारिक बहस गर्ने थलो महाधिवेशन हो भन्दै महाधिवेशन नै पर्खिने मानसिकता पनि हुनसक्छ । पार्टीलाई विचारले निर्देशित गर्ने हो । पार्टीले विचारलाई निर्देशित गर्न सक्दैन । विचारमा प्रष्ट नभए पार्टीलाई नोक्सान हुन्छ । त्यसैले मार्गदर्शक सिद्धान्त, हाम्रो कार्यनीति र आगामी कार्यदिशाका बारेमा दस्तावेजविहीन भएर छोटो समय कै लागि नै किन नहोस वहसविहीन बस्न हुँदैन ।
पार्टी एकीकरणभन्दा पहिले पूर्व नेकपा एमालेको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद थियो । त्यसैगरी पूर्व माओवादी केन्द्रले माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मानेको थियो । कार्यकर्ता बीच प्रस्तुत हुँदा हामीले दुई कम्युनिष्ट पार्टी एकीकरणको महत्व बारे बताउँदै आएका छौं । पूर्व एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद र माओवादीले अंगिकार गरेको एक्काईसौं शताब्दीको जनवादलाई बहसमा ल्याएका छैनौं । माओवाद कि माओ विचारधारा भन्ने विषयमा पनि बहस हुन बाँकी नै छ ।
कम्युनिष्ट पार्टीको एकीकरण समयको माग थियो । नेपालको कम्युनिष्ट आन्दोलनको माग थियो र अपरिहार्यता पनि थियो । नेताहरुले बुद्धि पुर्याएर चालेको ऐतिहासिक कदमप्रति हाम्रो उच्च समान छ । कम्युनिष्ट आन्दोलनको इतिहासमा यो अभुतपूर्व उपलब्धी हो । तर, त्यो उपलब्धी अनुरुप जुन स्तरको वैचारिक वहस उठान हुनुपर्ने थियो त्यो चाहिँ भएको देखिँदैन । अब सांगठनिक एकीकरणका बाँकी काम टुंग्याएर वैचारिक बहस सुरु गर्नुपर्छ । दुई कम्युनिष्ट पार्टीले फरक–फरक धारबाट आन्दोलन अगाडि बढाउने सन्दर्भमा लामो श्रृंखला पार गरेका थिए । कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्वमा राज्य व्यवस्था परिवर्तन भएको छ । एकीकरण आकस्मिक रुपमा भएको थिएन । बहस छलफलका धेरै श्रृंखला पार गरेर नै एकीकरण सम्भव भएको थियो ।
एकीकरणमा पुग्दै गर्दा दुवै कम्युनिष्ट पार्टीले वैचारिक रुपमा धेरै टाढा नभएको कुरा स्वीकार गरेका थिए । अन्यथा पार्टी एकीकरण सम्भव नै थिएन । जब कम्युनिष्ट पार्टीभित्र वैचारिक बहस सुरु गर्न खोजिन्छ एकथरीले यसलाई आकाश नै खस्न लागेको र धर्ती नै भासिन खोजेजस्तो भनीठान्छन् । वैचारिक छलफल हुने बित्तिकै विवाद बढ्यो, अन्र्तविरोध बढ्यो, नेताहरूका बीचमा तिक्तता भयो भन्दै पार्टी नै फुट्ने हो कि भनेर आशंका गर्ने गरिन्छ ।
कम्युनिष्ट विरोधीहरुले मच्चाउने गरेको हल्लाखल्लामा पनि हामी बहकिन थाल्छौं । यस्तो मानसिकताले न हामी विचारमा खारिन सक्छौं न पार्टीलाई सही ढंगले अगाडि बढाउन सक्छौं । यद्यपि हामी विगतलाई सम्झिएर तर्सिएका पनि हुन सक्छौं तर इतिहासले थुप्रै पाठ सिकाएको छ । अब नेकपा फुट्नु भनेको नेपालको कम्युनिष्ट आन्दोलनलाई निकै ठूलो धक्का दिनु हो । त्यस्तै, समाजवादलाई दशकौं पर धकेल्नु पनि हो । निर्धक्क भएर, कुन नेताको मुखबाट के निस्केला त्यही आधारमा प्रस्तुत हुन्छु या मलाई फलानो नेता मन पर्छ भन्ने आधारमा वैचारिक बहसमा सहभागी हुनुको अर्थ छैन । गहिरो अध्ययन र विष्लेषण गरेर प्रस्तुत हुनुपर्छं ।
सिद्धान्त निर्माण गर्दा वर्तमानमा जे छ त्यसैलाई मात्रै हेरिएको हुँदैन र वर्तमानका लागि मात्रै भनेर सिद्धान्त बनेको पनि हुँदैन । त्यसो भन्ने हो भने त माक्र्सले मानव विकासका सन्दर्भमा गरेका व्याख्या र साम्यवादसम्मको परिकल्पना नै झुट हुनेछ । दार्शनिकहरुले सिद्धान्तकारहरुले सयौं वर्ष टाढासम्म देखेर सिद्धान्तको प्रतिपादन गर्ने गर्दछन् । मानव जगतलाई गहिरोसँग नियालेर हरेक चरण कसरी अगाडि बढ्छ भन्ने सन्दर्भमा माक्र्सले जे भने, त्यो भन्दा फरक ढंगले जगत हिंडेको छैन ।
माक्र्सवादको प्रयोग गर्ने सन्दर्भमा जडसूत्रवादी बन्ने होइन, सिर्जनशील प्रयोग गर्ने हो । जबज माक्र्सवादलाई चुनौती दिने सिद्धान्त नभएर नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सृजनशील प्रयोग गर्ने विचार हो । उक्त सिद्धान्तले नेपालको कम्युनिष्ट आन्दोलनलाई विश्व कम्युनिष्ट आन्दोलनबाट सिकेको पाठ र सच्चाईका आधारमा मार्गदर्शन गरेको छ । जबज जडसूत्र खोज्ने संकुचित सिद्धान्त होइन, समय क्रममा सिर्जनशील ढंगले प्रयोग गर्न सकिने मर्म बोकेको सिद्धान्त हो ।
जबजका अन्तरवस्तुमा छिरेर घोत्लिउँ । फराकिलो सोचका साथ बहस गरौं । सत्यलाई आत्मसात गर्न हिजोको पृष्ठभूमि हेरिरहन जरुरी हुन्न । पूर्व एमाले र पूर्व माओवादी हामी सबै आजका नेकपाका नेता–कार्यकर्ता हौं । त्यसैले विचारमा खुला बनौं । जबज र एक्काईसौं शताब्दीको जनवादका शब्द–शब्दका मर्म भित्र प्रवेश गरौं र बहसमा भाग लिउँ । महाधिवेशनबाटै विचारको निरुपण गर्ने हो भने महाधिवेशन यथाशीघ्र तोक्नुपर्छ ।
सत्ता सञ्चालनका क्रममा समृद्धिलाई छेक्न अगाडि आएर ठिंग उभिने दलाल पूँजीवादप्रति सरकार निर्मम बन्नैपर्छ । परिवर्तनका बाधकहरु, दलाल, नोकरशाही पूँजीपतिहरु पहिचान गरेर जब सरकारले दण्ड हान्न सुरु गर्छ त्यस्ता तत्वहरु संगठित भएर सरकार विरुद्ध जाइलाग्नेछन्, खास प्रजातिका मिडियाहरु सरकार विरुद्ध खनिने छन् । त्यस्तै, दलाल नोकरशाही पूँजीवादको नेतृत्व गर्ने नेपाली कांग्रेसले सरकारलाई अधिनायकवादको आरोप लगाउँदै नसा फुलाएर गाली दिने छ । सही काम गर्दा जतिसुकै विरोध भए पनि सरकार कठोर बन्नैपर्छ । पूँजीवादलाई निस्तेज पार्नुपर्छ । अन्यथा समृद्धि सम्भव छैन । यस विषयमा समेत पार्टी्भित्र बहस गर्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies