कञ्चनपुर : भीमदत्त नगरपालिका–८ तिलाचौरमा २८ करोड ५० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट सात करोड १२ लाख ऋण रुपैयाँ र १९ करोड ९५ लाख रुपैयाँ रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको छ ।
उपभोक्ताको लागत सहभागिताबाट एक करोड ४२ लाख रुपैयाँ रकम संकलन गरिएको समितिका अध्यक्ष करवीरसिंह ऐरले बताए । तीन वडाका एक हजार ७३० घरपरिवारमा निजी धारा वितरण लाइन निर्माण गरिनेछन् । खानेपानी आयोजना निर्माणकार्य पूरा भएपछि नगरपालिकाका वडा नं ८, ६ र उक्त घरधुरीका १० हजार बासिन्दा लाभान्वित हुने नगरप्रमुख सुरेन्द्र विष्टले बताए । अठार महीनाभित्र सम्पन्न हुने आयोजना निर्माणकार्य दुई साताभित्रै सञ्चालन गरिने उनले बताए ।
आयोजनाका लागि उपभोक्ताबाट पाँच प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । बीस वर्षे अवधिका लागि डिजाइन गरिएको सो आयोजनाबाट सन् २०३९ मा २१ हजार बासिन्दा खानेपानी सेवाबाट लाभावान्वित हुने अनुमान गरिएको छ ।
वडावडामा सौर्यबत्ती
शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडानकार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न ६३ लाख रुपैयाँ रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडाको माग र आवश्यकताका आधारमा बजेट बाँडफाँड गरी काम अगाडि बढाइएको नगरपालिकाको ऊर्जा समितिका संयोजक कमल गिरीले बताए ।
वडाध्यक्षहरुसँग लामो छलफल गरी सहमति गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि आवश्यकताका आधारमा बजेट बाँडफाँड गरिएको उनले जानकारी दिए । गत आवमा नगरपालिकाले गोबरग्यास प्लान्ट निर्माण र सौर्यबत्ती जडानकै लागि १२ लाख रुपैयाँ बजेट खर्च गरेको छ । ऊर्जा शाखाका कर्मचारी सुरेन्द्र भट्टका अनुसार सात लाख रुपैयाँ रकम खर्चेर ४७ बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान रकम दिइएको थियो । गोबरग्याँस प्लान्ट निर्माण गर्ने बासिन्दालाई प्रतिप्लान्ट १४ हजार ४०० रुपैयाँका दरले अनुदानको रकम दिइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies