इमरान खान/मध्यान्ह
रुपन्देही : मदरसा शिक्षालाई प्रभावकारी बनाउन अल–बर्कात एजुकेशनल वेलफेयर सोसाईटी नेपालले प्रदेश नं ५ को सामाजिक विकासमन्त्री सुदर्शन बराललाई दश बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । मदरसा शिक्षाको अवस्थाबारे बरालसँगको छलफलपछि ज्ञापनपत्र बुझाइएको सोसाईटीले जनाएको छ ।
नेपालमा लगभग ३ हजार मदरसा छन् त्यस मध्ये ९ सय ७ मात्र दर्ता भएको छ । अधिकांश मदरसाहरु जीर्ण भवन, उपयुक्त कक्षाकोठा र डेक्स–बेन्च साथै शिक्षक अपुग हुँदा समस्या भइरहेको छ ।
देश समृद्धि र विकासको लागि अरू शिक्षा जस्तै मदरसा शिक्षाले पनि धेरै सम्भावना बोकेको हुनाले मदरसा शिक्षा र मुस्लिम समुदायको चौतर्फी विकासको लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
वेलफेयर सोसाईटी नेपालले प्रदेश नम्बर ५ मा लगभग एक हजार मदरसा छन् त्यस मध्ये ४ सय १८ मात्र दर्ता भएको छ । प्रदेश सरकारले प्रदेशमा भएका सम्पुर्ण मदरसाहरूलाई यथासिग्र दर्ता गरी सूचीकरण गर्न आग्रह गरेको छ ।
यस्तै मदरसाहरुलाई गुठीमा दर्ता गर्न, मदरसा शिक्षा अध्ययन गरिसकेका र गरिरहेका विद्यार्थीहरूको समकक्षता महत्वपूर्ण आवश्यकता रहेको भन्दै सरकारले समकक्षताको व्यवस्था तत्काल गर्न र मदरसा शिक्षामा मजहबी मूल्य र मान्यतासहितको मूल प्रवाहीकरण गर्न ध्यानाकर्षण गराएको छ ।
यस्तै मदरसा शिक्षा पढेका मुस्लिम समुदायकका बालबालिकाहरूलाई डाक्टर, ईन्जिनियर, अधिवक्ता आदि बन्नसक्ने वातावरण सिर्जना गर्न समेत ध्यानाकर्षण गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मदरसा शिक्षालाई व्यवस्थित गर्न तत्काल अधिकार सम्पन्न (राष्ट्रिय शिक्षाको मान्यता) मदरसा बोर्ड गठन गरियोस् । प्रदेश र पालिकाहरूमा अधिकार सम्पन्न मदरसा बोर्ड गठन गरियोस् ।’
सोसाइटीले मदरसा शिक्षामा अधिकतम प्रतिशत बजेट विनियोजन गरी मदरसा विकासमा खर्च गर्न, भवन निर्माण, शैक्षिक साम्रगी व्यवस्थापन र मदरसामा पढाउने मौलवीहरूलाई सरकारी मान्यता (विशेष शिक्षक दरबन्दी) गर्न र मदरसा बिधालयको एउटा छुट्टै पहिचान र अस्तित्व कायम गर्नका लागि मदरसा शिक्षा सम्बन्धि विशेष एन, नियम, कानून, नीति, निर्देशिका बनाउन समेत ध्यानाकषर्ण गरेको छ ।
देशका विभिन्न मदरसा विद्यालयहरू समुदायिक विद्यालयमा रूपान्तरण भएको खतरा देखिएको छ । मदरसा विद्यालयको एउटा छुट्टै पहिचान र अस्तित्व कायमका लागि सरकारले मदरसा विद्यालयको संरक्षण र सम्बद्र्धनका लागि विशेष व्यवस्थाका साथ पहल कदमी गर्न ध्यानाकर्षण गराइएको छ । यसै बीच प्रदेश ५ सरकारले मदरसा सम्बन्धि कार्यनीति कार्यान्वयनमा ल्याएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies