काठमाडौं : गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए)कतारको चुनाव शुक्रबार हुँदैछ । शुक्रबार एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि चुनाव हुने छ । नयाँ नेतृत्वका लागि तेज कटुवाल र मोहम्मद मुक्तदा मुसलमानले उम्मेदवारी दर्ता गराएका छन् ।
कतार एनआरएनए एनसीसीमा ४ हजार ४ सय ६५ जना सदस्य रहेका छन् । चार जना आईसीसी सदस्यका लागि होम नाथ शर्मा, कृष्ण बहादुर हमाल, रमेश भट्, बुधबल गुरुङ, युवराज शर्मा, धन बहादुर बलायर र मोहम्मद शाकिर अलि गरी सात जना को उम्मेदवारी परेको छ । अन्य पदमा पनि उम्मेदवारहरु धेरै रहेका कारण प्रतिस्पर्धा कडा बनेको बताइन्छ ।
अन्य देशमा व्यवसायी गैरआवासीय नेपालीहरुको बाहुल्यता रहेको भएपनि कतारमा धेरैजसो सदस्य व्यवसायी भन्दापनि कामदारको हैसियतमा रहेका गैरआवासीय नेपालीहरु रहेका छन् । त्यसले अध्यक्षका उम्मेदवारहरुको प्रतिस्पर्धा रोमाञ्चक बन्न पुगेको बताइएको छ ।
अध्यक्षका उमेदवार वर्तमान कार्यसमितिका उपाध्यक्ष तेज कटुवाल कतारमा सामाजिक अभियन्ताका रुपमा चिनिएका व्यीक्त हुन् । लामो समयदेखि कतारको गैरआवासीय अभियानमा सक्रियताका साथ काम गरेका कटुवाल प्रतिस्पर्धी मोहम्मद मुक्तदाको तुलनामा धेरै अगाडी रहेको देखिएको छ ।
करिब डेढ दशकदेखि कतारमा रहेका कटुवाल सुनसरी जिल्लाका स्थायी बासिन्दा हुन भने मोहम्मद मुत्तदा कपिलवस्तु निवासी हुन् । कटुवालले कामदार र व्यवसायीहरुको साझा उम्मेदवारका रुपमा आफूलाई उभ्याएको भन्दै विगतमा गरेको काम भविश्यमा गर्नसक्ने कामको आधारमा आफु विजयी बन्ने दाबी गरेका छन् ।
एनआरएनए कतारको प्रथम उपाध्यक्ष रहँदा धेरै पटक कार्यबाहक अध्यक्षको पद सम्हालेको साथै अघिल्लो कार्यकालमा सदस्य हुँदा पटक–पटक कार्यवाहक महासचिवको पद समेत सम्हालेको अनुभव भएकाले पनि आफू नेतृत्वका लागि धेरै अनुभवी रहेकाले मतदाताले जिताउनेमा विश्वस्त रहेको उनी बताउँछन् ।
अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार रहेका मुत्तदा कतारमा व्यवसाय गरिरहेका व्यवसायी हुन् । अघिल्लो कार्यसमितिमा पराजित भएको भएपनि यसपटक अध्ययक्षमा विजयी बनेर नेतृत्व सम्हाल्न चाहेको उनले बताएका छन् । दुबै उम्मेदवारले आ–आफ्ना सबल पक्ष मतदाताबीच राखिरहेको भएपनि मुक्तदा भन्दा तेज एनआरएनए सदस्हरुसँग नजिकबाट साक्षात्कार गरिरहेको र नेपालीहरुको सामान्य समस्याहरुमा पनि निरन्तर सहभागी भई सहयोग गर्दै आएकाले उनले उनीहरुहरुको मत पाउने धेरैको विश्लेषण छ ।
तेजले संघ तथा सामाजिक कार्यक्रम, दिर्घकालिन योजना, अग्रज, अभियन्ता र आईसीसीसँगको सहकार्य, आर्थिक व्यवस्थापनलगायतका योजनालाई छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेर श्रमिकका हकहित, विभिन्न संघसंस्थाबाट नेपालको प्रवद्र्धन साथै नेपाली भाषा, संस्कृति र पर्यटनलाई प्राथमिकतामा जोड दिएका छन् ।
उनले सांस्कृतिक केन्द्र, नेपाली विद्यालय, नेपाली रेडियोको स्थापनार्थ समन्वयात्मक भूमिका, ‘एनआएनए साँस्कृतिक दूत’ अभियान, ‘श्रमिकको आम्दानी, नेपालमा लगानी’ अभियान साथै ‘श्रमिकको हित, एनआरएनएको जित’ नारामार्फत आफूलाई शसक्त उम्मेदवारका रुपमा उभ्याएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार मुक्तदाले पनि नेपालीहरुलाई रोजगारीको अवसर, श्रमिक कल्याणकारी कोष, नेपालमा उत्पादित कृषिजन्य बस्तुको कतारमा बजार विस्तार, नेपाली विद्यालयको स्थापना, नेपालको पर्यटन प्रवद्र्धन, कामदारहरुको स्वास्थ्य उपचारमा मद्धतलगायतका १२ बुँदे योजनाहरु सार्वजनिक गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies