काठमाडौं : संघीय संसदमा स्वीस बैंकमा नेपालीको पैसा भएको विषय उठान भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले स्वीस बैंकमा नेपालीहरुको रकम रहेको विषय सार्वजनिक भएको लामो समय भइसक्दा पनि सरकार के हेर्दैछ भनेर प्रश्न गरेका हुन् ?
बैंकठमा कांग्रेस सांसद अतहर कमल मुसलमानले विषय उठान गरेका थिए । सांसद मुसलमानले नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ भन्दै सरकारलाई जवाफ माग गरेका थिए । बैठकमा अर्का सांसद सांसद रामबहादुर विष्टले पनि सोहि विषयलाई प्राथमिकता दिए । उनले नेपालमा ठाउँ नभएर स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् भन्दै त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन भनेर प्रश्न गरेका थिए ।
बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित देशको सहयोग नपाएसम्म त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने बताए । ‘हामीलाई सूचना सेयर गर्नुपर्ने अन्य संस्थाबाट जबसम्म सहयोग पाउँदैनौंं तबसम्म अनुसन्धान सम्पन्न हुँदैन’ उनले भने ‘सूचना प्रणाली आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र सम्भव हुन्छ ।’
उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताए । ‘यस सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व सचिव अध्यक्षतामा राष्ट्र बैक, नेपाल प्रहरी, सम्पत्तिसम्बन्धी वित्तीय जानकारी इकाइ सम्मिलित समितिले काम गरिरहेको छ । यसको निरन्तर बैठक बसिरहेको छ’ उनले भने ‘यससम्बन्धी केही तथ्य सत्य बाहिर निकाल्न हामीलाई सम्भव हुनेछ ।’
अर्थमन्त्री खतिवडाले नेपाली नागरिकले गैरकानूनी तरिकाले विदेशमा लगानी गरेको भए त्यो सम्पत्ति जफत हुने बताएका छन् । उनले विदेशमा लगानी गर्न नेपालीलाई प्रतिबन्ध लगाएको र राष्ट्र बैंकलाई जानकारी नभए त्यो रकम जफत हुने बताए ।
प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले विदेशमा नेपाली नागरिकले गरेको लगानी र बैंकमा रहेको रकमको बारेमा जानकारी माग गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री खतिवडाले सरकारले नियमित रुपमा अनुसन्धान गरेको र पत्रिकामा आएको आधारमा नै लगानी गरेको भन्न नमिल्ने भन्दै सरकारले नियमित रुपमा अनुसन्धान गरेको बताए ।
उनले पूर्व राजपरिवारको विदेशम भएको सम्पत्ति विदेशमा खोज्ने काम नेपाल ट्रष्टको कार्यालय गरेको र केही पत्ता समेत लगाएको जानकारी दिए । उनले विदेशमा लगानी गर्ने नेपालीको आधिकारिक सूचना पाउन कठिन भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies