-नरदेव पाण्डेय
माओवादी आन्दोलनका एक अगुवा नेता, प्रचण्डका समेत गुरु मानिएका मोहन वैद्यले नेकपा विप्लव समूहका बारेमा भने–विप्लवका गतिविधि अस्पष्ट छन् । यो जनक्रान्ति हो कि जनसंघर्ष हो छुट्याउन सकिने अवस्था छैन ।
सरकारले फागुन ३० गते प्रतिवन्ध घोषणा गरेदेखि अहिलेसम्म एक प्रहरीसहित ९ जनाको ज्यान गइसकेको छ भने ६ सय जनाभन्दा बढी पक्राउ परेको जानकारी गृहमन्त्रीले संसदमा दिएका छन् । यो क्रमलाई कहा“सम्म पुर्याउने र कतिसम्म लम्याउने हो यसमा दुवैतर्फको चासो र चिन्ता हुनुपर्छ । विप्लवको उग्रविचार र आवेगको शैली आत्मघाति पनि हुनसक्छ । वार्ता र सहमतिको अपरिहार्यतालाई अवमुल्यन गर्न मिल्दैन ।
कहाँ अल्मलियो बार्ताको प्रसंग?
सरकारले वार्ताको प्रयास गरिरहेको भनेर निरन्तर समाचार आइरहेका छन् । पटक पटक अनौपचारिक वार्ता भएको सरकारी पक्षबाट जानकारी गराइयो । तर त्यसको निश्चित प्रतिफल देखिएको छैन । बरु हालसालै बसेको विप्लव समुहको बैठकले सरकारले वार्ताको हल्ला चलाएर आफ्ना कार्यकर्तालाई दमन र गिरफ्तार गरिरहेकाले त्यसो नगर्न भनको छ । आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने अनि यस्तो प्रतिकारबाट निस्किने प्रतिफलको भागिदार स्वयम् सरकार नै हुने चेतावनी पनि बैठकले दिएको छ । उसले सरकाले एकातिर वार्ताको प्रचार गर्ने र अर्कातिर आफ्ना नेता कार्यकर्ता पक्राउ गरेर देशलाई युद्धमा धकेल्ने काम गरेको आरोप पनि लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले एकातिर वार्ताको प्रचार गर्ने, अर्कोतिर नेता कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुटा मुद्धा लगाएर जेल चलान गरेर वार्ताको वातावरण सहज नबनाएको विप्लव समुहको आरोप छ । विप्लव समुहको मनोविज्ञान हेर्दा अहिले उ वार्ताको पक्षमा छैन । महत्वकांक्षी स्वभावका विप्लब आन्दोलन बिसाउन सानोतिनो उपलब्धीले चित्त बुझाउने छैनन् । सरकार पनि अहिलेको अवस्थामा उसलाई ठूलै महत्व दिएर वार्तामा बोलाउने पक्षमा नभएको सञ्चार मन्त्री गोकुल बाँस्कोटाका भनाइले पनि प्रष्ट पार्छ ।
वार्ताको बहानामा विप्लव समुहले जालझेल गर्न खोजेको आशंका सरकारको देखिन्छ । विगतमा माओवादीले त्यही नीति लिएर आफ्नो शक्ति सञ्चय गर्ने गरेको थियो । वार्तालाई जालझेलकै रुपमा प्रयोग गरेको हो । अब विप्लवले त्यही नीति अवलम्बन गर्न लागेको हैन भनेर सरकारलाई कसले आश्वस्त पार्ने ?
वार्ता त गर्ने तर पहिला विप्लवलाई गलाउँदै लैजाने अर्थात् उसलाई कमजोर बनाउने सरकारको नीति देखिन्छ । कार्यकर्ता पक्राउको क्रम रोकिएको छैन । दिनदिनै विप्लवको क्षति भइरहेको छ । उसले आफ्नो शक्ति प्रदर्शन गर्न सकेको छैन । बेला बेलामा बन्द हड्ताल गरेर देखाउने शक्ति पनि कमजोर हु“दो छ । जनसमर्थन त टाढाको कुरा शहरी क्षेत्रमा त आक्रोस बढ्दो छ ।
अब बिप्लवको बाटो
बल प्रयोग वा शक्ति प्रदर्शनबाट अब राजनीतिक उपलब्धी हासिल हुन सक्दैन भनेर बुझ्नै पर्छ । डर, त्रास र आतंकको राजनीति धेरै लामो गन्तव्यमा पुग्न सक्दैन । भूमिगत भएर हैन आम नागरिकका बीचमा उभिएर बहस गरेर उनीहरुका साथमा रहेरे गरिने खालको राजनीतिमा विप्लवले विश्वास गर्नुपर्छ । जनताको सामिप्यताको दूरी जति बढदै जान्छ सरकारले पनि त्यस्तो राजनीतिलाई अवमुल्यन गर्दै जान्छ भन्ने यथार्थ विप्लवप्रति गरेको व्यवहारबाट प्रष्ट हुन्छ । जनमत नै अहिलेको सबैभन्दा ठूलो राजनीतिक हतियार हो । पार्टीको एजेण्डामा कति मान्छे सडकमा ओर्लन्छन् वा विभिन्न सञ्चार र सामाजिक सञ्जालहरुमा वैचारिक वकालत गर्छन् । त्यसले नै पार्टीको शक्ति तय हुन्छ, जसमा विप्लव चुकेका छन् । यो धरातलबाट हेर्दा त उनको उपस्थिति अत्यन्तै कमजोर छ । यही यथार्थले गर्दा दुई तिहाइको सरकार उनलाई भाउ दिने अवस्थामा छैन ।
विप्लव समुहलाई सरकारले राजनीतिक पार्टी भन्दा पनि देशको सुरक्षामा चुनौती दिइरहेको एक हिंस्रक समुहको रुपमा लिएको छ । गृहमन्त्री थापाको भनाइमा राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका लागि विप्लव समुह सुरक्षा चुनौती बनेको छ । उनीहरुका गतिविधिलाई नियन्त्रण गर्दै विगतमा भन्दा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।
यो अवस्थामा विप्लव समुहका दुइवटा बाटा छन्– एक, शान्तिपूर्ण राजनीतिमा आउने र जनमतलाई आफ्नो पक्षमा पार्ने ।
दुई, अहिलेकै राजनीति नीतिलाई अगाडि बढाइरहने । तर यो दोस्रो विकल्प त्यति सहज छैन । जनताले यसलाई पचाएका छैनन् । सरकारले पत्याएको छैन ।
विप्लव समुहले यो बाटोबाट कहा“सम्म पुग्न सकिन्छ भनेर सहि आंकलन नगरी आवेग अघि बढ्दा आत्मघाती हुन सक्छ । हरेक दिन कार्यकर्ताहरु समातिइरहेका छन् । सदरमुकाममा चल्मलाउन सकेका छैनन् । गाउँ र विकटमा जहाँ प्रहरीको सहज पहुँच छैन त्यस्तो ठाउँलाई राजनीतिक थाले बनाएर पुगिने कहा“ हो, विप्लवले बुझ्नु पर्छ । आगजनी र आतंकको राजनीतिलाई अहिलेको परिवेशमा फलिफाप हुने सम्भावना देखिएको छैन ।
विप्लव जस्तो उर्जावान् नेता नेपालको खुला राजनीतिमा नविक्ने हैन । नेपालको राजनीतिमा उर्जावान् नया“ सोचको मान्छे चाहिएको छ । अन्यौलको राजनीतिमा धेरै अल्मलिनु पर्दैन । यस्तो होस्, आगामी चुनाव अघि गृह मन्त्रीले भनुन्– विप्लव सुरक्षाका चुनौति हैनन्, हाम्रो राजनैतिक प्रतिस्पर्धाका चुनौति हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies