नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को प्रतिबन्धमा परेको साढे तीन वर्ष भइसकेको छ । यसबीचमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) निलम्बनको प्रयासहरु नभएका पनि होइनन् । तर अहिलेसम्म यसको गाँठो फुकिसकेको छैन् । विगतमा भएको निर्वाचनबाट पराजित भएकाहरु नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवसँग गुहार माग्न गएपछि क्यानको निर्वाचित कार्यसमिति विघटन गरि तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले तदर्थ समिति गठन गरेका थिए । त्यहिबाट नेपाली क्रिकेटको अधोगति शुरु भयो ।
आईसीसीको आफ्नो नियम र कानून छ । उसले कुनै पनि सरकारी हस्तक्षेप स्वीकार गर्दैन । अमेरिकाले पटक पटक आईसीसीको नियम उल्लंघन गरेपछि खेल्नै प्रतिबन्ध लगाएको छ भने हालै जिम्बाबेको सबै अनुदान रोकेर प्रतियोगितामा प्रतिबन्ध लगाएको छ । तर नेपालमा क्रिकेट प्रतिको क्रेजकै कारण क्यानलाई प्रतिबन्ध लगाए पनि प्रतियोगितामा खेल्न भने दिँदै आएको छ । क्यान प्रतिबन्धपछि नेपाली क्रिकेटमा आईसीसीको प्रत्यक्ष संलग्नतामा रहेको नेपाली टिमले अहिले एक दिवसीय वरियता प्राप्त गरेको पनि एक वर्ष पुरा भइसकेको छ । चार वर्षका लागि एकदिवसीय वरियता प्राप्त गरेको नेपाललाई उक्त वरियता जोगाउने चुनौती त छ नै सँगसँगै नेपाली क्रिकेटको नियामक निकाय नहुँदा धेरै अप्ठेरो भोगेको छ ।
आईसीसीले नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै गरेको निलम्बन फुकुवाका लागि शर्तहरु राखेको थियो । ती शर्त अनुसार जिल्ला र प्रदेशका निर्वाचन भइसकेका छन् । आईसीसीले स्वतन्त्र समिति मार्फत निर्वाचन गराएर नयाँ नेतृत्व चयनका लागि गरेको आग्रह अनुसार प्रक्रिया अघि बढेका बेला राखेपले फेरि निर्वाचनमा असहमति जनाएपछि फेरि एक पटक अन्योल देखिएको थियो । अन्योललाई चिर्दै राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले र आईसीसीको प्रतिनिधिबीचको वार्ताले नयाँ निर्वाचनको मिति तय गरेपछि क्यानको अन्योलता केही हदसम्म समाधान भएको छ । यसअघि स्वतन्त्र समितिले तोकेको असोज ३ र ४ को निर्वाचन किन र के का लागि सारिएको भन्ने जवाफ भने न त राखेपले दिएको छ न त स्वतन्त्र समितिले नै ।
त्यसैले अब समाधान हुन लागेको क्यानको बाटोमा अबरोध गर्नु भनेको नेपाली क्रिकेट र क्रिकेटका समर्थक माथि अन्याय गर्नु नै हुनेछ । तसर्थ अहिलेको अवस्थाबाट सबै एक कदम माथि उठेर नयाँ निर्वाचनका लागि तय भएको मिति असोज १० र ११ को भाका कुनै पनि हालतमा टार्नुहुँदैन । जुन आजको नेपाली क्रिकेटको ठूलो आवश्यकता पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies