अमेरिका प्रस्थान गर्ने सूचना जारी गर्दै बुधबार दिउँसो उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रतिनिधिसभा बैठक सम्बोधन गर्न पुगे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही दिन यता लगातार अवरुद्ध गर्दै आएको संसद बैठक सञ्चालन गर्न दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सार्वजनिक महत्वको प्रस्तावमाथि सम्बोधन गर्ने अवसर पाए । सामाजिक सञ्जाल मार्फत् अमेरिका जाने कार्यक्रम पूर्व निर्धारित भएको जानकारी सार्वजनिक गरिरहँदा स्वयम् मन्त्री यादवको संसद सम्बोधन प्रति आम जनता असन्तुष्ट देखिदैनथे ।
मन्त्री यादवले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनले चित्त नबुझाए तथ्यहरु सामाजिक सञ्जालमा छाइहाल्यो । अमेरिका जाने कार्यक्रमबारे जानकारी दिन मन्त्री यादवले जस्तो विधि अपनाए उनलाई सल्लाह पनि त्यही बिधि अनुसार आयो । संसदमा मन्त्री यादवको भनाइ थियो– डेंगी संक्रमण आपतकालीन अवस्थाको जस्तो होइन ।
मन्त्री भनाइको अर्थ हुन्छ, डेंगी सरकारको नियन्त्रणभित्रै छ । कुनै समस्या राज्यको नियन्त्रणभित्र छ भने त्यसलाई आपत मानिदैन । अझ मन्त्री यादवले त उदाहरण नै प्रस्तुत गरे । “हामीले लामखुट्टेबाट लाग्ने अन्य रोगहरुको पनि सजिलै व्यवस्थापन गरेका छौं”, मन्त्री यादवको भनाइ थियो । सँगै, मन्त्री यादवले निकै डरलाग्दो आँकडा पनि प्रस्तुत गरे । चितवनमा देखिएको सामान्य समस्या अहिले देशका ५४ जिल्लामा फैलिसकेको छ । संसारमै ३० गुणाका दरले बढिरहेको डेंगीबाट वर्षेनि २० हजारको मृत्यु हुने गरेको छ । नेपालको तथ्याङ्कमा पनि यो वर्ष ६ जनाको डेंगीबाट मृत्यु भइसकेको छ भने पाँच हजार ९५ जनामा डेंगीको संक्रमण देखिएको छ ।
नेपाल सरकारका तर्फबाट मन्त्री यावद स्वयम्ले प्रस्तुत गरेको तथ्यले पनि डेंगीले महामारीकै रुप लिइसकेको छ । तर, मन्त्री यादवले आपतकालीन समस्या नभएको तर्क गरे । लगत्तै, मन्त्री यादवले डेंगीबाट बच्न विभिन्न कार्यक्रमको घोषणा पनि संसद बैठकमै गरे । उनले तीन वटा नारा संसदमा पेश गरेका छन् । जस्तो– ‘सवैको साथ, डेंगीको नाश’, ‘हप्ताको एक दिन, एक घण्टाः हुँदैन कुनै कष्ट, सवैको सहभागितामा लामखुट्टे लार्भा नष्ट’ र ‘खोज र नष्ट गर’ ।
मधेशबाट उच्च पहाड चढिसकेको डेंगी प्रकोपबारे मन्त्री यादवको भनाइ आफैंमा विरोधाभास पूर्ण छ । एकातिर डरलाग्दो तस्वीर प्रस्तुत गर्ने र अर्कातर्फ केही होइन भन्दै अमेरिका उड्ने कार्यतालिकाले डेंगी पीडित स्वयम् अन्योलमा परे । प्रकोप नियन्त्रण आवेगमा नभई विवेकमा हुनुपर्नेमा दुई मत छैन । तर, यस्तो विषयमा मन्त्रीले प्रष्ट धारणा राख्न आवश्यक छ । भन्न जरुरी छ– यो सानो समस्या होइन, तर आत्तिने नभई सचेतता अपनाउनुपर्छ । सरकारले आवश्यक कदम चाल्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies