काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने दुवै प्यानलले उम्मेदवारी अन्तिम टुंगो लगाएका छन् । तर दुवै तर्फबाट औपचारिक रुपमा घोषणा गरिएको छैन ।
संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपाल र नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका दुई प्यानल चुनावी मैदान उत्रने भएका छन् ।
बिहीबार राती अबेरसम्म दुवै तर्फबाट उम्मेदरवारी टुंग्याउने काम सकिएको छ । मञ्चद्वयका तर्फबाट संघका महासचिव सरोज कुमार पोखरेल अध्यक्षका उम्मेदवार बन्ने भएका छन् भने लोकतान्त्रिक फोरमबाट फोरमका पूर्व अध्यक्ष विष्णु गैरे अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । तर गणतान्त्रिक मञ्चका पूर्व अध्यक्ष रहेका संघका प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनाले आफ्नो नेतृत्वमा छुट्टै प्यानलसहित चुनावमा उत्रिने तयारी गरेको भन्ने चर्चा चलेपछि मञ्चद्वयले बिहीबार साँझ लोकतान्त्रिक फोरमले जसरी स्पष्टताका साथ आफ्ना उम्मेदवारको नाम वाहिर ल्याउन सकेनन् ।
फोरमद्वारा संस्थापक अध्यक्ष तिलक बहादुर रानाभाटको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन मूल समितिले नेपाली कांग्रेसका नेताहरुसँग समेत छलफल गरी उम्मेदवारको टुंगो लगाएको हो ।
फोरमका तर्फबाट अध्यक्षमा गैरे, प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमल देव मल्ल, तृतीय उपाध्यक्षमा किशोर केसी, महासचिवमा फोरम कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ, कोषाध्यक्षमा ईन्दिरा गुरुङ र सदस्यहरुमा बाबु लालराना (नरेन्द्र), यम बहादुर क्षेष्ठ, कर्ण कटुवाल, जंग बहादुर ईजम, छविलाल भट्राई र तुल्सी बोहराको नाम तय भएको महासचिवका उम्मेदवार तथा फोरम कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठले मध्यान्हलाई जानकारी दिए ।
फोरमले सचिवको टुंगो लगाएको छैन । फोरम ईतर व्यवसायीहरुलाई पनि समेट्न भन्दै फोरमले सचिव पद खाली राखेको हो । फोरमबाट गैरे सहित भुवनसिंह गुरुङ, तामाङ, मल्ल र ज्ञानु गैरेले अध्यक्षको उम्मेदवारीमा आकांक्षा देखाएका थिए । तामाङ र मल्ल पदाधिकारीमा समेटिएका छन् । अन्तिमसम्म अध्यक्षका लागि अडान राखेका गुरुङले अपरान्हतिर लचकता देखाएपछि गैरेलाई अध्यक्षका लागि सहज भएको हो । तथापि ज्ञानप्रसाद गैरेले आफू स्वतन्त्र रुपमा अध्यक्षको चुनाव लड्ने मध्यान्हलाई बताएका छन् ।
महासचिवमा फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष ऋषि शर्माले पनि चाहना राखेका थिए । तर अन्तिममा निर्वाचन परिचालन मूल समितिले फोरम कार्यवाहक अध्यक्ष श्रेष्ठलाई महासचिवको उम्मेदवार बनाउनु उपयुक्त हुने धारणा राखेपछि कार्यवाहक अध्यक्ष श्रेष्ठ महासचिवको उम्मेदवार बनेका हुन् । शर्माले समितिको निर्णय समयसापेक्ष र बुद्धिमतापूर्ण हुन नसकेको टिप्पणी गरेका छन् । यता मञ्चद्वयका तर्फबाट मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका संघका पूर्व द्वितीय उपाध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री प्रथम उपाध्यक्षमा उठ्ने भएका छन् ।
द्वितीय उपाध्यक्षमा मुक्ति अधिकारी र तृतीय उपाध्यक्षमा परमेश्वर अधिकारीको नाम चर्चामा रहेपनि ‘फाइनल’ हुन नसकेको भन्दै मञ्चको नेतृत्व तहमा रहेका व्यवसायीहरु नै अलमलमा रहेका थिए । प्रगतिशील घटकले संघीय समाजवादी फोरम निकट व्यवसायीहरुसँग बुधबार र बिहीबार साँझ छलफल गरेको छ । एक पदाधिकारी संघीय समाजवादी फोरम निकट व्यवसायीलाई दिने रणनीति बनाइएको बताइएको छ ।
सो प्यानलको महासचिवमा रामचन्द्र (आरसी) गिरी, सचिवमा सञ्जु गुरुङ र कोषाध्यक्षमा तेजुमाया लिम्बु उम्मेदवार बन्ने लगभग तय भएको बताइएको छ । सो समूहका तर्फबाट गत आइतबार पाँच कार्यसमिति सदस्यका उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको थियो ।
सार्वजनिक भएका ५ सदस्यका उम्मेदवारहरु मध्ये प्यासिफिक ह्युमेनका सञ्चालक नरेश पुन उम्मेदवारीबाट बाहिरिएका छन् । पुनको ठाउँमा युवा व्यवसायी केदार प्रसाद अधिकारी (इम्पावर ह्युमेन)लाई उम्मेदवार बनाइने लगभग पक्का भएको बताइएको छ । उम्मेदवार छनोट प्रक्रिया लम्बिदै जाँदा मतदातामा व्यवसायी नेताहरु व्यवसायीका समस्या र एजेण्डामा भन्दा जुँगाको लडाईमा लागेको भन्दै आलोचनाको स्वरहरु पनि देखिन थालेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies