-ज्ञानमणि नेपाल
भारतबाट आयात तरकारी र फलफूलमा विषादी जाँच नगरी नेपाल आउने गरेको विषयले निकै चर्चामा छ । यो अहिलेको मात्र समस्या भने होइन । लामो समयदेखि यतातिर कसैको ध्यान गएको थिएन । तर असार लागेयता यो विषय किन यति चर्चाको विषय बन्यो भन्नेमा भने भन्सारमा विषादी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिनु नै मुख्य रहेको छ ।
यति बेला बजारमा आएका कुनै कृषि उत्पादन छैन होला, जसमा विषादी प्रयोग नगरिएको होस् । विगत २ दशकदेखि विशेष गरी तरकारीमा विषादीको प्रयोग बढेकै छ, सँगै अन्य खाद्यान्नहरुमा पनि विषादी हाल्ने क्रम रोकिएको छैन । यसले मानव स्वास्थ्यका लागि मात्र हानि गरेको छैन, ठूलो मात्रामा आर्थिक क्षति पनि गराएको छ । वातावरण प्रदूषणको मुख्य कारक तत्वको रुपमा त यो रहेकै छ । तैपनि पछिल्ला दिनहरुमा यसको प्रयोगमा न्यूनीकरण आउन सकेको छैन । न वैकल्पिक व्यवस्था नै हुन सकेको छ । जसका कारण आज किसानको खेतदेखि सर्वसाधारणको भान्सासम्म नै विषादीको प्रवेश भएको छ ।
परम्परागत कृषि प्रणालीले बढ्दो जनसंख्यालाई नपुग्ने भएकाले कृषकहरु कृषिमा नयाँ प्रविधि प्रयोग गर्न बाध्य छन् । नयाँ प्रविधिलाई नयाँ बीउबिजन र रासायनिक मलको प्रयोग पनि धेरै नै गर्नुपर्ने हुन्छ । हाइब्रिड जातका कृषि उत्पादनहरुले वातावरणको परिवर्तनलाई सहजै पचाउन सक्दैनन् । त्यसपछि विभिन्न प्रकारका किरा–फट्यांग्राको प्रकोपले बालीनालीनै सखाप हुनेसम्मको अवस्था आउने गरेको हामीले देखेरसुनेकै कुरा हो ।
यस्ता समस्या आएपछि कृषकहरुले विषादीको प्रयोग गर्ने गरेका छन् । हुन त प्राकृतिक तरिकाले पनि कीटाणुको न्यूनीकरण गर्न सकिन्छ तर किसानले छिट्टै उत्पादन लिन सकिने होडबाजीले गर्दा विषादी प्रयोग बढाउँदै लगेको पाइएको छ । एकातिर यस्तो अवस्था छ भने अर्का्तिर विषादी प्रयोगले वातावरणलाई नै दीर्घकालीन प्रभाव पनि पार्छ । मानिसलाई लाग्ने दीर्घरोगहरु क्यान्सर, मधुमेह, श्वासप्रश्वास, मृगौला फेललगायतको मुख्य कारण पनि विषादीको प्रयोग बढ्दो भएर नै हो । तर हामीले त्यतातिर खासै ध्यान पुर्याउन सकेका छैनौं । यसले गर्दा विषादी प्रयोग आज भीमकाय समस्याका रुपमा रहेको छ ।
हामीले प्रयोग गर्ने विषादी थोरै मात्र स्वदेशमा उत्पादन हुन्छ । बहुसंख्यक विषादी विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । प्राप्त एक तथ्यांकअनुसार नेपालमा विषादी भारत, चीन, जर्मनी, अमेरिका, बंगलादेशलगायतबाट आयात हुन्छ । यी देशहरुबाट आर्थिक वर्ष २०७०-०७१ मा १ अर्ब ७१ करोडको विषादी आयात गरिएको थियो । यस्तै ०७१-७२ मा २ अर्ब १ करोडको आयात गरिएकोमा वर्ष ०७२-७३ मा आयात बढेर २ अर्ब १४ करोड रुपैयाँको विषादी नेपाल आएको छ ।
आर्थिक वर्ष ०७३-७४ मा २ अर्ब ६१ करोड र गतवर्ष २ अर्ब ५१ करोड रुपैयाँको विषादी आयात भएको थियो । चालू आर्थिक वर्षको हालसम्म यसको आयात र प्रयोग अस्वाभाविकरूपमा बढेको छ । तथ्यांकअनुसार यस अवधिमा २ अर्ब १५ करोड ९८ लाख रुपैयाँको ४२ लाख ३४ हजार ५ सय किलो विषादी आयात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा ८९ करोड ४६ लाख रुपैयाँको ३० लाख २९ हजार ८ सय किलो मात्र आयात भएको तथ्यांक बताउँछ । यसरी हेर्दा ५ वर्षको अवधिमा १२ अर्बभन्दा धेरैको विषादी आयात भएको देखिन्छ । विषादीले मानवस्वास्थ्यको लागि हानी गर्ने थाहा भए पनि यसको आयात र प्रयोगमा कमी आउन सकेको छैन ।
सरकारले पटक–पटक अर्गानिक खेतीमा जोड दिने र किसानहरुमा बढिरहेको विषादी–मोहलाई निरुत्साहित गर्ने नीति अघि सारेको निकै वर्ष भइसक्यो तर त्यसलाई कार्यान्वयन गर्न भने फलामको चिउरा चपाउनु जत्तिकै भएको छ । न यसको आयात घटेको छ, न किसानहरुले प्रयोग नै घटाएका छन् ।
धेरैजसो विषादी खेतबारीमा कीटाणु मार्न प्रयोग गरिन्छ । अन्नबालीमा हालिएको विष बिस्तारै सर्वसाधारणको भान्सासम्म जान्छ । विषादी प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा हामीले जानेर वा नजानेरै यसको सेवन गरिरहेका छौं । सरकारले सन् २००१ मा क्लोरोडेन, डीडीटी, डाइएल्ड्रिन, इन्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउन्डलगायतका विषादी नेपालमा प्रतिबन्धित गरेको थियो ।
विज्ञहरुका अनुसार तरकारीमा प्रयोग हुने एक प्रतिशत विषादीले किरा मार्छ । बाँकी ९९ प्रतिशत मान्छेको शरीरदेखि वातावरणमा घुलमिल हुन्छ । विषादी जसले छर्छ उसलाई अरुभन्दा चार गुना बढी असर गर्छ । दीर्घरोगका बिरामी बढाउँछ । गहिरो अध्ययन त अझै भएको छैन तर त्यसको कारण विषादीसँगै जोडिने गरेको उपचारका क्रममा डाक्टरहरुले बताउने गरेका छन् ।
विषादी आफैंमा समस्या होइन । समस्या त यसको व्यवस्थापन र प्रयोग गर्न नजानेरै भएको हो । अहिले पनि विषादी प्रयोग गर्दा सावधानी अपनाउने गरिएको पाइँदैन । सामान्य मास्क, पञ्जा पनि नलगाई यसको प्रयोग गर्ने किसानको संख्या धेरै छ । जसले गर्दा आँखाको रोग, छालाको रोग, फोक्सोको रोग, क्यान्सरलगायतका समस्या उनीहरुमा देखिएको छ । एकातिर यस्तो छ भने अर्का्तिर कुन विषादी केमा प्रयोग गर्ने भन्ने पनि ज्ञान नभएका कारण किसानहरुले यसको प्रयोग जथाभावी गर्ने गरेका छन् । सरकारले पहिले त किसानलाई सचेत गराउन जरुरी छ ।
यसका साथै बर्सेनी अर्बौं रुपैयाँ विषादी खरिदका लागि खर्च गरेको छ । यसलाई रोक्दै प्राकृतिकरुपमा कसरी कीटाणु नियन्त्रण गर्न सकिन्छ भनेर किसानलाई ज्ञान दिलाउन सके यसको प्रयोग पक्कै पनि घट्छ । किसान सचेत पनि हुन्छन् । किसानलाई पनि यसरी विषादी प्रयोग गर्न र यसका लागि थुप्रै पैसा खर्च गर्न पक्कै पनि रहर त छैन होला । अर्कातिर स्वयं किसानले पनि यसतर्फ सचेत बन्न जरुरी छ ।
कृषि उत्पादनमा अस्वस्थ प्रतिस्पर्धा गरेर विषादी प्रयोग गर्नाले कालान्तरमा आफैंलाई हानी पुग्ने रहेछ भनेर बुझ्न जरुरी छ । सरकारले पनि बाहिरबाट आउने तरकारी, फलफूल तथा अन्य खाद्यान्नमा विषादी परीक्षण गरी नेपाल भित्र्याउन जरुरी छ । साथै सरकारले आफ्नो निर्णयलाई यसरी अलोकप्रिय बनाउनु हुँदैन । यसो गर्न सकियो भने विषादीबाट हुने हानि पक्कै रोक्न सकिन्छ । वातावरण प्रदूषण हुने खतरा पनि कम हुन्छ । यसकै लागि बर्से्नि बाहिरिने अर्बौं रुपैयाँ पनि बचत हुन्छ । सबैको साथ र सहयोग भयो भने असम्भव पनि केही छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies