काठमाडौं : ठूलो संख्यामा नेपालीसहित अन्य देशका आप्रवासी कामदारले काम गरिरहेको मलेसियाको ग्लोब्स उत्पादन कम्पनीमा कार्यरत कामदारको समस्या देखाउँदै अमेरिकाले लगाएको आयात प्रतिबन्ध फुकाउन मलेसियाले कुटनीतिक प्रयास जारी राखेको छ ।
विदेशी श्रमिकलाई लामो समयदेखि तलव र सुविधा नदिई काममा लगाएको आरोप लगाउँदै अमेरिकाले मलेसियाको डव्लुआरपी कम्पनीद्वारा उत्पादित ग्लोब्स आयातमा प्रतिबन्ध लगाएपछि केही दिनयता विश्वकै ठूलो ग्लोब्स उत्पादक देश मलेसिया आप्रवासी कामदारको श्रम समस्या समाधान गर्ने दवावमा परेको छ । त्यहाँका मानव संसाधन मन्त्री एम कुलासेगारनले मलेसियास्थित अमेरिकी दूतावासका प्रतिनिधिहरुसँग यस विषयमा छलफल गर्ने बताएका छन् ।
मलेसियाको डव्लुआरपी कम्पनीमा कार्यरत नेपालीसहित बंगलादेश लगायतका आप्रवासी कामदारहरुले तीन महिनादेखि तलव नपाएको भन्दै केही समयअघि आन्दोलनमा उत्रिएका थिए । त्यसरी आन्दोलनमा उत्रिनेहरुमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको थियो ।
किस्ताबन्दीमा तलव दिने शर्तमा कामदारहरु काममा फर्किएका थिए । तर अमेरिकाले अहिलेपनि सोही विषयलाई आयात प्रतिबन्धको ईस्यु बनाएको मानवसंशाधन मन्त्री सेगरनलाई उदृध गर्दै मलेसियाली सञ्चारमाध्यमहरुले बताएका छन् ।
मलेसियाका मानव संशाधन मन्त्री कुलासेगारनले मलेशियाको विश्व प्रसिद्ध रवर उद्योगलाई तहसनहस बनाउन काल्पनीक विषयलाई प्रचारवाजी गरिएको भन्दै सो प्रकरणको अनुसन्धान गरेर गत फेब्रुअरीमा नै अदालतमा मुद्दा दायर गरिसकेकोले अहिले प्रश्न उठाउनु आवश्यक नभएको बताएका छन् ।
बेलायती सञ्चारमाध्यम गार्जियनले यसै वर्षको शुरुमा मलेसियाको उक्त ग्लोब्स उत्पादक कम्पनीले कामदारको श्रम शोषण गरेको समाचार बाहिर ल्याएको थियो । अमेरिकाले आफ्नो मुलुकको एउटा कम्पनीद्वारा उत्पादित ग्लोब्सको आयातमा प्रतिबन्ध लगाएपछि मन्त्री सेगारनले शुक्रबार उद्योगको निरीक्षण गरी मन्त्रिपरिषद्मा कामदारले पाउने सुविधा पाए नपाएको विषयमा छलफल गर्ने जानकारी दिएका छन् ।
उनले आप्रवासी कामदारको अधिकारका विषयमा उद्योग सहित जनसाधारणलाई प्रशिक्षित गर्न मन्त्रालय प्रतिवद्ध रहेको भन्दै रोजगारदाताले मलेसियाको श्रम कानूनसहित आप्रवासी कामदारको तस्करी तथा वेचविखन विरुद्धको कानून २००७ कडाईका साथ पालना गर्नुपर्नेमा जोड दिएको मलेसियाका सञ्चारमाध्यमहरुलाई बताएका छन् ।
त्यसैगरी उनले सन् २०१९ को जनवरी महिनादेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा संगठन (सोस्को) अन्तर्गत आप्रवासी कामदारको अधिकारलाई थप सशक्त बनाउने पनि बताएका छन् । मलेसियामा करिब १५ महिनादेखि बन्द रहेको कामदार पठाउने प्रक्रियामामाथिको गतिरोध गत महिना अन्त्य भएपछि नेपालबाट कामदार जाने प्रक्रिया केही दिन अघिबाट मात्र शुरु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies