उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति २३ वर्षपछि नेपाल भ्रमणमा आएका छन् । सीमा जोडिएको मुलुक चीनका राष्ट्रपतिले सन् १९९६ पछि नेपालको भ्रमण गरेका थिएनन् । तर, यस पटक चीनकै इतिहासमा समेत माओ र देङ जत्तिकै शक्तिशाली मानिने सी जिनपिङ नेपाल भ्रमणमा आएका छन् । सीलाई स्वागत गर्न नेपाल सरकारले पनि कुनै कसर बाँकी राखेको छैन । आइतबार सार्वजनिक विदा नै दिइएको छ । सुरक्षाकर्मी उपत्यका बाहिरबाट समेत झिकाइएको छ । सीका लागि चार तहको सुरक्षा घेरा तयार पारिएको छ । राजधानी उपत्यका शहर बेहुली झैं सिंगारिएको छ । तीनकुनेको खाली मैदान छोपिएको छ भने मुख्य सडकका दुवै किनारामा नयाँ विरुवा रोप्ने, भएकालाई गोडमेल गर्ने लगायत काम गरिएको छ ।
उपत्यका शहरमा १५ हजार बढी सुरक्षाकर्मी परिचालित छन् भने सार्वजनिक विदा घोषणा गरेर सरकारी कर्मचारीलाई सीको स्वागत गर्न सडकमा उतारिएको छ । राष्ट्रिय खेलाडीहरूलाई पोशाक सहित सडक स्वागतमा उतारिएको छ । भत्किएका र पुराना सडक नयाँ बनाइएको छ । ट्राफिक लाइन प्रष्ट देखिनेगरी मर्मत गरिएको छ । यी सवै हिसाबले सीको भ्रमणलाई नेपाल सरकारले उच्च महत्व दिएको बुझ्न सकिन्छ । संसारकै महाशक्ति चीनका शक्तिशाली राष्ट्रपति सी नेपालको छिमेकी पाहुना समेत हुन् । पाहुनालाई भगवानकै रुप मानेर सत्कार गर्ने नेपाली संस्कृति पनि हो । अझ छिमेकी मुलुकका राष्ट्र प्रमुखको राजकीय नेपाल भ्रमणका सन्दर्भमा यी सवै स्वभाविक हुन् ।
सीको यस पटकको भ्रमणले लगातार नेपाल तर्फबाट मात्रै हुँदै आएको एकतर्फी उच्च स्तरीय भ्रमणको क्रमलाई समेत भत्काएको छ । चीनबाट समेत उच्च स्तरीय भ्रमण गरी द्विपक्षीय हितका बारेमा छलफल हुने अवसर मिलेको छ । यो भ्रमणले नेपाल र चीन बीचको सदियौं पुरानो सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
मित्र मुलुक बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने बाहेक यस पटकको सीको भ्रमणलाई नेपालको उत्तरी नाका खोल्ने अवसरका रुपमा समेत लिइएको छ । यो भ्रमणले चिनियाँ नाका खोल्ने आधार तयार पारिदियो भने भारत तर्फको एकतर्फी परनिर्भरताको विकल्प समेत तय हुनेमा नेपाली वृत्त खुशी देखिन्छन् । त्यसैअनुसार, सीको भ्रमणलाई उच्च महत्व दिइएको पाइन्छ । शनिबारसम्मको तयारीले पनि सीको भ्रमणमा उत्तरतर्फको कनेक्टिभिटी खोल्ने आधार तय हुँदैछ । तसर्थ, सीको भ्रमण नेपालका लागि समेत ऐतिहासिक बन्ने देखिन्छ । तर, भुल्न नहुने तथ्य भनेको यो ऐतिहासिकता प्रति उठेका प्रश्नहरु पनि जायज हुन् । किनभने, कमजोर छिमेकले बलियासँग धेरै आश गर्न्तिर लाग्नु राम्रो होइन । यसकारण की भोलि तिनै सहयोग गलपासो बन्न सक्छ । अझ आर्थिक सहयोग र लगानीका सम्बन्ध सरकार चनाखो हुनुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies