काठमाडौं : वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा पेशा फरक परेको कारण पुनः श्रम स्वीकृति दिन समस्या भएको भन्दै एकरुपता ल्याउन शुरु गरेको पहलप्रति वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले तीव्र प्रतिक्रिया जनाएका छन् ।
विभागले मंगलबार खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई पत्र पठाउँदै नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभाग अन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन कठिनाइ भएको उल्लेख गर्दै पेशाको प्रमाण पत्र लिएर नेपाल आउने व्यवस्थाका लागि प्रवन्ध गर्न आग्रह गरेको थियो ।
विभागको उक्त आग्रह प्रति प्रतिक्रिया जनाउँदै विगत लामो समयदेखि विदेशमा कार्यरत कामदारहरुले विभागले अगाडी बढाएको सोच तत्काल कडाईका साथ कार्यान्वयनमा नल्याउन माग गरेका छन् । विभागले तत्कालैदेखि विदेशमा गरेको कामको आधिकारीक प्रमाणपत्र खोज्ने शैलीले धेरै नेपालीले विदेशमा पाएको आकर्षक रोजगारीबाट हात धुनुपर्ने उनीहरुको टिप्पणी छ ।
हाल कतारमा रहेका सन्तोष क्षेत्री लेख्छन्, ‘नियत सही भएपनि व्यवहारिक रुपमा तत्काल लागू गर्न सहज छैन । यसबारेमा नेपाली नियोग पनि पक्कै अनबिज्ञ छैन होला । यसलाई व्यवहारिकता हेरेर सहजीकरण गर्नुपर्छ । कुनै पनि निर्णय गर्नुपूर्व सम्बन्धित पक्षसँग न्यूनतम छलफल जरुरी हुन्छ । तर नेपालमा भिसा सेन्टर खोलेपछि त्यसमार्फत आउनुहुनेको लागि भने अनिवार्य गर्न सकिन्छ होला । यदि सरकार यसलाई जबर्ज्स्ति लागू गर्न चाहने हो भने हजारौं युवाले रोजगारी गुमाउने निश्चित छ ।’
विभागले विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा, नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लैख्दै उक्त आग्रह गरेको थियो ।
विभागको आग्रहपछि कतारस्थित नेपाली दूतावाससहितले बुधबार विज्ञप्ति मार्फत नेपाल जानु अघि आफ्नो कम्पनीबाट आफुले गरिरहेको कामको प्रमाणपत्र लिन नेपालीहरुलाई आग्रह गरेको छ ।
विभागले कतिपय कामदारहरु अन्य पेशामा काम गर्न जाने तर भिसा भने ड्राइभर र अपरेटरजस्ता सीप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख हुने गरेबाट सीप प्रमाणित हुने कागजात पेश नभएसम्म पुनः श्रम स्वीकृति दिन प्राय असम्भव हुने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies