काठमाडौं : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरिव तथा विपन्न जनताका पक्षमा काम गर्न थाल्दा जिम्मेवारी मुक्त गरिएको भन्दै आफु थप धारिलो भएर अगाडि बढ्ने बताएका छन् । करिब २० महिना श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको नेतृत्व सम्हालेका तत्कालीन मन्त्री विष्टले मन्त्रालयबाट बिदा हुनुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा शुरु भएका प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशिकाजस्ता ५० भन्दा बढी कार्यक्रम अगाडि बढाएर सुधारका लागि जग बसाएको दाबी गरे ।
आफुलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएको र सुधारका काम गरिहरेको अवस्थामा अचानक हटाएको भएपनि निवर्तमान मन्त्री विष्टले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीप्रति आभार व्यक्त गरे ।
विदाई कार्यक्रममा उनले भने, ‘जति दिन श्रममन्त्रीको जिम्मेवारीमा काम गरेँ, खान नपाएका, रोजगारी नपाएका र पसिनाको मूल्य समेत नपाएका फाटेको चप्पल लगाउने श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ, कामको दौरानमा कर्मचारी साथीहरुमा तलमाथि परेको भए क्षमा पाउँ ।’
उनले थपे, ‘वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरुका पक्षमा काम गर्दा नेपालमा कामदारको पक्षमा बोल्दा के हुँदो रहेछ भन्ने नजिकबाट अनुभव गर्ने अवसर मिल्यो, यसले मलाई थप उर्जा र प्रेरणा मिलेको छ, सरकार बाहिर रहँदा पनि भविष्यका दिनमा निरन्तर श्रमजीवी जनताको पक्षमा काम गरिरहने छु ।’
मन्त्री विष्टमाथि उचित गृहकार्य र अध्ययन विना मलेसियाको रोजगारी बन्द गरेर करिब डेढ वर्ष समस्यामा पारेको आरोप वैदेशिक रोजगार व्यवसायी र पार्टी पंक्तिबाट लागेको थियो । तर बिदाईका क्रममा मन्त्री विष्टले आफ्नो अडानका कारण मलेसिया नेपालको भनाइ अनुसार नयाँ सम्झौता गर्न बाध्य भएको बताए । उनले सोही अनुरुप मोरक्को, जापान र यूएईसँग सम्झौता भएको दाबी गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies