नेपालको संसदीय अभ्यासमा ऐतिहासिक जनमत प्राप्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार बनाएको २१ महिना भयो । पाँच वर्षे जनादेश प्राप्त सरकारले २१ महिना पुग्दै गर्दा मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग लामै छलफल र गृहकार्य गरेर ८ मन्त्रीलाई बर्खास्त गरेका छन् भने ९ जनालाई विभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन् । बाहिरिने मन्त्रीहरुले नयाँलाई मन्त्रालय नै पुगेर स्वागत गरे । नवनियुक्त मन्त्रीहरुले पनि उत्ताराधिकारी बनेर पुरानाले लिएका नीतिलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।
एउटै पार्टीभित्रका नेताहरुबीच यस्तो सौहार्दता देखिनु अनौठो भएन । तर, पुरानाले कस्तो नीति लिएका थिए, जसका कारण असफलको पगरी सहित विदा दिइयो अनि किन त्यही नीतिलाई निरन्तरता दिने ? भन्ने प्रश्नमा आमजनमानसमा अलमल उत्पन्न हुन सक्छन् । सरकारले निर्धारण गरेको गति अनुसार, हिड्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले विदाई गरेका मन्त्रीहरुले के त्यस्तो अलोकप्रिय काम गरे भन्ने खुलाएका छैनन् । त्यसैले पनि मन्त्रिपरिषद् पुनर्गठनको औचित्यबारे प्रश्न उठेको हुनसक्छन् । फेरि विदाई भएका केही मन्त्रीहरु यस्ता पनि थिए । जसको कामैका कारण प्रशंसा कमाएका थिए ।
मन्त्रिपरिषद् पुनर्गठनको केही दिन अगाडि नै हट्न निश्चित भएको भन्दै मन्त्री निवासबाट आफ्ना सामग्री ओसार्न थालेका उद्योग मन्त्री मातृका यादवको कार्यकाल सायद धेरैले भुल्न सक्ने छैनन् । किनभने, नेपालमा राष्ट्रिय गौरवको आयोजना भन्नासाथ वर्षौ लम्बिने तर, कहिल्यै बेलामा काम नसकिने रोगलाई उनले अन्त्य गरेका थिए । चार वर्ष अगाडिको भारतीय नाकाबन्दी अब फेरि दोहोरिने छैन भन्ने सन्देश समेत पूर्व मन्त्री यादवकै कार्यकालमा दिइयो । किनभने, उनले अन्तरदेशीय पाइप लाइन निर्धारित समय भन्दा अगाडि नै सम्पन्न गरेका थिए र ट्यांकरबाट इन्धन ल्याउनुपर्ने बाध्यताको अन्त्य गरिदिएका थिए ।
यादवजस्तै अन्य केही मन्त्रीहरुले समेत राम्रै काम गरेका थिए । तर, उनीहरुकै कारण सरकारले लोकप्रियता हासिल गर्न नसकेको जस्तो सन्देश गएको छ । मन्त्रीले जतिसुकै राम्रो र नराम्रो काम गरे पनि संसदीय अभ्यासमा प्रधानमन्त्री नै सुप्रिम हुन् । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनमा बाहिरिने र भित्रिने मन्त्रीहरुको ठूलो टिप्पणी नहोला । आम जनताको आँखाबाट हेर्दा भने बाहिरिने भन्दा पनि भित्रिने मन्त्रीहरुलाई कार्यबोझ अझ थपिएको छ । किनभने, उनीहरुले नै किन पुनर्ग्ठित मन्त्रिपरिषद्को सदस्य बने भन्ने प्रमाणित गर्नुपर्नेछ । ती नव नियुक्त मन्त्रीहरुको सफलतासँग देश र समाजको सफलता समेत जोडिनेछ । त्यसैले बाहिरिएका मन्त्रीहरुलाई जस्तो प्रतिबद्धता जनाएका छन्, कार्यान्वयन अझ प्रभावकारी रहोस् । शुभ–कामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies