–राजेश अधिकारी
म माथि कुँदिएका किरिङ्गमिरिङ्ग हस्तरेखाहरू
न लम्बिन्छन् न घट्छन्
अटल र स्थिर चट्टान झैँ छन्
न पुर्न्लिखित हुन्छन् न मेटिन्छन्
पूर्व्निर्धा्रित र अकाट्य हुन्छन्
गर्भमैं भावीका कुचीले रङ्गयाइदिएका
यी भाग्यका अथक भरियाहरू
अविरल हिण्डिरहेछन् मेरो भाग्य बोकेर
डोर्याइरहेछन् मेरो जीवनलीलालाई
म भौँतारिरहेछु र पछ्याइरहेछु यी नागबेली पथहरुलाई
अनजान जङ्गलभित्र हराएको दुधमुखे शिशु झैँ
यी भाग्यका हस्तगोरेटाहरू आफैंमा बोकेर
दौडिरहेछु म जीवनोपर्यन्त
भाग्यका इशाराजन्य लिपिहीन दस्ताबेजहरू मुठ्ठीमा च्यापेर
बत्तीमुनिको अँध्यारो झैँ
आफ्नै मुठ्ठीभित्र भाग्यरेखाहरू अठ्ठयाएर
म भागिरहेछु भाग्य खोज्न
आफ्नो जीवनरेखा हत्केलामा कुँदाएर
कुदिरहेछु बाङ्गोटिङ्गो जीवनमार्गमा
आशाभित्रको अनिश्चिततामा
अन्तहीन लक्ष भेदन गर्न
आफ्नै जीवनलीलाका रहश्यमय डोबहरू पढ्न नसकेर
भौँतारिरहेको छु म ऐश्वर्यशाली भाग्य खोज्न
आफ्नैे हत्केलाको भाग्यरेखा बुझ्न नसकेर
सफलता–असफलता र भाग्य–दुर्भाग्यको ढाक्रो बोकेर
गुहारिरहेकोछु त्रिकालदर्शी महात्मालाई
रहश्य र दुबिधाको पन्तुरो फुकाउन
घिस्रिरहेछ मेरो लेखान्त त्यही भाग्यरेखाले सुसज्जित हत्केला टेकेर
अन्ततोगत्वा आशा र निराशाको नागबेली मोडहरुमा
मैले मेरो हस्तरेखाको भाग्य पढाएँ
पण्डितबाणीद्वारा राजकुलको भाग्य सुनें
म धर्तीमा टाँसिएको धुलोले जून छोएजस्तो महसूस भयो
म अन्धकार औँशीलाई पूर्णिमाको आड पाएजस्तो भयो
म फुर्किएँ, बुर्किएँ, कुर्लिएँ र सत्कर्म त्यागें
अन्तत म बिपनामा पछरिएँ र माटोमा बज्रिएँ
हे भाविलिखित भाग्य पढ्ने पण्डितहरू हो
पहिला तिमी आफ्नै हत्केलामा भाग्य खोज
हे हस्तरेखामा भाग्य देख्ने दिवा स्वप्नवादीहरू हो
तिमी मिथ्यालाई होइन कर्ममा भाग्य खोज
हे हस्तरेखा बोकेर भाग्यसगरमा बिना पङ्ख उड्न खोज्ने अन्धमनुवा हो
बुझ, हस्तरेखा एउटा कपोलकल्पित भाग्यचित्र मात्रै हो
भाग्य तिम्रै सत्कर्म र लगनशीलतामा छ
बरु तिमी आफैँ भाग्यरेखाको चित्र कोर
बिपनाको यथार्थताको धरातलमा उभिएर
परिश्रम र सत्कर्मको चित्रपटमा
भावी भावना हो,भाग्यरेखा दैवीमानचित्र
कर्म भाग्य हो,अन्धविश्वास मरुतृष्णा
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies