–रमेश सायन
एउटा पुरुष श्रीमतीको सिरानेबाट भाग्छ
कलिला सन्तानको कान्छि ओंलाको टुप्पाबाट भाग्छ
बृद्ध बा आमाको धमिलिदै गइरहेको ईन्द्रियहरुबाट भाग्छ
कहाँ कहाँबाट भाग्छ
कहाँ कहाँसम्म पुग्छ
भाग्दा भाग्दै तर्सन्छ
आफ्नै मुटुको धड्कनबाट
आफ्नै पैतलाको धुनबाट
बिहान बेलुका बडिरहने घटिरहने आफ्नै छायाँबाट
कहिलेकहीँ आफ्नो हलुका खल्तिबाट भागेर झुट बोल्छ
कहिलेकहीँ घुमाउरा गोरेटामा घुमेर
जिन्दगीको मुल सडकबाट भाग्छ
यसरी एउटा पुरुष भागिरहन्छ !
भागिरहन्छ ।
तर न भन्नु कायर रहेछ
न भन्नु हरामी रहेछ
न भन्नु निष्ठुर रहेछ
न भन्नु पापी रहेछ
ऊ भागेन भने प्रेमको दियो त बल्छ
तर जीवनको दियो ?
प्रेम गर्न पहिलो शर्त बाच्नु पर्छ
ऊ भागेर पनि बाँचिरहेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies