तीन तह गरी ५२ पदका लागि शनिबार सम्पन्न उपनिर्वाचनको परिणामले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई खूशी दिएको छ भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई धक्का लागेको छ । विशेषगरी भक्तपुर–१, (ख) को मतपरिणामले सत्तारुढ नेकपालाई चिन्तित तुल्याएको छ । नेकपाका उम्मेद्वार देवप्रसाद (डीपी) ढकाललाई काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेलले दुई हजार बढी मतान्तरले पराजित गरे । २०७४ को प्रदेशसभा निर्वाचनमा नेकपाका उम्मेद्वार हरिशरण लामिछाने झण्डै तीन हजार मतान्तरले विजयी भएको स्थानमा दुई वर्षपछि नतिजा उल्टिए पछि नेकपा पंक्ति चिन्तित बन्नु स्वभाविकै हो ।
कास्की–२, बाग्लुङ–२ (ख), दाङ–३, (क), धरानउपमहानगर पालिका लगायतको नतिजाबाट नेकपा त्यति उत्साहित देखिदैनन् । किनभने, यी क्षेत्रहरु पहिलेबाटै कम्युनिष्ट बाहुल्य क्षेत्र हो । पोखरा र दाङमा मृतकका श्रीमती नै उम्मेद्वार बनेकाले सहानुभूति मत समेत जोडिएको बुझ्न सकिन्छ । यी क्षेत्रहरुमा राजनीतिक सँगै भावनात्मक मतका कारण नेकपाकै पक्षमा नतिजा आउन सक्यो । तर, भक्तपुर यस्तो क्षेत्र हो, जुन क्षेत्रले बहुआयामिक राजनीतिक सन्देश दिन्छ । पहिलो हो– एकीकृत पार्टी नेकपा । २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन मात्रै थियो । तर, अहिले दुवै पार्टी एक भएर नेकपा बनेको छ ।
नेकपामा पनि तत्कालीन माओवादी केन्द्र तर्फका उम्मेद्वार डीपी ढकाल पराजित हुनुले एकीकरण प्रक्रियाले भावनात्मक आकार लिन नसकेको सन्देश गयो । दोस्रो, यो राजधानी शहर हो । राजधानी शहर भएको हुनाले केन्द्रीय राजनीतिक सन्देशका रुपमा समेत अथ्र्याउन सकिन्छ । र तेस्रो, सत्तारुढको पराजय हो । दुई तिहाइ मतसहित संघीय र प्रदेश सरकार चलाइरहेको नेकपाको उम्मेद्वार राजधानी शहरमै पराजित हुनुले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टिका रुपमा समेत अथ्र्याउन सकिन्छ । दूरदराजले सिंहदरबारको कार्यशैलीबारे खासै चासो नदेखाउन पनि सक्लान् तर, सिंहदरबार नजिकैको भक्तपुर सिंहदरबारसँग बेखबर रहन सक्दैनन् ।
यसर्थ, उपनिर्वाचनको ध्यान तानेको भक्तपुरको मतपरिणामले सरकारलाई सचेत गराएको छ भने प्रतिपक्षीलाई जिम्मेवार बन्न जनादेश दिएको छ । जनअनुमोदनको अर्थ जिम्मेवार बनाउनु नै हो । जनादेशअनुसार, नेकपा जिम्मेवार र जवाफदेही बन्न नसकेकैले प्रतिपक्षी उम्मेद्वार जनताले रोजेका छन् । त्यसैले, यस पटकको उपनिर्वाचनले सत्तारुढलाई सच्चिन र प्रतिपक्षीलाई थप जिम्मेवार बन्न गतिलो सन्देश दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies