शोक सवार एम्बुलेन्सले थप शोक सिर्जना गरेको दृष्य र खबरले मानवीय संवेदनाको कुन तह छोलान् ? सायद, कल्पना मात्रै गर्न सकिन्छ । आइतबार त्यस्तै दृष्य सञ्चारित भयो, सुनसरीबाट । शव बोकेर सडकमा कुदिरहेको एम्बुलेन्स सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा ट्रकसँग ठोक्कियो । त्यो दुर्घटनामा एम्बुलेन्समा यात्रारत ६ जनाको मृत्यु भयो । यो खबरले उदयपुर मात्रै स्तब्ध बनेन, सिंगो देशको ध्यान खिच्यो ।
तर, शनिबार सम्पन्न उपनिर्वाचनको मतपरिणामतिर राज्य संयन्त्रको ध्यान तानिएकाले यो हृदयविदारक घटना ओझेलमा परिदियो । मंगलबार बाग्लुङको बडिगाडमा अर्को त्यस्तै दुर्घटना भयो । घटनास्थलमै १४ जनाको इहलिला समाप्त भयो । परिवार नै शोकमा डुब्यो । कुलपुजाका लागि निसिखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप दुर्घटनामा परेकाले मृतकहरु पारिवारिक नै हुने भयो ।
मंसिर ११ गते हुम्लामा उस्तै प्रकृतिको दुर्घटना भयो । मस्त मदिरा पिएका चालकका कारण तीन जनाको मृत्यु भयो । सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा मदिरा पिएका चालकले चलाएको टिपर पल्टिदा तीन जनाको मृत्यु र १३ जना घाइते भए । सुनसरीको दुर्घटना बाक्लो हुस्सुका कारण, बाग्लुङ घटना तीव्र गति र हुम्ला दुर्घटना चालकले मदिरा पिएकाले भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले दुर्घटनाको प्रारम्भिक कारण बताएका यी तीन दुर्घटनाबाट २३ जनाको मृत्यु यही साता भएको छ ।
दुर्घटना टार्न सकिदैंन तर, न्यूनिकरण भने गर्न सकिने वैज्ञानिक मान्यता हो । तर, यी तीन वटै दुर्घटना न्यूनिकरण होइन, रोक्न सकिने प्रकृतिका छन् । विडम्बना ! भएर छाड्यो । अकालमा २३ जनाको ज्यान गयो । तर, सरकारले यसबारे उचित ध्यान दिएको भने देखिदैन । सरकारले आवश्यक ध्यान दिने थियो भने यसका लागि छानबिन समिति गठन, प्रतिवेदन तयार र प्रतिवेदनका आधारमा कार्बाही तथा आगामी नीति तर्जुमातिर लागेको खबर सुनिनुपर्ने हो । यस्तो खबर नसुनिनुको अर्थ सरकारले सडक दुर्घटनालाई नियमित घटना मान्न थालेको तथ्य स्थापित हुनु हो ।
त्यसो त नेपालमा कुनै घटनापछि बन्ने आयोग नै अलपत्र पर्ने गरेको छ । यस्तो अवस्था झनै राष्ट्रिय लज्जाको विषय हो । तर, अझै सरकारसँग समय छ । गम्भीर गल्तीबाट भएका यस्ता ठूला घटनालाई सरकारले गम्भीर रुपमै लिनुपर्नेछ । त्यसले मात्रै नागरिकमा राज्यको अनुभूति हुनेछ । सर्वसाधरणले समेत आफूलाई सुरक्षित महशुस गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies