२०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पाँच वर्षे स्थिर सरकारका लागि जनमत दिलाये । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा प्रदेश नम्बर दुईमा पनि पहिलो दल हो । तर, त्यहाँ समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को गठबन्धन सरकार भएकाले ठूलो दल भएर पनि नेकपा प्रतिपक्षमा छ । बाँकी ६ प्रदेशमा नेकपाको प्रष्ट दुई तिहाइ मतको सरकार छ । संघीय सरकारमा समेत दुई तिहाइ नजिकको मत नेकपालाई नै छ । समाजवादी पार्टी, नेपालले समर्थन गरेकाले केपी शर्मा ओलीले दुई तिहाइकै सरकार चलाइरहेका छन् ।
मुलुकमा सधैं गठबन्धन सरकार बन्दा राजनीतिक अस्थिरता उत्पन्न हुने र अस्थिरताकै कारण देश विकास हुन नसकेको गुनासो कम्तिमा वर्तमान सरकार बनेपछि अन्त्य भएको छ । विद्यमान संविधानकै प्रावधानका कारण समेत नेकपा नेतृत्वमा स्थिर सरकार बन्यो । यदि, संविधान थ्रेसहोल्डको प्रावधान नहुँदो हो त फेरि पनि अस्थिर सरकार बन्न सक्थ्यो । तर, थ्रेसहोल्डसँगै कम्युनिष्ट पार्टीहरुबीच एकीकरण र निर्वाचनमा गठबन्धनका कारण स्थिर सरकार बन्न ठूलो मद्दत पुग्यो ।
थ्रेसहोल्ड र स्थिर सरकारका कारण ठूला दलले देशको नेतृत्व गर्ने अवसर पाएका छन् । तर, यसबाट क्षति भने साना दलहरुलाई परेको छ । मंसिर १४ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा समेत साना दलहरुले ठूलै सपना देखेका थिए । २०७४ को निर्वाचनमा किनारा लागेका र राष्ट्रिय राजनीतिले नखोजेका साना दलहरुले यसपटक वैकल्पिक मत ल्याउने दावी गरेका थिए । तर, फेरि पनि उनीहरुलाई जनताले किनारातिरै धकेलिदिए । पहिलो मत सत्तारुढ नेकपालाई नै गयो भने नेकपाको विकल्पको मत साना दलमा नगइ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई मिल्यो ।
यसको प्रष्ट संकेत भने कम्तिमा अहिलेको राजनीतिक प्रवाहमा कुनै तलबितल नभए काँग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काँग्रेस नै देखियो । अव, प्रश्न उठ्छ ( वैकल्पिक शक्ति बन्छौं भन्नेहरुको भविष्य अँध्यारै हो त ? यसको जवाफ जनताले नै देलान् । किनभने, त्यसै पनि राजनीति सिधा बाटो हिड्दैन भनिन्छ । विचारणीय पक्ष अर्काे पनि छ । जसले आफूलाई वैकल्पिक शक्ति भनिरहेका छन् , उनीहरुको सिद्धान्त, सोंच र व्यवहार वैकल्पिक छ कि छैन भन्ने हो । जबसम्म जनताले यी प्रश्नको जवाफ पाउँदैनन्, तबसम्म यस्ता नारा र पार्टीहरुको रहर विल्कुल बेमौसम हल्लामा मात्रै सीमित हुने प्रष्ट हुन्छ । किनभने, माथि नै उल्लेख गरिसकियो कि राजनीतिक अस्थिरता अन्त्यको बाटोमा थोरै दलको विकल्प संविधानसभाबाट चयन भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies